जिल्ला ब्युरो
काठमाडौं- पाँच सय दरका भारतीय रुपैयाँ (भारु) का नोटमा प्रतिबन्ध लागेपछि नेपालमा पनि धेरैतिर असर परेको छ। यो प्रतिबन्ध भारतबाट नेपाल घुम्न आएका पर्यटक, सीमावर्ती अस्पतालमा उपचार गराउन आएका भारतीय नागरिक, ठूलो मात्रामा ती भारतीय नोट घरमा राख्नेसम्मका लागि तनावको विषय बनेको छ।
विराटनगरबाट प्राप्त समाचारमा नोट प्रतिबन्धबाट सर्वसाधारण, पर्यटक र साना व्यवसायी मर्कामा परेको उल्लेख छ। विशेषगरी औषधोपचारका लागि एक अर्को मुलुकमा रहेका दुवै देशका सर्वसाधारण मर्कामा परेका छन्।
एक अर्को देशको भ्रमणमा रहेकाहरु पनि समस्यामा परेका छन्। प्रतिबन्धअघि ५ सय र हजार दरका नोट लिएर नेपालबाट भारततर्फ किनमेल गर्न गएका साना व्यवसायीलाई समस्या भएको विराट व्यापार संघका अध्यक्ष शिव रिजालले बताए।
उनका अनुसार उपचारका लागि भारत जान पैसा जोहो गरेकाहरु पनि प्रतिबन्धले अन्योलमा परेका छन्। विराटनगरका अस्पतालमा उपचारका लागि भारु ५ सय र हजार दरका नोट लिएर आएका भारतीय बिरामी पनि नोट सटही नहु“दा मर्कामा परेका छन्। विराटनगरका अस्पतालमा दैनिक १० हजारभन्दा बढी भारतीय बिरामी उपचारका लागि आउने गरेका छन्। यहा“को आ“खा अस्पतालमा भारतीय बिरामीको घुइ“चो नै लाग्छ।
कतिपय बिरामी उपचारै नगरी फर्केको विराटनगर आ“खा अस्पतालका प्रबन्धक कुमार पृथुले बताए। उनका अनुसार एक्कासि प्रतिबन्ध लागेपछि भारु साट्ने वा नसाट्ने भन्ने अन्योल भएको थियो। बैंकले विराटनगरका अस्पताललाई ५ सय र हजार दरका भारु नोट नलिनू भनेपछि उपचारका लागि आएका बिरामी उपचारै नगरी फर्कन बाध्य भएको पृथुले बताए।
अप्रेसन बाहेकका समस्या लिएर आएका बिरामीको छुटमा उपचार गरिए पनि धेरै खर्च लाग्ने बिरामी भने उपचारबाट वञ्चित हुनु परेको पृथुले बताए। उनका अनुसार विराटनगर आ“खा अस्पतालमा मात्रै दैनिक १३ सय हाराहारीमा बिरामी भारतबाट उपचारका लागि आउने गरेका छन्।
प्रतिबन्धले सर्वसाधारण मारमा परे पनि ठूला आयात–निर्यातकर्तालाई भने कुनै समस्या नभएको उद्योगीले बताएका छन्। मोरङ व्यापार संघका पूर्वअध्यक्ष अविनाश बोहोराले बैंकिङ च्यानलबाट हुने आयात–निर्यातमा कुनै समस्या नभएको जानकारी दिए। ठूला भारु नोट प्रतिबन्ध हु“दा अवैध रुपमा हुने आयात, निर्यात नियन्त्रणमा सघाउ पुगेको बोहोराले बताए। उनले भने, 'खुल्ला सीमाका कारण हुने अवैध व्यापार नियन्त्रण गर्न यो प्रतिबन्धले सघाउने छ।’ स्थानीय स्वास्थ्य, शिक्षा र पर्यटनमा भने प्रतिबन्धले प्रभाव पार्ने बोहोराले बताए। उनका अनुसार ठूला नोटमा प्रतिबन्ध लाग्दा नेपाल आउने पर्यटकले गर्ने खर्चको मात्रा घट्ने छ।
