६ वैशाख २०८१ बिहीबार
अर्थ

परिसंघले राजनीतिक दलसँग छलफल थाल्यो

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ। परिसंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं पार्टीबाट अर्थ उद्योग लगायत अर्थतन्त्रसँग सम्बन्धित क्षेत्र हेर्नु हुने पदाधिकारी एवं केन्द्रीय सदस्यहरूसँग छलफल गरेको छ।

परिसंघ सचिवालयमा बुधबार आयोजित छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी व्यवसायीहरूको मनोबल निकै घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए।

लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएकाले यसमा सुधार आवश्यक रहेको उनले बताए।

‘उद्योगी व्यवसायीहरूको मनोबल बढाउन सांसद्हरूको भूमिका निर्वाह गर्नुपर्ने बेला भइसकेको छ,’ उनले भने ‘अर्थतन्त्रमा सुधार ल्याउन सरकारी एवं निजी क्षेत्रको लगानी बढाउनुपर्र्ने, ब्याजदर कम गर्नुपर्ने, तरलता सुनिश्चित गर्नुपर्नेछ।’

सो अवसरमा संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणाबारे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं नेताहरूलाई अवगत गराइएको थियो।

परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ।

सार्वजनिक निजी साझेदारी मोडलमा औद्योगिक क्षेत्रलगायतका पूर्वाधार अगाडि बढाउनुपर्ने, सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सहुलियतको व्यवस्था गर्नुपर्नेमा परिसंघले जोड दिएको छ।

परिसंघको यो सुझावलाई सबै मिलेर कार्यान्वयन गर्न सके अर्थतन्त्रमा छिटो सुधार आउने विश्वास अध्यक्ष अग्रवालले व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डिपी अर्यालले अर्थतन्त्र जोगाउन सबै मिल्नुपर्ने र शिक्षित गराउनुपर्ने बताउनुभयो। उहाँले निजी क्षेत्रको सफलता नै देशको सफलता हुने भन्नु हुँदै अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँगै रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले अनुहार हेरेर नीति बनाइने गरेको भन्नुहुँदै त्यसमा सुधार आवश्यक रहेको बताए।

परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका विषयमा अन्य राजनीतिक दलहरूसँग छलफल तथा अन्तरक्रिया आयोजना गर्ने भएको छ।  

प्रकाशित: १० चैत्र २०७९ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App