१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

महसुल नतिर्ने ठूला ग्राहकको लाइन काटिने

 रमेश लम्साल
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लिने तर महसुल नतिर्ने ठूला ग्राहकको लाइन अब तत्काल काटिने भएको छ।

महसुल नतिरेको आधारमा साना तथा मझौला ग्राहकको लाइन काट्ने तर ठूला ग्राहकलाई भने कुनै कारबाही नगरेको व्यापक जनगुनासो आएपछि लाइन काट्ने तयारी गरिएको हो।

ऊर्जा मन्त्री जनार्दन शर्माले तीन दिनभित्र महसुल नतिर्ने दश ठूला ग्राहकको लाइन काट्न प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई निर्देशन दिए। मन्त्री शर्माले भने ‘‘कार्यकारी निर्देशकको नेतृत्वमा सम्बन्धित विभागका प्रमुख र प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका प्रतिनिधि सहितको टोलीले महसुल नतिर्ने ग्राहकको लाइन काटियोस । होइन भने किन कारबाही गरिएन भनेर मैले कार्यकारी निर्देशकमाथि प्रश्न उठाउनुपर्ने हुनसक्छ।’’

प्राधिकरणकाअनुसार केही ठूला व्यापारिक घराना, सरकारी निकाय, शक्ति केन्द्र नजिकका व्यक्ति तथा उद्योग व्यवसायले पनि अटेर गरेर महसुल तिरेका छैनन् । मन्त्री शर्माले विधिवत् रुपमा प्रक्रिया मिलाउन समेत प्राधिकरणका अध्यक्ष एवम् ऊर्जा सचिव सुमन शर्मालाई आग्रह गरे।


प्राधिकरणले बर्सेनि कालोसूचीमा रहेका ग्राहकको नामावली सार्वजनिक गर्दै महसुल बुझाउन आग्रह गर्दै आएको छ तर अटेर गरेर बस्नेको सङ्ख्या पनि उत्तिकै रहेको छ । विशेष गरी तराई– मधेसका केही जिल्लामा मिटरबक्स नपाएर पनि उपभोक्ताले विद्युत् चोरी गर्ने गरेको पाइएको छ ।

यस्तै प्राधिकरणले उपभोक्तलाई सहज रुपमा ट्रान्सफर्मर र मिटरबक्स समेत दिन सकेको छैन । जसका कारण उपभोक्ता विद्युत् सुविधा पाउनबाट वञ्चित भएका छन् । मन्त्री शर्माले भने ‘‘ उपभोक्ताले पैसा तिरेर मिटर बक्स राख्छु भन्दा पनि प्राधिकरणले किन नदिएको, ट्रान्सफर्मर खरिदमा किन ध्यान नदिएको हो ? अब यस्तो चल्दैन तत्काल प्रक्रिया सुरु गर्नुस् । गुणस्तरीय ट्रान्सफर्मर र मिटर बक्स ल्याउनुस । विधिमा रहेका काम गर्दा कोही कसैबाट डर मान्नुपर्दैन ।’’

उनले रकमको अभावमा नै अत्यावश्यक सामग्री ल्याउन नसकिएको भए त्यसको जोहो गर्ने जिम्मा आफूलाई दिनसमेत आग्रह गरे। मुलुकभर नेपाल विद्युत् प्राधिकरणको ग्राहक करिब ३० लाख पुगेको छ तर सबै स्थानमा सहज रुपमा विद्युतीय उपकरण पुग्न नसक्दा उपभोक्ताले सेवा पाउन सकेका छैनन् । त्यसो त विद्युत् उपलब्धता कम हुँदा दैनिक १२ घन्टा विद्युत्भार कटौतीको मारमा पर्न बाध्य भएका छन् ।

हाल निजी क्षेत्रले एक हजार ७५ मेगावाट विद्युत् आयोजना निर्माण गरिरहेको छ तर प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडन सकिने अवस्था छैन । एकाध महिनाभित्रै कूल १८५ मेगावाट विद्युत् उत्पादन हुने अवस्थामा रहेपनि प्रसारण लाइन नहुँदा विद्युत् खेर जाने अवस्था छ।

सरकारले भारतबाट विद्युत् आयात गर्ने बताए पनि सव स्टेशन, प्रसारण लाइनको अभावमा समस्या हुने भएको छ । ऊर्जा मन्त्री शर्माले प्राधिकरणका कर्मचारी तथा व्यवस्थापकलाई समय तालिकासहितको कार्ययोजना बनाइ लागू गर्न र त्यसको दैनिक प्रगति प्रतिवेदन समेत उपलब्ध गराउन निर्देशन दिए।

सरकारले ऊर्जा सङ्कटकाल घोषणा गर्ने तर काम कारबाही भने दैनिक रुपमा चलाउने तरिकाले नहुने भन्दै ऊर्जा मन्त्री शर्माले भन्नुभयो सङ्कटकाल भनेपछि काम कारबाही पनि सङ्कटकालीन तवरले नै हुनुपर्छ । आयोजना प्रमुख कार्यस्थलमा हुनुपर्छ, तोकिएको समयमा आयोजना सम्पन्न हुनुपर्छ ।’’

प्राधिकरणका आयोजनाको अवस्था पनि दुरुहपूर्ण नै रहेको छ । कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३२ मेगावाट, माथिल्लो त्रिशूली ‘थ्री ए’ ६० मेगावाट कहिले सकिने हो ठेगान छैन । भूकम्पका कारण समस्यामा परेको माथिल्लो तामाकोसी ४५६ मेगावाटको अवस्था पनि उस्तै रहेको छ । रासस  

 

प्रकाशित: १ भाद्र २०७३ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App