उद्योग संगठन मोरङका पूर्वअध्यक्ष दिनेश गोल्छाले ठूला आयात–निर्यातकर्तालाई प्रतिबन्धले कुनै समस्या नहुने भएकाले दुई देशको व्यापारमा कुनै फरक नपार्ने स्पष्ट पारे
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र पारसले प्रतिबन्धले आयात–निर्यातमा असर नपार्ने बताए। उनका अनुसार बैंकिङ च्यानलबाट हुने कारोबारलाई कुनै फरक पारेको छैन। तर, नगदै पैसा बोकेर भारततर्फ सामान खरीद गर्न जानेहरू भने प्रतिबन्धको मारमा परेको उनले बताए। विराटनगरबाट नगद लिएर भारतमा सामान खरीद गर्न गएका साना व्यापारी पैसा नचलेपछि समस्यामा परेको परासरले बताए। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका अनुसार विराटनगर कार्यालयबाट वार्षिक करिब ३१ करोड रुपैया“को भारु बिक्री भएको थियो। भारततर्फ तिर्थाटन गर्न, अध्ययन र उपचारका लागि जाने सर्वसाधारणले राष्ट्र बैंकस“ग नगद भारुको माग गर्दछन्।
दाङबाट प्राप्त समाचारमा भारु साट्न सर्वसाधारण र व्यवसायी दिनभर भौंतारिएको उल्लेख छ। घोराहीका होटल व्यवसायी रामकुमार खत्रीले गुनासो दिनभरि घुम्दा पनि उक्त दरका भार साट्न नसकेको गुनासो गरे।
घोराहीमा मोटरसाइकल पार्ट पसल चलाएर बसेका महताब आलमले भारतबाट सामान ल्याउन जोहो गरेको नोटको भविष्यप्रति चिन्ता प्रकट गरे। 'भारतीय नोट चल्दैन भनेपछि त होस उडे जस्तै भएको छ,' उनले भने।
चाडपर्व मनाउन भारतबाट फर्केका कामदार वर्षौंको मेहनत खेर जाने चिन्तामा छन्। उनीहरुले घर आउँदा प्रतिबन्धित नोट बोकेर आएका थिए। 'भारतबाट कमाएर आएका व्यक्तिहरु भारु साट्न भनेर बैंक आउनुभएको छ,' घोराहीस्थित एसबिआई बैंकका प्रमुख पवन घिमिरेले भने।
डडेल्धुरा र बैतडीको सीमा आसपासका अधिकांश बासिन्दा भारतमा काम गर्न जाने र फर्केर आउँदा अहिले प्रतिबन्ध लागेका नोट नै ल्याउने हुँदा उनीहरु समस्यामा पर्ने प्राप्त समाचारमा उल्लेख छ। प्रतिबन्धित भारतीय नोट साट्न धेरै मानिस बुधबार डडेल्धुराका बैंकमा आएका थिए। ‘पाँच हजार भारु साट्न दर्जनभन्दा बढी ठाउँमा पुगिसकें कही पाइएन,’ डडेल्धुरा बजारमा भेटिएका सीमावर्ती रुपालका राज भट्टले भने, ‘पाँच सय र हजारको नोट हाम्रा लागि कागज जस्तै भएको छ।’
तल्लो स्वराडका एक दर्जन गाविसका प्रत्येक घरका एक जनाभन्दा बढी रोजगारीको सिलसिलामा भारतमा रहेकाले यो निर्णयले त्यहाँका सर्वसाधारण मारमा पर्ने कुलाउगाउँका तारा चन्दले बताए। सजिलो हुने भएकोले यस भेगका अधिकांशले भारु पाँच सय र हजारका नोट बोक्ने गरेका छन्। अधिकांशको घरमा थुप्रै नोट हुन सक्ने शर्मालीका स्थानीय कर्णबहादुर साउदले बताए।
