coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खोटाङको लालुपाते सहकारीमा बचतकर्ताको घेराउ

बचत फिर्ताको माग गर्दै दिक्तेलमा सर्वसाधारणले निकालेको जुलुस। तस्बिरः महेश्वर

गएको सोमबार खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका १ दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय अगाडि ठुलै मानव समूहको घेराउ भयो। सहकारी घेराउपछि सो समूह सरासर जिल्ला प्रशासन कार्यालय, त्यसपछि दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका पुगेर त्यसैगरी घेराउमा उत्रियोका हुन्।  

यसरी घेराउ गर्ने समूह थियो लालुपाते सहकारीमा बचत गर्ते सर्वसाधारणले खाई नखाई बचत गरेको रकम पटक पटक माग्दा पनि सहकारीले नदिएपछि बचत फिर्ताको माग गर्दै स्थानीयवासी विरोधमा उत्रिएका हुन्। सहकारीले संकलित निक्षेप अपचलन गरेर संकटमा फसेर बचतकर्ताले रकम फिर्ता दिन नसक्दा आन्दोलनको सामना गर्नुपरेको हो।  

तत्कालीन अध्यक्ष रहेका अनिल जोशी र व्यवस्थापक रहेकी रुकु जोशीले आफूहरूको लगानी फिर्ता नगरेको भन्दै गत भदौ २९ गते दिरुमझुवागढी नगरपालिकाको न्यायिक समितिमा बचतकर्ताहरूले निवेदन पनि दिएका थिए। सहकारीमा गरेको बचत रकम फिर्ता गरिदिन न्यायिक समितिलाई भदौमा आग्रह गरेकोमा पुस मसान्तसम्म निवेदनउपर कुनै कारबाही नभएपछि नगरपालिका र न्यायिक समितिको ध्यानाकर्षण गराउन पनि प्रदर्शन गरेको बचतकर्ता संघर्ष समितिकी संयोजक पदमकुमारी सैंजुले बताइन्।  

डुबेको रकम फिर्ता गर्न आन्दोलन गर्नुपर्ने ठानेर बचतकर्ताहरुको भेलाले सैँजुको संयोजकत्वमा संघर्ष समिति गठन गरेर समितिकै अगुवाइमा सोमबार नाराजुलस गर्दै सहकारी र नगरपालिका घेराउ गरिएको हो। संयोजक सैँजुले वर्षौँअघिदेखि जम्मा गरेको बचत पटक पटक माग गर्दा फिर्ता नदिएपछि बाध्य भएर प्रदर्शनीमा उत्रिनु परेको बताइन्।  

उनका अनुसार सहकारीले बचतकर्ताको लाखौँ रकमको सावाँ तथा व्याज फिर्ता दिन बाँकी छ। दिक्तेललगायत जिल्लाका ४ हजार ५ सय सर्वसाधारणको बचत तथा शेयर हिस्सा लगानी रहेको सहकारीमा प्रतिव्यक्ति ५ हजारदेखि ४५ लाखसम्म बचत तथा शेयर रहेको समितिको दाबी छ। दैनिक, मासिक र त्रैमासिक रुपमा बचत गरेको रकम सहकारीले तत्काल फिर्ता गर्नुपर्ने माग समितिले गरेको छ।  

२०७२ मंसिर पहिलो सातादेखि सञ्चालनमा आएको सहकारीले वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्ने नारा अघि सारेको थियो। सहकारीले बचत अपचलन गरे नगरेको पुष्टि हुन बाँकी रहे पनि बचतकर्ताको रकम फिर्ता नदिएको रहस्य भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो। कोभिड सङ्क्रमणमा परी जोशीको ०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो।  

उनको निधनपछि ०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ। कारोबार रोकिएपछि आफूहरूले गरेको बचत रकम फिर्ता पाउनुपर्ने माग सर्वसाधारणले गर्दै आएका थिए। तर, डेढवष बितिसक्दासम्म रकम फिर्ता नपाएपछि आन्दोलनमा उत्रिएको समितिले जनाएको छ।  

सहकारीको कारोबार हुँदासम्म ७४ जनाले न्यूनतम ३० हजारदेखि अधिकतम ७५ लाखसम्म ऋण लिएको सहकारीले जनाएको छ। जग्गाबाहेक साँवा व्याजसहित करिब १० करोड ऋण लगानी रहेको तथा बचतकर्तालाई सावाँ व्याजसहित करिब ९ करोड फिर्ता दिनुपर्ने हिसाब देखिएको छ। समग्रमा घाटा नभए पनि अध्यक्ष जोशीको निधनपछि ऋण नउठेर बचत फिर्ता दिन नसक्दा यस्तो समस्या सिर्जना भएको सहकारीले जनाएको छ।  

सहकारीका अनुसार ऋण उठाउन ताकेता गर्दा कतिपय ऋणीले अध्यक्ष जोशीलाई बुझाई सकेको बताएर पन्छिने गरेका छन् भने कत्तिले भाका सार्दै आएका छन्। पटक पटक ताकेता गर्दा ‘अदालत जान’ धम्क्याउने गरेको पनि जनाएको छ। पछिल्लो समय बचतकर्ताले घेराउ र नारा जुलुस गर्न थालेपछि सञ्चालक समितिले ऋण असुलेर फिर्ता गर्ने तयारी थालेको जनाएको छ।

नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक बिसन राईले बचतकर्ताको रकम फिर्ता गर्न सक्दो पहल गरिरहेको बताए। बचतकर्ताहरूले खाईनखाई दुःख गरेर सहकारीलाई विश्वास गरेर बचत गरेको रकम बेलैमा फिर्ता पाउनुपर्ने भए पनि अध्यक्षको निधनपछि ऋण उठ्न नसक्दा समस्या आएको उपप्रमुख राईले बताए। उनका अनुसार सहकारीले धेरैजसो ऋण बिना धितो राखेको पाइएको छ। धितो राखेर दिएको ऋण उठाउन ताकेता गर्दै मालपोत कार्यालयमा रोक्काको प्रक्रियाका लागिसमेत न्यायिक समितिले पत्राचार गर्ने तयारी गरेको उनले बताए।  

‘मैले न्यायिक समितिको संयोजक भएको नाताले सकेसम्म सबै बचतकर्ताको रकम छिट्टै फिर्ता गर्न पहल गरिरहेको छु’ उपमेयर राईले भने ‘त्यसका लागि सहकारी रजिस्ट्रार कार्यालय इटहरीसम्म पुगेर रजिस्ट्रारलाई बोलाएँ, उहाँले सहकारीलाई आवश्यक उपाय सुझाउनु भएको छ।’

प्रकाशित: ११ माघ २०७९ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App