७ वैशाख २०८१ शुक्रबार
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: दिउँसो चरा र राति स्यालको रजाइँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी खण्डमा विजयपुर खोला पर्छ। दक्षिणतिर सेती नदी पर्छ। विजयपुर खोला त धावनमार्गको झनै नजिक छ। यतिसम्म कि अवतरणका क्रममा रहेको जहाजले खोला पार गर्नासाथ धावनमार्ग टेक्न पुगिहाल्छ।  

विमानस्थलको नजिक भएर बग्ने यी दुवै खोला प्रायः दुुर्गन्धित हुन्छन्। सेतीको तुलनामा विजयपुर खोला बढी फोहोर हुन्छ। मरेका गाइवस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहोर, बंगुरको फोहोर खोलामै फालिन्छ। जसले गर्दा खोला क्षेत्र दुर्गन्धित हुने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन्। सिनोका कारण आकर्षित हुने चरा विमानस्थलका लागि ‘चुनौती’ बन्दै गएको विमानस्थलले बताएको छ।

खोलामा पानी कम भएको अवस्थामा त सिनोका कारण चरा बढी आकर्षित हुने हुँदा समस्या बढ्ने गरेको छ। विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार खोलामा जथाभावी फालिने सिनोका कारण चरा आकर्षित भएकाले त्यसको चुनौती विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा पर्ने गरेको छ। केही दिनअघि त अवतरणका क्रममा रहेको जहाजसँग चरा नै ठोक्किएको थियो। ‘विमानस्थलको नजिक रहेको ल्यान्डफिल्ड साइट त हट्यो तर खोलामा जथाभावी बगेर आउने सिनोले हवाई उडानमा चुनौती बढाएको छ,’ गौतमले भने, ‘मरेका पशुपंक्षी खोलामा भेटिन्छन्। खोला क्षेत्रमा त्यही सिनोलाई आहारा बनाउने चराको बिगबिगी छ। जसले गर्दा हवाई उडानमा समस्या थपेको छ।’

विमानस्थलको धावनमार्गको मुखैमा चराको बथान नै उड्ने गरेको उनले सुनाए। ‘जथाभावी खोलामा फोहोर फ्याँक्दा समस्या बढेको छ। फोहोरकै कारण चराको जोखिम रहेको भन्दै महानगरले ल्यान्डफिल्ड साइट हटायो तर जथाभावी फोहोर खोलामा बगेर आउँदा त्रास बढेको छ,’ उनले भने, ‘विजयपुर खोलामा बढी चरा हुन्छन्। जहाज अवतरण गर्नै लाग्दा चराको बथान उड्छन्।’ यसअघि पोखरा महानगरले फोहोर व्यवस्थापन गर्दैे आएको पोखरा– १४ बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइट विमानस्थल सञ्चालनमा आएसँगै हटाइएको थियो।’ अहिले महानगरले सहरको फोहोर पोखरा– ३२ लामेआहालमा फ्याँकिरहेको छ।  

फोहोरका कारण हुने जोखिमबाहेक विमानस्थल क्षेत्रको झाडीका कारण स्यालको जोखिम पनि उत्तिकै रहेको पोखरा– १४ का अध्यक्ष बोधराज कार्की बताउँछन्। ‘एकातिर सेती र अर्काेतिर विजयपुर खोला छन्। दुवै खोला आसपासमा बगेर आउने सिनोका कारण चरा आकर्षित हुने गरेका छन्। त्यति मात्र नभई विमानस्थल नजिकैको झाडीमा स्याल लुकेर बस्ने गरेका छन्,’ उनले भने, ‘विमानस्थल क्षेत्रमा दिउँसो चरा र राति स्यालको रजाइँ हुने गरेको छ। हाम्रो बस्ती नजिकै रातभर स्याल कराएको आवाज सुनिन्छ।’ विमानस्थल परिसरमा कम्तीमा पनि एक सयवटा स्याल रहेको उनको अनुमान छ।

