अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजश्व संकलनको अवस्था राम्रो नभएको बताएका छन्।
शुक्रबार आर्थिक पत्रकार संघ (नाफिज)को छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले आयात प्रतिवन्ध,कोरोना महामारी ,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजश्व संकलन लक्ष्य अनुसार संकलन राम्रो नभएको बताएका हुन्।
उनले प्रत्येक वर्ष सरकारले जिडिपी र अर्थतन्त्रका अन्य सूचक भन्दा राजश्वको लक्ष्य बढी राखेपनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताए। अर्थमन्त्री डा. महतले आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गरे।
उनले मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तिय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताए। उनले बैंकको कर्जाको ब्याजदर कम गर्नसक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताए। अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिन आवश्यक रहेको पनि उनको भनाइ छ। अर्थमन्त्री डा. महतले अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्याङ्कहरु राम्रो रहेको बताए। उनले मुलुकमा लगानीको वातावरणलाई सकारात्मक बनाउन मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिको लागि जान जरुरी रहेको बताए।
उनले भने,‘अहिले सरकारको राजश्वको अवस्था राम्रो छैन। प्रत्येक वर्ष सरकारले जिडिपी तथा अर्थतन्त्रका अन्य सूचक भन्दा राजश्वको लक्ष्य बढी राख्दै आएका छौं। नजिक नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौं। चालु आर्थिक वर्षमा त्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ। हेरक वर्ष बढी लक्ष्य राखेपनि करिव लक्ष्य प्राप्त गर्ने अवस्था सधै सहज हुँदैन। यो वर्ष आयात प्रतिवन्ध,कोरोना महामारीको अवस्था,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको छ। आन्तरिक रुपमा कष्ट अफ इन्भेष्टमेण्ट हाई भएको छ। बैंकको ब्याजदर बढी छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकिङ क्षेत्रलाई कन्ट्रोल गरेको छ। मूल्य वृद्धि नियन्त्रणमा फोकस भएको भन्नुभएको छ। हाम्रो अर्थतन्त्रको स्वरुप रहेको छ। विदेशबाट आयात गरिएका वस्तुको धेरै हिंसा छ । त्यसबाट मूल्य निर्धारण हुन्छ। त्यसैले मूल्य वृद्धि नियन्त्रणलाई नै मुख्य विषय वस्तु बनाउँदा मौद्रिक नीतिका उपकरण प्रयोग गरे पनि नहुन सक्छ। किनकी आयात बढी हुने भएकाले वाह्य मूल्यको प्रभाव हुँदैन। अहिलेको अवस्थालाई सरकारले कही मौद्रिक नीतिको उपकरण प्रयोग गरेर सहज बनाउन जरुरी छ। त्यसको लागि मन्त्रालयले राष्ट्र बैंकसँग पनि छलफल गरिरहेका छौं।’
प्रकाशित: २४ चैत्र २०७९ १२:१७ शुक्रबार