१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

लक्ष्य ८११, थपियो ३५० मेगावाट

चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसारको बिजुली राष्ट्रिय ग्रिडमा नथपिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा ८ सय ११ मेगावाट बिजुली उत्पादन भएर राष्ट्रिय प्रशारणमा जोड्ने लक्ष्य राखेको थियो। चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा जलविद्युत् आयोजना र सोलार प्लान्टबाट तीन सय ५० मेगावाट बिजुली मात्रै थप भएको छ।

चालु आर्थिक वर्षको चार महिनामात्रै बाँकी रहँदा थप ४ सय ६१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थपिनुपर्ने थियो तर सो अवधिमा बिजुली थप हुने आशंका कायमै छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको बिजुली थप हुन केही समस्या पर्ने बताए।

‘प्राधिकरणले चालु आवमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट महत्वकांक्षी लक्ष्य राखेको छ,’ उनले भने ‘लक्ष्य अनुसारको बिजुली थप हुन केही गाह्रो हुने देखिएको छ।’

प्रवक्ता भट्टराईले चालु आवको आठ महिनाको अवधिमा झण्डै तीन सय मेगावाटभन्दा धेरै बिजुली राष्ट्रिय ग्रिडमा थप भएको बताए। प्राधिकरणका अनुसार चालु आवको आठ महिनाको अवधिमा झण्डै डेढ दर्जन जलविद्युत् आयोजनाबाट ३५० मेगावाट बिजुली थप छन्। चालु आवमा जलविद्युत् तथा सोलार प्लान्टबाट गरेर कुल २५ सय मेगावाट क्षमताको बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ।

चालु आर्थिक वर्षमा निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको ८६ मेगावाटको सोलु/दुधकोशी जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली राष्ट्रिय ग्रिडमा थप भएको छ। चालु आर्थिक वर्षमा सानाठूला गरेर २० वटा जलविद्युत् तथा सोलार प्लान्टबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जडान भएका छन्। प्राधिकरणका अनुसार सिमरा सोलार प्रोजेक्टबाट एक मेगावाट, ग्रिड कनेक्टेड सोलार आयोजनाबाट ५ मेगावाट, दोर्दीखोला जलविद्युत् आयोजनाबाट २७ मेगावाट, चेपेखोला लघुवित्त आयोजनाबाट ८.६३ मेगावाट दोर्दीखोला खोला १ जलविद्युत् आयोजनाबाट १२ मेगावाट बिजुली गत असोज मसान्तसम्मको अवधिमा राष्ट्रिय ग्रिडमा जोडिएको छ।

प्राधिकरणका अनुसार साइती खोला जलविद्युत् आयोजनाबाट ०.९९ मेगावाट, सोम राधाकृष्ण सोलार फर्मबाट ४ मेगावाट, तल्लो लिखु जलविद्युत् आयोजनाबाट २८.१ मेगावाट, माथिल्लो बलेफी जलविद्युत् आयोजनाबाट ३६ मेगावाट, पुवा खोला २ जलविद्युत् आयोजनाबाट ४.९६ मेगावाट, माथिल्लो दोर्दी १ जलविद्युत् आयोजनाबाट २५ मेगावाट, मध्यमोदी जलविद्युत् आयोजनाबाट १५.१ मेगावाट, मध्यसोलु खोला जलविद्युत् आयोजनाबाट ९.५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाडिएको छ। 

प्रकाशित: २६ फाल्गुन २०७९ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App