२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराको प्याराग्लाइडिङः मान्द्रेढुंगामा उडेपछि तीनसय फिट भन्दा माथि जान नपाइने

–मान्द्रेढुंगामा उड्ने, पामेमा अवतरण गर्ने

मान्द्रेढुंगाको आकाशमा उडिरहेको प्याराग्लाइडिङ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सराङकोटको आकाशमा प्याराग्लाइडिङ उड्न रोकिएर मान्द्रेढुंगा सरेको छ। तस्बिर: नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै झन्डै अढाईदशकदेखि सराङकोटको आकाशमा उडिरहेको प्याराग्लाइडिङ हटेर सराङकोट भन्दा पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगामा सर्यो। गत जनवरी १ देखि सराङकोटको आकाशमा प्याराग्लाइडिङ उड्न रोकिएको छ। सराङकोटबाट मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङको अहिले परीक्षण उडान भईरहेको छ।  

यसअघि पनि मान्द्रेढुंगामा प्याराग्लाइडिङ उडान गर्न पाइन्थ्यो। नेपाल नागरिक उड्ययन प्राधिकरणले यसअघि पनि मान्द्रेढुंगाको आकाशमा प्याराग्लाइडिङ उड्न पाउने गरि अनुमति लिएको थियो। तर, मान्द्रेढुंगाको उडान व्यवसायिक हुन सकेको थिएन। पोखरा उपत्यका, फेवाताल र हिमालको दृष्य खासै नदेखिने हुनाले मान्द्रेढुंगाबाट व्यवसायिक उडान हुन सकेको थिएन। केबल सिकारु पाइलटले अभ्यासका लागि र लामो समयसम्म एकल (सोलो) उडान गर्ने पाइलट मान्द्रेढुंगा पुग्दथे।

तर, अब भने त्यही मान्द्रेढुंगाको आकाशमा मात्र प्याराग्लाइडिङ उडाउन पाउने भनेर हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले क्षेत्र तोकिदिएको छ। यसअघि प्याराग्लाइडिङ उडान गर्न पाउने सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा विमानस्थल संचालनमा आएदेखि प्राधिकरणले उडानमा रोक लगाएको छ।  

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार मान्द्रेढुंगाको आकाशको टेकअफ प्वाइन्ट समुन्द्री सतदेखि करिब १७ सय मिटर (५७०८ फिट) मा छ। प्राधिकरणले मान्द्रेढुंगामा ६ हजार फिट भन्दा माथि उड्न नपाउनेगरि उचाइँ तोकिदिएको छ। उडेपछि झन्डै ३ सय फिट माथिसम्म मात्र जान पाइने भण्डारीले बताए।  

मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान क्षेत्रको पामे क्षेत्रमा अवतरण गर्न पाउँछन्। अहिले परीक्षणको क्रममा पनि पामे फाँटमा अवतरण गरिरहेका छन्। भण्डारीका अनुसार मान्द्रेढुंगाबाट उडान भरेपछि टेकअफ प्वाइन्ट भन्दा धेरै नै माथि उड्न नपाउँदा कतिपय दृष्य अवलोकन गर्न सहज छैन। फेवाताल, हिमाल र पोखरा बजार देख्न सकिएपनि सराङकोटबाट जस्तो स्पष्ट नहुने उनले बताए।  

भण्डारीका अनुसार टेकअफ पछि पूर्वतर्फ (तोरिपानी–सराङकोट) र पश्चिम (पञ्चासे) तर्फ ५–५ सय मिटरसम्म मात्र आउजाउ गर्न पाउँछन्। उत्तर (सुइखेत) तिर त ५० मिटरसम्म मात्र जान पाउनेछन। दक्षिणतिर (पामे) भने साढे ४ किलोमिटरसम्म आउन पाउनेछन। ‘बक्स अलि साँघुरो भएको छ,’ उनले भने, ‘यसले केही अप्ठेरो बनाएको छ।’

‘टेकअफ पछि उत्तरतिर जानै पाइदैन। सिधै दक्षिण बढ्ने हो। सराङकोटबाट जस्तो ताल, हिमाल र बजार स्पष्ट देखिँदैन,’ प्याराग्लाइडिङ उडानको लामो अनुभव बटुलेका एकजना पाइलटले भने, ‘उड्न बेलामा हिमाल देखिएपनि त्यसपछि तलतल मात्र उड्ने हो, बढी उचाई लिन पाइँदैन र उत्तरतिर पनि जान पाइदैन। उत्तरतिर जान नपाएपछि हिमाली श्रृंखला देख्न सकिन्न। सराङकोटको जस्तो उडान कुनै पनि हालतमा हुन सक्दैन।’

