४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महासंघको चुनावमा तीन प्यानल

विकृत राजनीति गरेको भनेर राजनीतिक दलको घुमाउरो ढंगले आलोचना गर्दै आएका उद्योगी, व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघ गुटगत राजनीति भित्राएका छन्।

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उद्योगी, व्यवसायीका नेताहरू समूह बनाएर चुनावमा होमिने भएका छन्।महासंघको आसन्न निर्वाचनमा तीनवटा समूह निर्वाचनको प्रतिस्पर्धा गर्ने देखिएको छ।विगतका अधिकांश निर्वाचनमा दुईवटा समूह प्रतिस्पर्धामा उत्रिने गरेकोमा आसन्न निर्वाचनमा तीनवटा प्यानल बनाएका छन्।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ।साधारण सभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र प्र्रसाद ढकाल तीन वर्षका लागि स्वतः महासंघको अध्यक्ष हुँदै छन्।

चैत २९ गते हुने महासंघको ५७औं साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।तीनै आकांक्षीले प्यानलनै बनाएर निर्वाचनमा होमिने भएका छन्।महासंघको निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छ।रामचन्द्र र उमेशलालले प्यानल घोषणा गरेका छन् भने अन्जनले पनि प्यानल बनाएका छन्।वरिष्ठ उपाध्यक्षमा अन्जनको प्यानलबाट जिल्लानगर उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधान र एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे रहेका छन्।श्रेष्ठको समूहबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार बनाउने तयारी भइरहेको अवस्थामा ज्योत्सनाले अन्तिम समयमा आएर समूह परिवर्तन गरेकी छिन्।

अर्का वरिष्ठ उपाध्यक्षका आकांक्षी संघाईको प्यानलबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेकी छिन्।त्यसैगरी, वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन्।निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दाखिला चैत २१ (मंगलबार) साँझ ५ बजेसम्म रहेको छ।मतदान भने चैत २९ गते हुनेछ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले महŒवका साथ हेरिएको छ।महासंघको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ।त्यसैगरी, एसोसिएटबाट १९, जिल्लानगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहन्छन्।त्यसैगरी, प्रत्येक प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना केन्द्रीय सदस्य रहने महासंघले जनाएको छ।

महासंघको चुनावमा जिल्ला, नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, एसोसिएट सदस्य (द्विराष्ट्रिय समेत) को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार रहने व्यवस्था छ।वरिष्ठ उपाध्यक्षमा विजयी हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ।वरिष्ठ उपाध्यक्षका कुनै उम्मेदवारले पहिलो चरणको मतदानमा खसेको कुल मतको ५० प्रतिशत ल्याउन नसकेमा दोस्रो चरणमा निर्वाचन हुने व्यवस्था छ।दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याउने उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ।

प्रकाशित: २१ चैत्र २०७९ ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App