coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साधन, स्रोतको अभावमा पनि क्रियाशील पर्यटक प्रहरी

देशमा विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतहरू मध्येको एउटा क्षेत्र हो– पर्यटन।पर्यटनका लागि गन्तव्य र पर्यटक प्रमुख पक्ष हुन्। ती दुवै पक्ष सुरक्षित छन् भन्ने अनुभूति दिलाउनु सबैभन्दा पहिलो शर्त हो। अर्थात् गन्तव्य र पर्यटक दुवै सुरक्षित छन् भन्ने वातावरण तयार गर्न मुख्य भूमिका निर्वाह गर्ने जिम्मेवारी पर्यटकीय प्रहरीको हो।यसका लागि आवश्यक साधन स्रोतको अभावमा उसले दिने सेवा चुस्त र दुरुस्त हुनै सक्दैन, न त प्रभावकारी तवरले कामकारबाही गर्न सक्छ।

स्रोत, साधनको अभावलाई सम्बोधन गर्न नसक्दा शतप्रतिशत काम गर्न समस्या परिरहेको बताउँदै प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले भने, ‘हाल १५ वटा जिल्लामा विस्तार भएको पर्यटक प्रहरीको कतिपय कार्यालयमा अहिले पनि इन्टरनेट सुविधा र कम्प्युटर जस्ता अतिसामान्य स्रोत साधनसम्म पनि छैनन्। पर्यटकहरूको समस्या र गुनासो सुन्नका लागि केन्द्रीय कार्यलयमै छुट्टै कोठासमेत छैन्। हाम्रो एकाइको न एउटा भवन छ न त प¥र्याप्त साधन ।’ उनी थप्छन्, ‘हामी पर्यटकहरूको समस्या सुन्ने, क्रममा सामान्य तातो पानि वा चिसो पानी अफर गर्नसमेत सक्दैनौं, हामीसँग गुनासो सुन्ने क्रममा सामान्य शिष्टाचार व्यक्त गर्ने वातावरण पनि छैन् ।’

हाल उपलब्ध स्रोत र साधन पर्यटक प्रहरीका लागि पर्याप्त नभएको जनाउँदै प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने ‘हामीले न भवन पायौं, न साधन।यसले गर्दा सूचनाको युगमा प्रविधि उपयोग गर्नबाट समेत बञ्चित हुन बाध्य छौं। जति काम गर्नुपथ्र्यो भन्ने अपेक्षा गरिन्छ त्यति गर्न सकेका छैनौं किनभने अहिले सीमित स्रोत र साधनले असीमित काम गर्नुपरिरहेको छ ।’

हाल पर्यटक प्रहरीको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा रहेको छ।जुन समाज कल्याणको भवन हो।पर्यटन बोर्डले भाडामा लिएको उक्त भवनमा बोर्डको कार्यालय, पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ कार्यालय रहेका छन्। यी सबैको भाडा पर्यटन बोर्डले नै तिर्छ।

पर्याप्त स्रोत र साधनको कमीले गर्दा पर्यटकको सुरक्षा सहजीकरण गर्न अप्ठ्यारो परिरहेको बताउँदै उनले भने ‘सरकारले पर्यटन क्षेत्रको विकास, विस्तार र प्रबद्र्धन गर्ने कुरा गरिरहँदा जति प्राथमिकता पर्यटकको संख्या र भौतिक पूर्वाधारलाई दिँदै आएको छ त्यति पर्यटक प्रहरीको उपस्थिति र महत्वलाई ध्यान दिन सकेको छैन्। यद्यपि पर्यटकलाई सुरक्षित राख्ने हाम्रो अवस्था र प्रयत्नलाई बेवास्ता गर्न मिल्दैन् ।’

पर्यटक प्रहरीको जनशक्ति नेपाल प्रहरीले नियुक्त गर्दछ।यो एकाइ काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मातहतमा छ। यस्तै स्रोत, साधन तथा बजेटको व्यवस्थापन भने पर्यटन बोर्ड अन्तर्गतको पर्यटन विभागले गर्दै आएको छ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले विभागले पर्यटक प्रहरीको स्रोत, साधनको कमीलाई महसुस गरेको बताउँदै भने ‘पर्यटक प्रहरीको कार्यसम्पदनलाई प्रभावकारी बनाउन विभागको क्षमताले भ्याएसम्म बजेट व्यस्थापन गरिरहेकै छ।हामीले पर्यटक प्रहरीको स्रोत, साधनको अभावलाई सम्बोधन गर्न सरकारसँग कुरा गरिरहेका छौं ।’ विभाग आफैसँग बजेटको सीमितता छ, यति हुँदाहुँदै पनि पर्यटक प्रहरीलाई संभव भएसम्मको बजेट उपलब्ध गराउँदै आएको पनि महानिर्देशक लुइँटेलले बताए ।

