३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पाँच महिनादेखि धनगढीका स्वास्थ्यकर्मीले पाएनन् तलब

धनगढी उपमहानगरपालिका परिसरमा तलब माग्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरु। तस्बिर: पुष्पराज जोशी/नागरिक

धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले काम गरे बापत पाँच महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन्।

आफूले काम गरे बापतको स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाउँदा उनीहरू दैनिक कामकाज छाडेर उपमहानगरपालिका परिसरमा कालोपट्टि बाँधेर धर्नामा बसेका छन्।

कर्मचारी समायोजन ऐन २०७५ को दफा ७, समायोजन/संशोधन र समायोजन मिलान अनुसार आएका कर्मचारीहरुलाई काम गरे बापतको पाँच महिनादेखिको तलब भत्ता धनगढी उपमहानगरपालिकाले नदिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। 

उनले भने, ‘हामी नेपाल सरकारको कर्मचारी समायोजन ऐन २०७५ को दफा ७ अनुसार समायोजन भई आएका हौँ, न कि आफ्नै राजी खुसीले कसैको तोक अनुसार आएका हौँ।’ 

आफूहरूलाई कोरोनाको महामारीमा धनगढी उपमहानगरपालिकाले रातदिन खटाउँदा पनि बिरामीको उपचारमा संलग्न भएको स्मरण गर्दै स्वास्थ्यकर्मीहरुले संस्थालाई समस्या पर्दा रात दिन नभनेरै कोरोनाको महामारीमा खटिए पनि त्यसैको फलस्वरूप आज आफूहरूलाई नै तलबविहीन बनाइएको दुखेसो पोखे। आफूहरु समायोजन भएर आएको यतिका वर्ष भइसक्दा पनि नियमित तलब पाउँदै आएको बताउँदै धनगढीका स्वास्थ्यकर्मीहरु भन्छन्,‘तर, गत कात्तिकदेखि भने हामीलाई तलब नै दिइएन। आजभोलि भन्दा भन्दै पाँच महिना बितिसक्यो।’

कर्मचारी समायोजन ऐन अनुसार समायोजन भई आएका ५४ जना स्वास्थ्यकर्मीलाई पाँच महिनादेखि तलब भत्ता नदिएको भन्दै उनीहरू आन्दोलित भएका छन्। कर्मचारीहरुले पाँच महिनादेखि तलब भत्ता नपाएपछि उनीहरू तलबको माग गर्दै सङ्घर्षका कार्यक्रम गरिरहेका छन्। उनीहरू अहिले दैनिक स्वास्थ्य संस्था खोलेर उपमहानगरपालिकाको परिसरमा आएर धर्ना दिइरहेका छन्।

उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता गर्दै नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मबहादुर देउवाले कर्मचारीहरुले काम गरे बापतको पारिश्रमिक पाउनु पर्ने बताए।

उनले भने, ‘कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भई आएर काम गरिरहेका कुनै पनि कर्मचारीलाई यो या त्यो बहानामा पारिश्रमिक नदिनु गलत हो।’ काम लगाएर पनि पारिश्रमिक नदिइनु अन्तर्राष्ट्रिय श्रम संगठनको धज्जी उडाएको अनुभूति भएको बताउँदै देउवाले भने,‘उपमहानगरपालिकाले यथाशक्य कर्मचारीको रोकिएको तलब दिइनुपर्छ, नत्र विभिन्न पेशागत संघसंगठनहरु थप सङ्घर्षका कार्यक्रमसहित आन्दोलित हुन बाध्य हुनेछौँ।’

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमलप्रकाश जोशीले आज धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीलाई परेको समस्या देशभरिका निजामती कर्मचारीहरुको समस्या भएको बताए।

उनले चाँडै नै धनगढी उपमहानगरपालिकाले समस्या समाधान नगरे सबै ट्रेड युनियनकर्मीहरु आन्दोलित हुने बताए।

तलब नपाएपछि आन्दोलित बनेका धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीको मागप्रति ऐक्यबद्धता गर्दै मंगलबार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलाली अध्यक्ष विमलप्रकाश जोशी, नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मबहादुर देउवा, नेपाल निजामती कर्मचारी युनियन कैलाली अध्यक्ष खेमराज जोशी, नेपाल निजामती कर्मचारी संगठन कैलाली अध्यक्ष लक्ष्मणराज जोशी, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कैलाली अध्यक्ष गंगारा मभारती र एकीकृत सरकारी कर्मचारी संगठन नेपालका जिल्ला अध्यक्ष जनकराज जोशीले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले काम गराएपछि पारिश्रमिक भुक्तानी नगराएको भन्दै आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले अघिल्लो नेतृत्वको अदूरदर्शीताका कारण कर्मचारीलाई समस्या भएको बताए।

उनले भने,‘यस विषयमा हामी चाँडै छलफल गरेर निकास निकाल्ने छौँ।’

धनगढी उपमहानगरपालिकासँगै जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले एक महिनादेखि, भजनी र गौरीगंगा नगरपालिकाका स्वास्थ्यकर्मीले पुस महिनादेखि तथा कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले माघ महिनादेखि तलब पाउन सकेका छैनन्।

प्रकाशित: १४ चैत्र २०७९ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App