२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वाग्मती नदी उपयोगमा तीन पालिकाबीच विवाद

रौतहट र सर्लाहीको सीमानदी वाग्मतीको उपयोगको विषयलाई लिएर दुवै जिल्लाका तीन पालिकाबीच विवाद देखिएको छ। रौतहटको गढीमाई नगरपालिका र वृन्दावन नगरपालिका तथा सर्लाहीको बरहथवा नगरपालिकाबीच वाग्मती नदीको बालुवा, ढुंगा उत्खननको विषयमा विवाद देखिएको हो। विवाद समाधानका लागि छलफल र बहस पनि हुने गरेको छ।

नगर क्षेत्रको सीमा निर्धारण गर्न हालै तीनवटै नगरपालिकाको संयुक्त बैठक बसेको थियो। रौतहट र सर्लाहीका सुरक्षा पदाधिकारीका साथै तीनवटै पालिका प्रमुखको संयुक्त बैठकमा सीमा विवाद समाधानका लागि अध्ययन तथा अनुसन्धान टोली गठन गर्नुपर्ने आवश्यकता महसुस गरिएको थियो। तीनवटै पालिकाका इन्जिनियर बसेर गिटी, ढुंगा र बालुवा उत्खननका लागि स्थलगत अनुगमन गरी कार्यविधि बनाउने सहमति पनि भएको थियो।

पालिकाको सीमा निर्धारणका लागि रौतहट र सर्लाहीका नापी कार्यालय तथा तीनवटै पालिकाका इन्जिनियर रहेको प्राविधिक समिति पनि गठन गरिएको छ। प्राविधिक समितिले विभिन्न आधार हेरी सीमा निर्धारण गर्ने बताइएको छ।

सामान्यतया पानी बग्ने मूलधार दुई जिल्लाको सिमाना हुनुपर्ने भनिए पनि वाग्मती नदीभन्दा पूर्वतिर गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाका बासिन्दाको घर, जग्गा तथा पहुँच छ। पहिलेदेखि गढीमाई र वृन्दावन नगरपालिकाले उपभोग गर्दै आएको जमिन तथा नदीमाथि बरहथवा नगरपालिकाले दाबी गरिरहेको स्थानीयको बुझाइ छ। गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाले पहिलेदेखि नै उपयोग र उपभोग गरिरहेको भूभागसम्मलाई सिमाना मान्नुपर्ने तर्क दिइरहेका छन्। वाग्मती नदीले हरेक वर्ष बहावको क्षेत्र बदलिरहेसँगै पालिका र जिल्लाको सीमा परिवर्तन हुन नहुने तर्क गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाको रहेको छ।

सर्लाहीको बरहथवा नगरपालिकाले वाग्मती नदीलाई सिमाना मानिएकाले पानी बगेको धारभन्दा पूर्वको नदीजन्य पदार्थ आफ्नो हुने दाबी गर्दै आएको छ। रौतहटको गढीमाई नगरपालिकामा पहिलेकै नगरप्रमुख पुनः निर्वाचित भएका छन् भने वृन्दावन र सर्लाहीको बरहथवा नगरपालिकामा नयाँ नगरप्रमुख निर्वाचित भएका छन्।

प्रकाशित: ६ चैत्र २०७९ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App