ती पाइलटका अनुसार मान्द्रेढुंगाबाट उडेपछि सिधै ल्याण्डिङ जोन तिर आउने हो। ‘ल्याण्डिङ जोन केही दक्षिण भएकोले उडान अवधि बढी हुनसक्छ,’ उनले भने, ‘तर, पहिलेजस्तो हिमाल, ताल, पोखरा बजार स्पष्ट देख्न पाइदैन। उड्नासाथ सिधै अघि बढ्ने हो, त्यसपछि अवतरणस्थलतिर आउने हो।’ टाढाबाट हेर्दा मात्र ताल र बजार देखिने भएकोले स्पष्ट नहुने उनले बताए।  

नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार अहिले पामेको फाँटमा अवतरण गराइएको छ। मान्द्रेढुंगामा परीक्षण उडान भईरहेको उनले बताए। उनका अनुसार दुइदिनदेखि मान्द्रेढुंगामा परीक्षण उडान भईरहेको छ। अबका तीनदिनसम्म प्याराग्लाइडिङका पाइलटले अर्काे पाइलटलाई नै उडाएर अभ्यस्त बनाउने तयारी भईरहेको छ। ‘टेण्डम पाइलटले अर्का पाइलटलाई नै उडाएर दिनको २ उडान गर्ने र त्यसपछि बल्ल व्यवसायिक उडानमा जाने हो। पहिला सोलो हुने ठाउँ हो। अब गेष्टलाई उडाउने भएकोले सुरक्षित महसुस गराउनका लागि पनि पाइलटबीच नै अभ्यास गराउन खोजेका हौ,’ उनले भने।  

रावतका अनुसार प्राधिकरणले पहिलो चरणमा एकमहिनाका लागि मात्र हो मान्द्रेढुंगामा उडान गर्नका लागि अनुमति दिएको छ। अहिले टेकअफ गरेपछि ल्याडिङ क्षेत्रसम्म आउन कम्तिमा १५ मिनेट लाग्छ। पहिले भने सराङकोटबाट उडेको ७–८ मिनेटमै खपौदीको अवतरणस्थलमा झर्न सकिन्थ्यो। तर, अब भने अवतरणस्थलमै आउनका लागि केही बढी समय उड्नुपर्ने उनले बताए। तर, उचाई बढी लिन नपाएपछि ताल र हिमाल भने पहिलेजस्तो देख्न नपाइने रावतले बताए।

संस्थाका निवर्तमान अध्यक्ष भण्डारीले मान्द्रेढुंगाको आकाश साँघुरो भएकोले समस्या परेको बताए। ‘मान्द्रेढुंगाको एयरस्पेस साँघुरो हुने भयो। धेरै नै उचाई लिन नपाउने भएपछि खेल्ने ठाउँ साँघुरो हुनेछ,’ उनले भने, ‘साँघुरो क्षेत्रलाई फराकिलो बनाउनका लागि प्राधिकरणसँग अनुरोध गर्नेछौ।’ उनले दुइदिनदेखि मान्द्रेढुंगाको आकाशमा भईरहेको प्याराग्लाइडिङको परीक्षण उडान भईरहेको बताए।  

उनले व्यवसायिक उडानका लागि परीक्षण गरिरहेको बताए। त्यसबाहेक प्याराग्लाइडिङका सबै पाइलट र कम्पनिलाई एकैठाउँ राखेर मान्द्रेढुंगाको आकाशबारे जनाउ दिने तयारी पनि भएको छ। ‘सबैका लागि नयाँ क्षेत्र भएकोले ब्रिफिङ गर्ने हो। नयाँ क्षेत्रमा उडान अनुभव गराउने हो। पूर्वाधार र आउजाउका हिसाबले टाढा भएपनि पोखराको आकाशमा प्याराग्लाइडिङ रहिरहन सकेको छ,’ उनले भने, ‘नयाँ ठाउँबारे जानकारी दिएर प्रवद्र्धन गनुपर्छ।’ 

प्रकाशित: २२ पुस २०७९ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App