coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखराका होटल व्यवसायी भन्छन्ः २० प्रतिशतको अकुपेन्सीले खर्च धान्न सक्दैनौ

तेश्रो मुलुकका विदेशी पर्यटक भित्रिने मुख्य सिजन भएकोले यो बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तिमा ८० प्रतिशत हुनुपर्ने हो, तर अहिले बढीमा २० प्रतिशत मात्र अकुपेन्सी रहेको भन्दै यहाँका व्यावसायीले चिन्ता जनाएका छन्। २० प्रतिशत अकुपेन्सीले होटलको संचालन खर्च समेत धान्न नसक्ने उनीहरुले बताए। संचालन खर्च धान्न कम्तिमा ४० प्रतिशत अकुपेन्सी पुग्नुपर्ने व्यावसायीको भनाई छ ।

नेपाली नयाँवर्ष पारेर होटल संघले चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको लेकसाइड अम्मटदेखि हल्लनचोकसम्मको सडकमा आयोजना गर्ने १८ औं फेवा नबवर्ष महोत्सवको तयारीको क्रममा व्यावसायीबीच भएको छलफलमा उनीहरुले पर्यटन क्षेत्र निकै नै कमजोर हुँदै गएको भन्दै चिन्ता जनाएका छन्। व्यावसायीका अनुसार सिजनको बेलामा पनि पाहुना नहुँदा होटललाई सकसपूर्ण अवस्था आएको छ। दैनिक खर्च जोहो गर्न पनि समस्या भएको उनीहरुले बताए। व्यावसायीका अनुसार मासिक रुपमा विद्युतको महसुल तिर्न समेत सक्ने अवस्थामा अहिले व्यवसायी छैनन्।  

‘पर्यटन क्षेत्र साह्रै नै खस्क्यिो। होटलले मासिक विद्युत महसुल समते बुझाउन सक्ने अवस्था छैन। पर्यटन क्षेत्र निकै नै अप्ठेरो अवस्थामा छ,’ एकजना व्यवसायीले भने, ‘पर्यटन क्षेत्र उकासिन सकेन। कोरोनाकालमा भन्दा पनि अहिलेको अवस्था कमजोर छ।’ बैंक तथा वित्तीय संस्थाको कसिलो ब्याजदर, पाहुना आगमनमा कमजोर अवस्था, कोरोना संक्रमणदेखि सुरु भएको नोक्सानीको श्रृंखलाका कारण व्यवसाय कमजोर बनेको ती व्यवसायीले बताए।  

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले अहिले होटलको अकुपेन्सी ८० देखि ९० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा १५ देखि २० प्रतिशतसम्म खुम्चिएको बताए। पर्यटकीय सिजनमा नै अकुपेन्सी खुम्चिएर २० प्रतिशत भित्र रहँदा होटललाई संचालन खर्च धान्न पनि मुस्किल परेको उनले बताए। ‘पर्यटन क्षेत्र साच्चै समस्यामा छ। सरकारले तत्कालै उचित कदम नचाल्ने हो भने पर्यटन क्षेत्रको लगानी डामाडोल हुने अवस्था नजिकिएको छ,’ सुवेदीले भने, ‘यतिसम्मकी दैनिक खर्च धान्न पनि होटललाई सहज छैन। सिमित होटलले केही आकारमा पाहुना पाएपनि धेरैजसो होटल समस्यामा रहेको उनले बताए।  

‘यस्तै अवस्था अझै केही समय रहिरहने हो भने लेकसाइडका धेरै होटल बन्द हुनेछन् वा बिक्रीमा जानेछन,’ उनले भने, ‘पाहुना नआउँदाको मार अहिले पर्यटनमा। सिजनको बेलाको अकुपेन्सी २० प्रतिशत हुनु निकै नै कमजोर पक्ष हो।’  

उनका अनुसार अहिले केही व्यवसायीले चलाईरहेको होटल नै बिक्री गर्ने योजना बनाएका छन। कतिपय होटल बैंक तथा वित्तीय संस्थाको लिलालीमा पनि पर्ने त्रासमा छन्। ‘सबैतिरबाट अहिले पर्यटन क्षेत्र मारमा छ।  पर्यटक आगमन निकै नै कमजोर छ। आउजाउ सहज नहुँदा आन्तरिक पाहुना पनि घटेका छन, त्यसबाहेक आन्तरिक पाहुनाका क्रयशक्ति पनि कमजोर भएको छ,’ उनले भने, ‘सबैभन्दा बढी तनाव त अहिले बैंक तथा वित्तीय संस्थाका कारण भएको छ। व्यवसायी बैंकको किस्ता तिर्ने कि दैनिक खर्च धान्ने भन्ने मुस्किलमा छन।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पोखरामा माघ १ गते भएको हवाई दुर्घटनापछि पर्यटनमा निकै नै असर परेको बताउँछन्। ‘हवाई दुर्घटनापछि निकै नै नराम्रो सन्देश फैलिएको छ। स्थलमार्गको झन्झटिलो यात्राले पनि अहिले सकस थपेको छ,’ पराजुली भन्छन, ‘एकपटक निजी गाडी लिएर पोखरा आएको मान्छे दोहो¥याएर आउन खोज्दैन, किनकी बाटोको अवस्था साह्रै नै कठिनपूर्ण छ।’ उनका अनुसार भारतीय पाहुनाको आगमन पनि उत्तिसारो उकालो लागेको छैन। सिमित नेपाली पाहुनाबाट मात्र पर्याप्त हुन नसक्ने उनले बताए।  

‘होटलको अकुपेन्सी ४० प्रतिशत उकालो लागेपछि बल्ल होटलको खर्च धान्छ। ५० प्रतिशत अकुपेन्सी कटेपछि बल्ल नाफा आउने हो,’ पराजुलीले भने, ‘केही ठुला होटलले राम्रै अकुपेन्सीमा पाहुना पाएका छन्। नत्र मध्यम र साना होटलको अकुपेन्सी अनुपात २० प्रतिशत हाराहारीमा छ।’ उनले पनि मुख्य सिजनको बेला परेकोले यो समयमा होटलको अकुपेन्सी ८० प्रतिशत हाराहारीमा हुनुपर्ने हो, तर, २० प्रतिशतमै रोकिएको छ।  

‘अवस्था यस्तो आयो की आन्तरिक पाहुनासँग पनि खर्च गर्न सक्ने क्षमता देखिन्न। तथ्यांकगत रुपमा हेर्दा नेपालमा भित्रिने विदेशी पाहुनाको आकार बढेको देखिन्छ। तर, वास्तविक रुपमा बजारले त्यो आकार देखाएको छैन,’ पराजुलीले भने, ‘पर्यटन क्षेत्र चलायमान बन्न नसकेकै हो। विश्वकै आर्थिक सूचकांक कमजोर हुँदै जाँदा नेपालको पर्यटन पनि जोगिने अवस्था रहेन।’

प्रकाशित: १० चैत्र २०७९ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App