१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

बाक्लाे तुवाँलोले भिजिविलिटी घटाउँदा पोखराको हवाई उडान प्रभावित भएको छ। पोखराबाट देखिने हिमाल पनि केही दिन देखिन छाडेको छ। 

तुवाँलोले पोखरा आसपासका डाँडा पनि पुरै ढाकिएका छन्। भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।

विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार बिहीबारदेखी पोखराको हवाई उडानमा मौसमी अवरोध आउन थालेको थियो। पहिलो दिन विहीबार मौसमी खराबीले गर्दा दुई वटा उडान रद्द भएका थिए। शुक्रबार पोखराबाट कुनै पनि उडान हुन सकेनन्। शनिबार पनि उडानमा बाधा परेको गौतमले बताए।

‘शुक्रबार राती १० बजेसम्म पनि उडान गर्न सकिन्छ की भनेर प्रयास गरिएको हो। तर, सम्भव नै भएन,’ उनले भने, ‘पर्यटकीय गतिविधि हुने बेलामा आइपरेको मौसमी अवरोधले ठुलो आर्थिक क्षति भएको छ।’ यसले हवाई उडान, विमानस्थलदेखि पर्यटन क्षेत्रमा करोडौँ रुपैयाँले नोक्सान गरेको उनले बताए।

गौतमका अनुसार यो बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा ६० (दुई तर्फी) उडान हुने गरेका छन्। यो बेला सबै उडानमा करिब शतप्रतिशत यात्रु थिए। दुई दिनमा करिब ४२ सय यात्रुको उडान प्रभावित भएको उनले बताए। ‘शुक्रबारका सबै उडान रद्द भए। शनिबार पनि रद्द हुने अवस्था छ। मौसम झनै बिग्रँदो छ,’ उनले भने, ‘दुई दिन उडानमा अवरोध आउँदा र त्यसको पर्यटनमा असर हेर्दा कम्तीमा १० करोड रुपैयाँ नोक्सानी भएको छ।’ पोखराको अन्तर्राष्ट्रिय सँगै पुरानो विमानस्थलबाट पनि जोमसोम उडान हुने गरेको थियो। त्यसबाहेक अल्ट्रालाईट र हेलिकप्टरको उडान पनि प्रभावित भएको उनले बताए।

बिहान ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म सञ्चालित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार देखी उडान प्रभावित हुन थालेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तीमा ३८ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर पोखराको भिजिविलिटी २ हजार मिटर मात्र रहेको गौतमले बताए। ‘उडान गर्नका लागि भिजिबिलिटी पर्याप्त भएन। त्यसले गर्दा उडान प्रभावित भएको हो,’ उनले भने।

गौतमका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भएपनि ३८ सय मिटर भिजिविलिटी चाहिन्छ। यसअघि पोखराको पुरानो विमानस्थलबाट भिएफआर (आँखाले हेरेको भरमा गरिने उडान) मा आधारित रहेर उडान गर्दा पाँच हजार मिटर भिजिविलिटी चाहिन्थ्यो। 

प्रकाशित: २ वैशाख २०८० ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App