कार्कीका अनुसार विमानस्थल सञ्चालनमा आउनुभन्दा पहिले नै त्यस क्षेत्रमा स्यालको समस्या रहेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)लाई समेत जानकारी गराइएको थियो। स्याल लुक्न नदिन झाडी सफा गर्न सुुझाइएको भए पनि सुनुवाइ नभएको उनले बताए। ‘विजयपुर खोलातिरको भाग खुला हुँदा स्याल विमानस्थलभित्र पस्ने गरेका छन्। दिउँसोमा जहाजको आवाजले झाडीमा लुकेर बस्ने स्याल बेलुकी भएपछि विमानस्थलको खुला चौरमा निस्कन्छन्। अहिलेसम्म राति उडान नभएकाले पनि साँझ परेपछि स्यालको रजाइँ सुरु हुन्छ,’ कार्कीले भने, ‘रातभर विमानस्थल क्षेत्रमा स्याल कराइरहेका हुन्छन्। धावनमार्गतिर स्याल दौडँदा जहाजसँग ठोक्किने हो कि भन्ने त्रास हामीलाई छ।’

रात्रिकालीन उडानका क्रममा स्याल नै धावनमार्गमा दौडने जोखिम रहेको वडाध्यक्ष कार्कीले बताए। यसअघि पोखराको पुरानो विमानस्थलमा पनि बेलाबेला धावनमार्गमा स्याल दौडने गर्दा हवाई उडान नै रोकिने गरेको थियो। ‘झाडी सफा गरेर स्याल लुक्ने ठाउँ खाली गरिदिनुपर्छ। नत्र जोखिम निम्त्याउन सक्छ,’ उनले भने। दिउँसो पनि स्याल धावनमार्गतिर दौडने सम्भावना रहेको अध्यक्ष कार्कीले बताए।

‘फोहोर पनि जथाभावी फ्याक्ने गरिएको छ। फोहोर फाल्ने ठाउँमा जाली हालेर फाल्न रोकांै भनेका हाैं,’ उनले भने, ‘तर सुनुवाइ भएको छैन। विजयपुरतिर र देउराली क्षेत्रमा बढी फोहोर फ्याँकिएको हुन्छ।’ त्यसबाहेक त्यही क्षेत्रमा अहिले पनि गिद्धको बासस्थान रहेको उनले बताए।  

पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकाल पनि विमानस्थल क्षेत्रमा चराको जत्तिकै जोखिम त्यस क्षेत्रको झाडीमा लुकेर बस्ने स्यालको पनि रहेको बताउँछन्।

विमानस्थलनजिकैका स्थानीयसमेत रहेका ढकाल भन्छन्, ‘विमानस्थल वरिपरिको नहरको छेउछाउ रातभर स्याल हिँड्छन्। विमानस्थलभित्रै स्याल छन्। पहिला पनि हिँड्थे, अहिले पनि दिनहुँ देखिन्छन्। दिउँसो चराको र राति स्यालको त्रास रहेको उनले बताए।  

‘चमेराको पनि बथानै छ। एकै रुखमा चमेराको बथान बस्छन्। त्यसबाहेक गिद्धका लागि विजयपुर र सेतीमा बगेर आउने सिनो नै आहारा हो। त्यसका लागि पनि चरा आउँछन्,’ ढकालले भने। विमानस्थल निर्माण गरेर सञ्चालनमा ल्याइसक्दा पनि जोखिमलाई कम गर्नका लागि खासै पहल नभएको उनले बताए।  

‘विमानस्थल बनाउन र चलाउन मात्र सरकारी निकायको ध्यान गयो तर जोखिम कम गर्न ध्यान दिइएन। जहाज चरा र स्यालसित ठोक्किने त्रास उत्तिकै छ। खोलामा फोहोर बगेर आएपछि चरा र स्यालको समस्या बढ्ने नै भयो,’ उनले भने, ‘समस्या परेपछि बल्ल बाहिर आउँछ। अहिले स्याल र चराले जोखिम निम्त्याइरहेका छन्। हरेक रात स्याल कराएको सुनिन्छ।’

प्रकाशित: ३ फाल्गुन २०७९ ००:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App