पर्यटन पुनरुत्थानको लागि सरकारले पर्यटन दशक (२०२३–२०३२) मा ३५ लाख विदेशी पर्यटक मुलुक भित्र्याउने लक्ष्य लिँदै गर्दा संख्यालाई मात्र प्राथमिकतामा राखेको पर्यटक प्रहरीका प्रवक्ता चन्द्रकिशोर साहले बताए।साह भन्छन् ‘नेपाल आएका पर्यटकहरूलाई सुरक्षानुभूति गराउन सकिएन भने कसरी पर्यटकीय गन्तव्यमा पुग्लान, त्यहाँ बस्लान र घुम्लान् ? पर्यटक र गन्तव्यको सुरक्षाका लागि पर्यटक प्रहरीले २४ सैं घण्टा सेवा दिनुपर्ने अवस्था छ तर हामीसँग आधारभूत स्रोत साधनसमेतका अभाव छ।केही अनपेक्षित घटना भइहाले त्यसले कस्तो सन्देश प्रवाह होला भन्नेतर्फ सम्बद्ध सबैपक्षको ध्यान जानु अति जरुरी छ ।’  

प्रत्येक वर्ष पर्यटकीय प्रहरीको उपस्थिति, अत्यावश्यक भौतिक पूर्वाधार, स्रोतसाधन र व्यवस्थापनको विषयमा पटक पटक कुरा उठाइरहँदा पनि सम्बन्धित निकायबाट सम्बोधन हुन नसकेको प्रवक्ता साहले बताए।

उनका अनुसार पर्यटकीय प्रहरीका लागि सवारी साधन अति आवश्यक भौतिक पूर्वाधार हो। हाल पर्यटकीय प्रहरीको भृकुटीमण्डप कार्यालयमा २ र पोखरामा १ गरी जम्मा ३ वटा गाडी छन्।भृकुटीमण्डपस्थित केन्द्रीय कार्यालयमा एउटा सानो मोबाइल भ्यान र कार्यालय प्रयोजनको लागि एउटा गाडी रहेको छ।त्यही सानो मोवाइल भ्यान पनि २० वर्ष पुरानो भइसकेको छ। अर्को गाडी सुरक्षा सेवामा भन्दा पनि कार्यालय प्रयोजनमा बढी प्रयोग हुन्छ।पोखरामा भएको गाडी पनि २ दशकअघि पाकिस्तान सरकारले उपलब्ध गराएको हो ।

काठमाडौं र पोखरामा भएको गाडी निकै पुरानो भएकाले गस्ती गर्नुपर्दा समस्या हुने गरेको बताउँदै प्रवक्ता शाहले भने ‘हामीसँग आजभन्दा २० वर्षअघिको गाडी छ।धेरै पुरानो भएकाले सामान्य उकालोमा पनि स्टार्ट बन्द भइदिन्छ, त्यसको कतिबेला ढोका झर्छ थाहा छैन्, बनाउँदा बनाउँदा हैरान् ।’ गाडी नभएको कारण पैदल गस्ती गर्नुपर्दा तदारुकतासाथ सेवा तथा सुरक्षा उपलब्ध गराउन सहज नभएको उनले बताए।उनी थप्छन्, सरकारले पर्यटकको सुरक्षा संवेदनशीलतालाई प्राथमिकताका साथ हेर्दैन भने पर्यटक पुनरुत्थानका कार्ययोजनाहरू सफल हुन कठिन छ। आफूलाई सुरक्षित महसुस गरेको खण्डमा मात्रै पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ। उनीहरूलाई पुनःआगमनका लागि प्रेरित गर्न सकिन्छ।यसले लक्षित संख्या पूरा गर्न सघाउँछ।यसका लागि भने स्रोत साधन सम्पन्न पर्यटक प्रहरी आवश्यक पर्छ ।

दुर्गम तथा विदेशी पर्यटकहरू धेरै नआएको स्थाहरूमा स्रोत तथा साधनको त्यति आवश्यक नपरे पनि पर्यटकको चहलपहल हुने स्थानमा स्रोत–साधनद्वारा सम्पन्न प्रहरीको आवश्यक पर्दछ।यसैक्रममा लुम्बिनी र चितवनमा पनि गाडीको आवश्यकता रहेको प्रवक्ता साहले बताए।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेकका पाँचै प्रदेशमा पर्यटक प्रहरी एकाइ कार्यालय रहेका छन्।काठमाडौं उपत्यकामा १० र उपत्यका बाहिर १८ गरी कुल २८ पर्यटक प्रहरी एकाइ कार्यालय छन्। जम्मा २ सय ३९ जना पर्यटक प्रहरीको दरबन्दी रहेकामा अहिले २ सय २० प्रहरी जनशक्ति कार्यरत छन् । 

प्रकाशित: २३ माघ २०७९ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App