२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

थलिएको अर्थतन्त्र सुधार्न अर्थमन्त्री महतको सक्रियता

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गर्दै एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आर्नौ कोस्वा। तस्बिर: नागरिक

मुलुकको अर्थतन्त्र थलिएका बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सुधारका लागि सक्रिय पहल थालेका छन्। अर्थमन्त्रीमा पदबहाली भएकै दिन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल थालेका महतले सबै पक्षको विश्वास लिएर अघि बढ्ने सन्देश दिएका छन्।

गत शुक्रबार पदबहाली गरेका महतले यो बीचमा निजी क्षेत्रका छाता संस्था, सेयर लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स एसोसिएसन, राजस्व चुहावट नियन्त्रण समिति, नेपाल राष्ट्र बैंकका अधिकारी लगायत संस्था अधिकारीसँग परामर्श गरिसकेका छन्। बुधबार विदेशी दातृ निकाय र विकास साझेदारसँग पनि छलफल गरे।

अर्थतन्त्रमा समस्या देखिएका बेला सबैको विश्वास जितेर अघि बढ्न परामर्श लिएको अर्थमन्त्री महतले बताए। ‘समस्यामा रहेको अर्थतन्त्रलाई उकास्न सबैपक्षसँग संवाद गरिरहेको छु,’ मन्त्री महतले भने, ‘समस्याको पहिचान गरेर कार्ययोजना तय गरी कार्यान्वयनमा लैजान्छौं।’ अर्थतन्त्रलाई सुधार गर्दै रिजल्ट कसरी दिन सकिन्छ भनेर सबैसँग छलफल गरेको उनले बताए। ‘अर्थतन्त्रमा देखिएका समस्याको पहिचान भएको छ,’ उनले भने, ‘अब अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन रिजल्ट दिने गरी काम गर्छौं।’

उच्च व्याजदर, तरलता अभावको कारण निजी क्षेत्र चिन्तित छ। यो समस्या समाधानका लागि महतले राष्ट्र बैंक, निजी क्षेत्र, बैंकर्स एसोसिएसनसँग छलफल गरेर निकासका लागि पहल गरेका छन्। लक्ष्य अनुसार राजस्व संकलन नहुँदा चालु खर्च धान्नै धौधौ भएको छ। राजस्व चुहावट नियन्त्रण गर्न उनले राजस्व चुहावट नियन्त्रण समितिसँग छलफल गरी चुहावट नियन्त्रण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

मंगलबारसम्म सरकारले ६ खर्ब २२ अर्ब ७६ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। सरकारको खर्च ८ खर्ब ५५ अर्ब छ। यसरी सरकारी ढुकुटी घाटामा रहेको बेला अर्थमन्त्रीले सम्बन्धित निकायलाई राजस्व चुहावट नियन्त्रण र राजस्व बढाउन निर्देशन दिएका हुन्।

व्याजदर वृद्धि, तरलता अभावको समस्याले निजी क्षेत्र चिन्तित छ। महतले व्याजदर घटाउन र तरलता अभाव हटाउन राष्ट्र बैंकका अधिकारीसँग छलफल गरेका छन्। महतले गर्भनर अधिकारीलाई व्याजदर, पुँजीबजार, घरजग्गा कारोबार, लघुवित्त संस्था, सहकारीमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्।

उनले मौद्रिक नीति र बित्त नीतिको विषयमा छलफल गर्दै तत्काल पहल थाल्न आग्रह समेत गरे। सेयर बजार खस्किएको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलसँग पनि छलफल गरे। धितोपत्र बोर्डलाई ठोस योजना बनाएर रिजल्ट निकाल्न भनेका छन्। पुँजीगत खर्च निकै कमजोर रहेको अवस्थामा यसलाई बढाउनका लागि पनि महतले निर्देशन दिएका छन्। मंगलबारसम्मको पुँजीगत खर्च २५.७४ प्रतिशत भएको छ।

उत्पादन र उपभोग घट्दा बजार चक्र प्रभावित भएकाले व्यवसायीको मनोबल खस्किएको छ। अर्थतन्त्रका बाह्य सूचक सन्तोषजनक रहे पनि आन्तरिक पक्ष सकसमा परेका बेला आशा जगाएर अर्थतन्त्रका सूचकमा सुधार ल्याउन प्रसास भैरहेको उनको दाबी छ। राजस्व बढाउने, निजी क्षेत्रको विश्वास जितेर आशा जगाउने, वित्तीय संस्थाप्रति विश्वास बढाउने, पुँजीगत खर्च बढाउने, व्याजदर घटाउने, अन्तर्राष्ट्रिय दातृ निकायलाई विश्वासमा लिने, मुद्रास्फीति घटाउने, आर्थिक वृद्धिदर बढाउने लगायतका जिम्मेवारी महतको काँधमा छ। महतले आफूले सकरात्मक पहल गरिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय दातृ निकायको विश्वास जित्ने प्रयास पनि महतले गरेका छन्। महतले बुधबार एसियाली विकास बैंक (एडिबी)का कन्ट्री डाइरेक्टर र अमेरिकी राजदूतसँग भेट गरे।

मन्त्री महतले एडिबीका कन्ट्री डाइरेक्टर आर्नौ कोस्वासँगको भेटमा सहयोगका लागि आग्रह गरे। निर्देशक कोस्वाले दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेको बारे चिन्ता व्यक्त गरेका थिए। विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रक्रियाका कामहरू अगाडि बढ्न नसकेकोमा कोस्वाको चासो थियो। अर्थमन्त्री महतले खर्च गर्ने क्षमता वृद्धि गर्ने, अनुदान बढाउने र सफ्ट लोन लिनेबारे सरकार सचेत रहेको बताए।

महतले अमेरिकी राजदूत डेयन आर थमसनसँगको भेटमा अनुदान रकम थप गर्न आग्रह गरेका छन्। मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको अमेरिकी राजदूतले बताए। नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको मन्त्री महतले बताए।  

प्रकाशित: २३ चैत्र २०७९ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App