५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सहकारीमा महिलाको सक्रियता बढ्दै

धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत संलन गर्न घरबाट निस्किन सधैं हतारो हुन्छ। बचत संकलनमा हिंड्नुपर्ने उनको दिनचर्या हो।

दैनिक तीन सयभन्दा बढी बचतकर्ताको रकम असुल्नु पर्दा हुने दौडधूपले उनलाई कामको बढी चाप हुन्छ। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कैलालीमा कार्यरत उनले भनिन्, ‘तोकिएको ठाउँठाउँमा पुगेर बचत संकलन गर्नुपर्छ, न्यूनतम पारिश्रमिकका अलावा बचत संकलन गरेबापत कमिसन पनि पाउँछौं।’

धनगढीकै तारा चौधरीले पनि बचतकर्ताको घरसम्मै पुगेर बचत संकलन गरिरहन्छन्। सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्थासँग जोडिएकी उनले भनिन्, ‘बचत संकलनको काममा आफू सहित नौ महिलाले काम पाएका छौं, आफ्नो कामबाट सन्तुष्ट छौं।’

गाउँ टोलमा धमाधम खुलिरहेका सहकारी संस्थाले गरिरहेको बचत संकलनमा धेरै युवती र महिला जोडिएर काम गर्न पाउँदा रोजगार र स्वरोजगारको अवसर सिर्जना भइरहेको छ। प्रायः सबै सहकारीले बचत संकलनको जिम्मेवारी महिलालाई दिने गरेको देखिन्छ। ‘काममा लगनशील र इमानदार हुन्छन् भन्ने बुझाइले बचत संकलनको जिम्मेवारी महिलालाई दिएको हुनसक्छ’, अनिताले थपिन्, ‘यस्तो कामको जिम्मेवारी पाउँदा धेरै महिलाले रोजगारी पनि पाइरहेका छन्।’

बचत संकलन गर्ने महिलाले सम्बन्धित सहकारी संस्थाबाट न्यूनतम् पारिश्रमिकका अलावा संकलित रकमबाट तोकिएको ‘कमिसन’ समेत पाउने गरेका छन्। बचत संकलन गरी बिना झण्झट सहकारीका सदस्यमा ऋण लगानी गरिरहेका सहकारी संस्थाको गतिविधिबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगार र स्वरोजगारका अवसर सिर्जना भइरहेको सहकारी आन्दोलनका अगुवाको अनुभव छ।

महिला समूहमा मानोमुठी संकलन गरेर १९ वर्षअघि स्थापना गरिएको कैलालीको गोदावरी नगरपालिकाको जमुनानगरस्थित सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा तीन हजारभन्दा बढी महिला शेयर सदस्य पुगेका छन्। महिला शेयर सदस्यले गरिरहेको आयमूलक व्यवसायबाट आयआर्जन गर्न उनीहरू सफल छन्। संस्थाका अध्यक्ष भावना खड्काले भनिन्, ‘सहकारीकै गतिविधिको कारण धेरै महिलाको नेतृत्व क्षमताको विकास भएको छ। आयआर्जन गर्न पनि आफैं सक्षम भइरहेका छन्।’

महिला मात्र सदस्य रहेको उक्त संस्थाले दश जना महिलालाई रोजगारी दिएको छ। कृषि, व्यापार व्यवसाय लगायतका क्षेत्रमा ऋण प्रवाह गरिरहेको संस्थाले कारोबारको आधारमा राष्ट्रिय सहकारी बैंकबाट हालै उत्कृष्ट सहकारीको रूपमा पुरस्कार पाएको छ।

महिलाले नेतृत्व गरेको सहकारीका गतिविधि तुलनात्मक रूपमा बढी सफल भइरहेको धेरैको अनुभव छ। उक्त संस्थाकी संस्थापक गौरी चौधरीले महिला काममा लगनशील र मेहनती हुँदा सफलता मिलेको अनुभव सुनाउँछिन्।

‘पहिले श्रीमानसँग पैसाका लागि हात थाप्नुपथ्र्यो, अहिले श्रीमतीसँग श्रीमान्ले, यो सफलता सहकारीमै लागेर भएको हो’, उनले भनिन्, ‘तत्कालीन समयमा महिला विकास शाखाले गाउँ गाउँमा महिला हकहितका लागि गरेको गतिविधिसँगै महिलामा सहकारी सहकारी संस्था खोल्ने प्रेरणा जागेको हो।’