जिल्लाका अधिकांश ठाउँका स्थानीय मजदुरी गर्न भारतीय बजार पिथौरागढ, चम्वावत, टनकपुर, पूर्णागिरी, लुहाघाट, धार्चुला जान्छन्। दसैंतिहारमा घर फर्कंदा भारु नै बोकेर आएका भटना–८ का बिरेन्द्र भट्टले भने, 'सजिलोको लागि ५ सय र १ हजारका नोट ल्याएँ अचानक प्रतिबन्ध लगाएको सुनेपछि तनावमा छु।’
भारतको दिल्लीमा दुई वर्ष काम गरेर फर्केका परशुराम नगरपालिका–६ का दलबहादुर धामी आफ्नै पसिनाको कमाइले अहिले समस्या ल्याएको बताउँछन्।
खाद्यान्न लगायत अत्यावश्यक सामान किन्न सीमावर्ती भारतीय जाने महोत्तरीका सर्वसाधारणमा यो निर्णयले खलबली मच्चिएको उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साहले बताए।
सीमावर्ती बजारमा बट्टा लिएर भारु कारोबार गर्ने व्यापारी भारत सरकारको उक्त निर्णयबाट छाँगाबाट खसे झंै भएका छन् । पहिलेदेखि नै भारतीय रुपैयाँको अभाव रहेको सीमावर्ती क्षेत्रमा यो निर्णयले झन् अभाव हुने र यसले सर्वसाधारणलाई सास्ती खेप्नुपर्ने अवस्था आउने अध्यक्ष साहले बताए।
बुधबार बिहानैदेखि महोत्तरीमा जोडिएको भारतीय बजार भिट्टामोड, सुरसण्ड, मधवापुर, कन्हमा, सीतामढी, मधुवनी, साहरघाट लगायतका व्यावासायीले नोट लिन छाडेपछि अत्यावश्यक सामान किन्न गएका सर्वसाधारण रितो हात घर फर्केका छन्।
नेपालमा भारतीय पाँच सयको नोट साट्ने व्यवस्था नै नभईकन भारतमा प्रतिबन्ध लगाइँदा सर्वसाधारणलाई मर्का परेको भटौलिया–५ का प्रवीण कर्णले बताए।
'आफूसँग भएको नोट साट्ने व्यवस्था नहुँदा मर्कामा परेको छौं,’ कर्णले भने, 'पाँच रुपैयाँ सयकडामा बट्टा तिरेर भजाएको (साटेको) नोट कामै नलाग्ने भएपछि हामी समस्यामा परेका छौं। ’
महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद गुप्ताले भारत सरकारको उक्त निर्णयबाट नेपाली बजारको व्यापार प्रभावित भएको बताए। भारत सरकारले आफ्ना नागरिकको सुविधाका लागि नोभेम्बर १० देखि डिसेम्बर ३० भित्र आफूसँग रहेको पाँच सय र हजारको नोट परिचयपत्र सहित साट्ने व्यवस्था गरे जस्तै नेपाल राष्ट्र बैंकले निश्चित अवधि तोकेर नोट साट्ने व्यवस्था गर्नुपर्ने अध्यक्ष गुप्ताको भनाइ छ।
भारतको मधुवनी र सीतामढी जिल्लासँग ४० किलोमिटर सीमा जोडिएको १३ गाविस र भित्री महोत्तरीका गाउँका सर्वसाधारण भारतीय पाँच सय र हजारको दरको नोट प्रतिबन्धित भएपछि समस्यामा छन् ।
भारत हिँडेका मजदुर अलपत्र
