२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘अर्थतन्त्र लयमा फर्काउन सामूहिक प्रयत्न आवश्यक’

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सामूहिक प्रयत्न आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको मंगलवार उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन्। साधारणसभाको अवसरमा बोल्ने प्रधानमन्त्री पुष्पकमल दाहालदेखि निजीक्षेत्रका प्रतिनिधिसमेतले सबै मिलेर अर्थतन्त्रमा देखिएको जटिलता समाधान गर्ने उपाय खोज्नुपर्ने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालले अब सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउन खर्चिने बताएका छन्। अर्थतन्त्रका समस्याप्रति जानकार रहेको बताउँदै अर्थतन्त्रका सूचकहरूलाई कसरी समाधान गर्ने भन्नेमा जोड दिएको बताए।

दाहालले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन्। महासंघको साधारणसभामा उनले बैंक ब्याजदर कम गर्ने र राजस्व संकलनलाई बढाउने बारेमा सरकारका सबै निकाय सक्रिय रहेको बताए। ‘हामी बैंक ब्याजदर कम गर्ने र राजस्व संकलनलाई बढाउने बारेमा सरकारका सबै निकाय घनिभूत छलफलमा छौं,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए। ‘सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको छ,’ उनले भने।

यसैबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन्। महासंघको सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन्। समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्तिइहाल्नुपर्ने अवस्था नरहेको मन्त्री डा. महतले बताए। ‘अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने योजना बनाएका छौं,’ उनले भने, ‘समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित छ।’

अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर भएर लागिपरेको बताए। ‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ’ अर्थमन्त्री महतले भने ‘अल्पकालीन र दीर्घकालीन रूपमा समस्या समाधान गर्छौं।’

साधारण खर्चमा अनावश्यक खर्चलाई निर्ममतापूर्वक हटाउने उनले बताए। साधारण खर्चलाई हामी हदैसम्म कम गरेर समयमै खर्च गर्ने पद्धति अगाडि बढाएर राज्यको सेवा प्रवाह प्रभावकारी ढंगको बनाउनेछौं। सरकारभन्दा पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ। सरकारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छ, कानुनी अप्ठ्यारालाई हटाउने, प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने, वैदेशिक लगानी सहज बनाउने, प्रशासनिक झन्झट हटाउन सरकार तयार छ। विदेशमा रहेका नेपालीहरूको पुँजी, ज्ञान र दक्षताको उपयोग गर्ने, पुँजीगत खर्च अझ बढाएर लैजान सरकार क्रियाशील हुने उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजीक्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउने बताएका छन्। महासंघको साधारणसभामा गोल्छाले यस्तो धारणा राखेका हुन्। पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने दाबी गरे। ‘तत्कालका लागि व्यवसायमा कठिनाइ भए पनि व्यवसायीहरूले नै मुलुकमा सम्मुन्नति कोर्ने हो,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएको निराशा कम हुँदै जान्छ।’

अर्थतन्त्र सुधार गर्न सामूहिक प्रयत्न आवश्यक रहेको बताए। ‘अहिलेको आर्थिक गतिविधि डेढ वर्षअघिको अवस्थामा आधा घटेको छ,’ उनले भने, ‘उत्पादन लागत, औपचारिक रूपमा ९ महिनादेखि ८ प्रतिशतको दरमा रहेको मूल्यले खर्च गर्ने शक्ति कम भएको छ।’

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि बृहत् राष्ट्रिय विमर्श आवश्यक रहेको बताएका छन्। वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गरे। नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा बृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचन गर्ने रोडम्याप बनाउनुपर्ने बताए।

वरिष्ठ उपाध्यक्ष ढकाल यो साधारण सभाबाट स्वतः महासंघको अध्यक्ष बन्दैछन् । मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको उनले बताए। ‘आर्थिक गतिविधिहरू शिथिल छन्,’ उनले भने, ‘आपूर्ति प्रणाली खलबलिएको छ। उद्योगी/व्यवसायीहरू समस्यामा छौं। विकास खर्च अत्यन्त न्यून छ। राजस्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन।’ 

प्रकाशित: २९ चैत्र २०७९ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App