७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरा–मुग्लिन सडक बिस्तार सुस्त, आइतबार मन्त्री सहितको टिमले स्थलगत अनुगमन गर्ने

पूर्वी खण्ड २३ र पश्चिम खण्ड ७ प्रतिशत मात्र

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सम्मको सडक अहिले बिस्तार भईरहेको छ। सडक बिस्तार भईरहे पनि कामको गति भने निकै नै सुस्त भएको गुनासो व्याप्त छ। अझ पर्यटन व्यावसायीले त बिस्तारको क्रममा रहेको राजमार्गको यात्रा झन्झटिलो हुँदा पर्यटक आउजाउमै असर परेको गुनासो गरिरहेका छन्। सडक बिस्तारको गति कछुवाशैलीमा भईरहेको व्यावसायीले बताईरहेका छन।

बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको गुनासो सर्वत्र छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ।  निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हुन्छ।

पूर्वि खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। सम्झौताको दुईवर्ष बितिसकेपनि पूर्वि खण्डको काम २३ र पश्चिम खण्डको जम्मा ७ प्रतिशत मात्र काम सकिएको छ। सम्झौता अनुसार सन् २०२४ अप्रिलसम्म पूर्वीखण्ड र २०२४ अगष्टसम्म पश्चिमखण्ड सकिनुपर्ने हुन्छ। पूर्वीखण्डका लागि अब एकवर्ष मात्र बाँकी छ भने पश्चिम खण्डका लागि १६ महिना बाँकी छ। सम्झौता अनुसार तीनवर्षमा सकिनुपर्ने भएपनि झन्डै दुइवर्ष पुरा हुँदा पनि सडक बिस्तारको कामको गति सन्तोषजनक हुन नसकेको गुनासो छ।  

सडक बिस्तार शैली, गुनासोको सुनुवाई, कामलाई गति दिनका लागि आइपरेका अप्ठेरा, चूनौती, अरु निकायको असहयोग, जग्गाप्राप्ति बारेको झन्झट लगायतबारे अनुगमन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालस्थित चिनियाँ राजदूत, एशियाली विकास बैंक(एडीबी)का कन्ट्रि डाइरेक्टर, भौतिक मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक सहितको टोलीले आइतबार पोखरा–आँबुखैरेनी सडक अनुगमन गर्ने भएका छन्। पोखराको सेतीपुलदेखि मुग्लिनसम्म उनीहरुले स्थलगत रुपमा नै अनुगमन गर्ने पोखरा–मुग्लिन सडक आयोजनाले बताएको छ।

आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीका अनुसार मन्त्री सहितको यो टोलीले आइतबार पोखरा–मुग्लिन र सोमबार नारायणगढ–बुटवल खण्ड अनुगमन गर्ने तयारी भएको छ। ‘राजमार्ग बिस्तारमा भईरहेको प्रगति, ढिलासुस्तीका कारण, सहजीकरण गर्ने उपाय लगायतबारे जानकारी लिन मन्त्री सहितको टोली अनुगमनमा आउन थालेको हो,’ सुवेदीले भने, ‘पोखरा–मुग्लिन र नारायणगढ–बुटवल खण्ड बिस्तारमा भईरहेको ढिलाईबारे जानकारी लिन मन्त्री सहितको टिम आउन थालेको हो।’

 चिनियाँ निर्माण कम्पनिले दुवै राजमार्ग बिस्तार गरिरहेको छ। पोखरा–मुग्लिन सडकको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ।  

‘पोखरा–मुग्लिन खण्डको पूर्वीखण्डको काम सन्तोषजनक रुपमा भएको छ। तर, पश्चिम खण्डको काम भने सुस्तगतिमा छ,’ उनले भने, ‘राजमार्ग बिस्तारमा समस्या छन्। तिनै समस्याको गाठो फुकाउन यो अनुगमनले सहजीकरण गर्ने हाम्रो अपेक्षा छ।’ ठेकेदार कम्पनिको ढिलासुस्ती, जग्गा प्राप्तीमा समस्या, विद्युतका पोल स्थानान्तरण लगायतका समस्याले गर्दा कामले गति लिन नसकेको उनले बताए। ‘हामीसँग समय निकै नै कम छ। दुवै खण्डका लागि समय नथपि सुखै छैन,’ उनले भने।  

सुवेदीका अनुसार पूर्वि खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ । यो रकम सडक बिस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ । सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।  

‘तीनवर्षमा काम सक्नेगरि टेण्डर आव्हान भएको हो,’ उनले भने, ‘अब एकवर्षभित्र काम सक्ने गरि गति दिनुपर्छ। तोकिएको समयमा काम सक्नुपर्ने दवावमा हामी छौ।’ उनका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइरसम्म पनि यसैमा बनाइने सुवेदीले जानकारी दिए। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ।  

प्रकाशित: २५ चैत्र २०७९ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App