बैतडीका केशव विष्ट भारु ५ सयका नोट बोकेर मजदुरीका लागि मुम्बई जान बुधबार धनगढी पुगे। आफूसँग भएका नोट नचल्ने भएपिछ उनी धनगढीमा अलपत्र परे। 'अब कसरी मुम्बई जाने, आपत आइपर्यो,' उनले भने। उनी जस्तै भारु बोकेर मजदुरी, स्वास्थ्योपचार लगायत अन्य कामले भारत जान लागेका सर्वसाधारण बीच बाटो मै अलपत्र परेका छन्।
सुदुरपश्चिममा मात्र दसौं करोड भारु रहेको अनुमान छ। यहाँ राम्रो अस्पताल नभएका कारण बिरामी पर्दा भारतका अस्पताल जानुपर्ने भएकाले प्रायः सबैले ३०–४० हजार भारु घरैमा राख्ने गरेको स्थानीय बताउँछन्। 'खोजेको बेला भारु नपाइन सक्छ भनेर गाउँलेले घरमा ३०–४० हजार भारु राखेका हुन्छन्,' व्यापारी हरिशंकर ठाकुरले भने, 'भारत सरकारको निर्णयले निम्न आर्थिक अवस्थाका सर्वसधारणलाई बढी असर पर्नेछ।'
भन्सार छलेर कारोबार गर्ने साना व्यापारीको पैसा पनि जोखिममा पर्ने उनको भनाइ छ। 'कैलालीमा मात्र भन्सार छलेर कारोबार गर्ने व्यापारीसँग ५ सय र हजारका नोट करोडौं हुन सक्छ,' उनले भने।
सुदुरपश्चिमका सीमावर्ती जिल्लामा मात्र नभई पहाडी जिल्लाका नागरिकसँग पनि भारु रहेको बुझिएको छ। 'पहाडबाट चामल किन्न आउनेले भारु बोकेर आइरहेका छन्,' ठाकुरले भने।
सबैभन्दा बढी मर्का मजदुरीका लागि भारत जाने नेपालीका परिवारलाई पर्ने देखिएको छ। उनीहरु घर फकिँदा १–२ वर्षको कमाइ बोकेर आउँछन्, जसमा प्रतिबन्धित ठूला नोट नै हुने गर्छ। 'मजदुरी गर्नेले भारतमा वर्षौं लगाएर कमाएको पैसा ल्याएर घरमा राखेका छन्,' ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले भने, 'अब उक्त रकम काम नलाग्ने हुन्छ।' सरकारले यस विषयमा पहल गर्नुपर्ने उनको सुझाव छ।
अर्थविद तथा धनगढी इन्जिनियरिङ क्याम्पसका प्रमुख शिवहरि मुढभरी यसबाट नेपालमा मुद्राको प्रचलन वेगमा सोझै असर पर्ने बताउँछन्। यसले वैदेशिक व्यापारमा समेत असर पार्ने उनको भनाइ छ। नोभेम्बर १० देखि ३० गते सम्म नोट जम्मा गर्न भने पनि राहादानी र लेखा नम्बर सहित उक्त नोट साट्नुपर्ने भएकाले मजदुरी गर्ने नागरिक र यहाँका सर्वसाधारणलाई सहज छैन।
उता, वीरगन्जमा हिजोसम्म भारु निकाल्न नचाहनेहरु बुधबार बिहानैदेखि त्यसलाई साट्न आतुर रहेको पाइएको छ। आदर्शनगरस्थित रेडिमेड कपडा पसलका सञ्चालक सचिन अग्रवालले भारु लिएर सामान नबेचेको सुनाए। यसअघि संकलन भएको नोट के गर्ने भन्ने अन्योलमा रहेका उनले थप नोट नलिएको बताए। अर्का व्यापारी दिपककुमार सर्राफले बिहानदेखि वीरगन्जका मानिसहरुमा संशय देखिएको बताए।