उक्त संस्थामा अहिलेसम्म शेयर पुँजी दुई करोड ६६ लाख २५ हजार रुपैयाँ पुगेको छ। लगानीमा रहिरहेको रकम १९ करोड २५ लाख ३८ हजार रुपैयाँ पुगेको छ। सदस्यको बचत रकम  १२ करोड ७२ लाख तीन हजार रुपैयाँ छ। सहकारीका सदस्यले व्यावसायिक रूपमा कृषितर्फ तरकारी खेती, बंगुर, बाख्रा, भैंसी पालनका साथै खुद्रा व्यापार व्यवसाय, ब्यूटीपार्लर, सिलाइकटाइका काम गरिरहेका छन्।

पहिले निरक्षर भएका महिला सहकारी संस्थाले गरेका गतिविधिसँगै अहिले साक्षर बनेर समाजको नेतृत्वदायी भूमिकामा पुगेको चौधरीको अनुभव छ। दुई दशक अघिसम्म १४/१५ सहकारी संस्था रहेको कैलालीमा हाल छ सयभन्दा बढी पुगेको तथ्यांक छ।

बैंक तथा वित्तीय संस्थावाट खोजेको बेला सहज रूपमा ऋण लगायतको वित्तीय सुविधा प्राप्त गर्न कठिनाइ हुने गरेकोे परिप्रेक्ष्यमा सर्वसाधारण विस्तारै सहकारीतर्फ आकर्षित हुन थालेको बताइएको छ।

संस्थामा संगठित भई आफैंले जम्मा गरेको बचत रकमबाट वार्षिक रूपमा ब्याज रकम पाउने व्यवसाय गर्न सहज रूपमा ऋण प्राप्त हुने र शेयर खरिद गरेबापत लाभांश वितरण हुने गरेको छ।

खासगरी बैंक तथा वित्तीय संस्थाको सहज पहंँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका विपन्न एवं गरिव समुदायका व्यक्ति सहकारी संस्थाबाट बढी लाभान्वित भइरहेको देखिएको छ।

सहकारीको गतिविधिबाट सदस्यले आयआर्जन गरेको देखिएपछि सर्वसाधारण किसान मात्र नभई विस्तारै राजनीतिक नेता कार्यकर्ता पनि सहकारी संस्थामा आकर्षित हुन थालेको पाइन्छ।

नवजीवन सहकारी संस्था लिमिटेड धनगढीका महाप्रबन्धक डम्मरसिंह गुरु ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सहकारीको सिद्धान्त बमोजिम यसमा जनताको अपनत्व र अधिकार समान हुने भएकाले सहकारीप्रति आकर्षण बढेको बताउँछन्। ‘यसले रोजगारीको सिर्जना सँगसँगै गाउँ-गाउँमा नागरिकमा वित्तीय साक्षरता बढाएको छ’, उनले थपे,‘ देशको अर्थतन्त्रमाथि उठाउनमा योगदान दिइरहेको सहकारी आन्दोलनलाई निरन्तर नियमन र अनुगमन गर्न भने जरुरी छ।’

केही ठाउँमा आफैं संस्थापक, आफैं सञ्चालक र आफैं पैसा उठाएर लगानी गर्ने प्रवृत्ति देखिंदा कतिपय सहकारी संस्थामा समस्या उत्पन्न हुने गरेको बताइन्छ। पछिल्ला वर्षमा बैंक तथा वित्तीय संस्था ‘मर्जर’ गर्ने क्रम चलिरहँदा सरकारी संस्थाको संख्या बढाउनुभन्दा एक आपसमा गाभेर (मर्जर) गुणस्तर बढाउन सके सहकारी अन्दोलन थप मजबुत हुनसक्ने सहकारीका अगुवाको भनाइ छ। देशभर खुलेका झण्डै २९ हजार सहकारी संस्थामा झण्डै ६८ लाख शेयर सदस्य रहेको अनुमान छ। रासस

प्रकाशित: २३ पुस २०७९ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App