२७ माघ २०८२ मंगलबार
image/svg+xml
अर्थ

नेपाल एयरलाइन्सले तीन जहाज खरिद गर्ने

फाइल तस्बिर।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ।

आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ। निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो। निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन्। ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ।

यसबाट दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ। तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेस गरिसकेकाले यसका लागि विशेष पहल गरी यथासक्य छिटो जहाज खरिद गरिने निगमले जनाएको छ।

उक्त प्रयोजनका निम्ति निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्य सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

निगमले नयाँ तीन वटा जहाज खरिद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलले बताए।

पर्यटन प्रवर्द्धन र सन्तुलित हवाई बजारका लागि पनि निगमको उपस्थिति प्रभावकारी हुने जनाइएको छ।

प्रकाशित: ४ वैशाख २०८० १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App