भैपरी आउँदा काम लाग्छ भनेर ठूला दरका भारु राख्ने सर्वसाधारण अहिले चिन्तित देखिएका छन्। बारम्बार भारु अभाव भइरहने हुँदा यस क्षेत्रका सर्वसाधारणले नोट साटेर घरमा राख्ने गरेका छन्। आपतविपतका बेला काम लाग्छ भनेर साटेको नोट अहिले उनीहरुलाई घाँडो भएको छ। एकजना व्यवसायीले आफूसँग भएको रकम भारु सयमा १० रुपैयाँ नेपाली घाटा सहेर साटेको एक व्यवसायीले बताए।
ठूला दरका भारुमा प्रतिबन्ध लागेसँगै वीरगन्जको व्यापारिक कारोबार प्रभावित भएको छ। 'बुधबार ट्रान्सपोर्टमा नगद दिँदा पाँच सय र हजारका नोट लिएनन्, भारतीय बैंकहरु पनि २ दिनका लागि बन्द छन्, कतिपय मालवस्तु रक्सोल कै गोदाममा थन्किए भुक्तानी गर्न नपाएर ल्याउन सकिएन,' वीरगन्ज भन्सार एजेन्ट संघका अध्यक्ष विजय साहले भने।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले यो निर्णयले अन्योलमा पारेको बताए। बुटवल आयात निर्यातमा संलग्न ठूला व्यवसायीदेखि सर्वसाधारणसम्मको दैनिकीमा समेत असर परेको छ।
यसले केही समयसम्म भयावह समस्या ल्याउने सिद्धार्थनगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु शर्माले बताए। उनका अनुसार भारतबाट सामान आयात गर्ने धेरै यो क्षेत्रका व्यवसायी बैकिङ प्रणालीको साटो सिधै पैसा बोकेर जान्छन्। ‘व्यापारीसँग बार्गेनिङ गरी नगदै तिरेर सामान आयात गरिरहेका व्यवसायी तत्काल समस्यामा पर्ने छन्, अब सामान आयात नै ठप्प हुने सम्भावना छ,' उनले भने। सय रुपैयाँका नोट बोकेर सर्वसाधारण र व्यवसायीको दैनिकी नचल्ने उनको भनाइ छ।
भारतबाट आएका लाहुरेहरु सीमामै अलपत्र परेका छन्। कमाएको रकम लिएर घर जाने तयारीमा रहेका उनीहरु यो प्रतिबन्धले अन्योलमा परेको बेलहियाका व्यवसायी लक्की सरदारले बताए। भारतबाट नेपाल घुम्न आउने र भारत जाने पर्यटक पनि समस्यामा पर्ने उनको भनाइ छ। ‘भारत जान जहाज र रेलवेको टिकट बुकिङ गरेका धेरैले टिकट रद्द गरे,' पर्यटन व्यवसायी समेत रहेका सरदारले भने, 'सर्वसाधारणमा यसले अन्योल र निराशा छाएको छ, दैनिकी नै अस्तव्यस्त भएको छ।'
घुमघामको सिलसिलामा नेपाल आएका भारतीय नागरिक झन समस्यामा पर्ने उनको भनाइ छ। दिल्ली मुम्बई लगायत भारतका विभिन्न सहर घुम्न र औषधि उपचारमा गएका नेपालीहरु पनि समस्यामा परेको उनले बताए।
प्रतिबन्ध लगाइएका नोट बैंकमा जम्मा गरेर नयाँ नोट निकाल्न पाउने भारत सरकारले व्यवस्था गरेको छ। तर एकपटकमा चार हजार रुपैयाँमात्रै निकाल्न पाउने व्यवस्थाले समस्या परेको व्यवसायीको भनाइ छ।
(देवेन्द्र बस्नेत–दाङ, दिलबहादुर छत्याल–धनगढी, वरुण पनेरु–डडेल्धुरा, वीरा गडाल–बैतडी, महेश दास–महोत्तरी, रितेश त्रिपाठी–वीरगन्ज र शेरबहादुर केसी–बुटवल, विनोद सुवेदी–विराटनगर)
प्रकाशित: २५ कार्तिक २०७३ ०४:१७ बिहीबार