४ वैशाख २०८१ मंगलबार
अर्थ

भैंसीपालनबाट मनग्य आम्दानी

तनहुँको म्याग्दे गाउँपालिका-४ का कृषक समीक्षा श्रेष्ठले भैंसीपालनबाट मनग्य आम्दानी गरेकी छिन्।

‘विदेश गएर पसीना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ’, उनले भनिन्, ‘विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीं मनग्य आम्दानी हुन्छ।’

बैंकबाट ऋण काढेर भैंसीपालन सुरु गरेकी किसान श्रेष्ठले भैंसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताइन्। असिम भैसी फार्मका सञ्चालक उनले मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएकी छिन्।

उनले आठ रोपनी जग्गा भाडामा लिएर भैंसी पालिरहेकी छिन्। प्रति भैसी दुई लाख ५० हजार रुपैयाँका दरले छ  भैंसी खरिद गरेर व्यवसाय सुरु गरेकी उनले भनिन्,‘विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ।’

आखिर जहाँ गए पनि श्रम गर्नुपर्ने जनाउँदै उनले देशमै केही गरौं भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताइन्। ‘स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैसीपालन अगाडि बढाएको छु,’ उनले भनिन्। उनको भैंसी फार्ममा अहिले १३ वटा भैसी छन्।

भैंसीका लागि आवश्यक घाँसका लागि उनले जग्गा भाडामा लिएकी छिन्। उनका अनुसार हालसम्म करिब ३० लाख रुपैयाँ लगानी भएको छ। भैंसी फार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ। दूध विक्रीका लागि बजारको समस्या नरहेको किसान श्रेष्ठ बताउँछिन्।

‘दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,’उनी भन्छिन्, ‘स्थानीय थर्पु बजार तथा आसपासमा दूध विक्री भइरहेको छ।’

बजार सानो भए पनि दूध विक्रीका लागि समस्या नहुँदा खुशी लागेको उनले बताइन्।

मासिक ५० हजार रुपैयाँ बचतले घरपरिवार राम्रोसँग चलेको श्रेष्ठ बताउँछिन्। ‘सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ कमाउँछु। यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ,’ उनले भनिन्, ‘व्यवसाय विस्तार गर्ने सोच बनाएको छु।’

उनले हालसम्म कुनै पनि संघसंस्थाबाट अनुदान लिएकी छैन। ‘म्याग्दे गाउँपालिकाले हालै मात्र पशुपालन गरिरहेका कृषकलाई लक्षित गरी सूचना जारी गरेको थियो, अनुदान उपलब्ध गराउने भन्नेबारे सूचना प्रकाशित भएपछि गाउँपालिकामा निवेदन दिएको छु,’ उनले भनिन्, ‘अनुदानबापत प्राप्त हुने रकम भैसीपालनमै खर्चिन्छु।’

पशुपालनका लागि स्थानीय सरकारले देखाएको चासोले थप प्रोत्साहन जागेको भन्दै किसान श्रेष्ठले यस्ता कार्यक्रमले व्यवसायमा टिकिराख्न सहयोग पुग्ने उल्लेख गरिन्।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवाहरू विदेश नगई स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए। ‘युवाहरू उत्पादनमा जोडिनुपर्छ, व्यवसाय प्रवर्द्धनका लागि पालिका सहयोग गर्न तयार छ,’ उनले भने।

अनुदान दिंदै गाउँपालिका

म्याग्दे गाउँपालिकाले कृषकलाई पशुपालनतर्फ लाग्न प्रोत्साहन गर्न अनुदानको नीति अवलम्बन गरेको छ। पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदान वितरणको नीति अगाडि सारेको हो।

गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालु आर्थिक वर्षमा बोका वितरणका लागि तीन लाख ५० हजार रुपैयाँ, च्यापकटर वितरणका लागि एक लाख रुपैयाँ, गोठ खोर निर्माणका लागि चार लाख रुपैयाँ, लोकल कुखुरा वितरणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जनाए।

‘व्यावसायिक रूपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति गाउँसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ,’ उनले भने, ‘अनुदान लिन चाहने कृषकसँग निवेदन मागेका छौ।’ उनका अनुसार कृषकहरूले गाउँपालिकामा निवेदन दिएकामा निवेदन दिएका कृषकहरूको फार्म अनुगमन सुरु गरिएको छ।

नवदुर्गा कृषि फर्मका सञ्चालक युवराज शाहीले बैंकबाट ऋण लिएर व्यवसाय गरे पनि बजारको व्यवस्थापन नभएको गुनासो गरे। ‘व्यावसायिक रूपमा पशुपालन गरिरहेका कृषकले अनुदान पाइरहेका छैनन्, यसतर्फ पालिकाले ध्यान दिनुपर्छ,’ उनले भने।

व्यावसायिक रूपमा पशुपालन गरिरहेका कृषक पहिचान गरी अनुदान उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। ‘अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचानका लागि फर्म अनुगमन सुरु गरेका छौ,’ श्रेष्ठले भने।

कृषकलाई सहज

तनहुँको बन्दीपुर गाउँपालिकाको ग्रामीण वडामा पशुसेवा सम्पर्क कार्यालय स्थापना गरिएको छ। ग्रामीण भेगका जनतालाई नजिकबाटै पशुसम्बन्धी सेवा दिने उद्देश्य सहित गाउँपालिकाले वडा नम्बर ६ को धरमपानीमा सम्पर्क कार्यालय स्थापना गरेको हो।

तत्कालीन पशु सेवा कार्यालयको अधिकृत बस्ने सेवा केन्द्रलाई पशु सेवा केन्द्रको रूपमा स्थापना गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख मधु न्यौपानेले बताए। तीन-चार वर्षदेखि खाली रहेको उक्त भवन गाउँपालिकाले पुनः प्रयोगमा ल्याएको उनले बताए।

गाउँमै पशु सेवा शाखा स्थापनापछि कृषकलाई सहज भएको छ। यसले गर्दा पशुवस्तु बिरामी पर्दा उपचारका लागि बन्दीपुर बजारसम्म ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ। सम्पर्क कार्यालयमा एकजना प्राविधिक राखिएको छ। कृषिको पनि सँगै कार्यालय खोलेर प्राविधिक राख्ने तयारी भइरहेको छ। ‘गाउँमा पशु शाखा नहुँदा पशुवस्तु बिरामी हुँदा उपचारका लागि कृषक घण्टौ यात्रा गरेर बन्दीपुर आउनुपर्थ्यो,सम्पर्क कार्यालय खुलेपछि गाउँमै पशुवस्तुको उपचार सुरु भइसकेको छ,’ उनले भने।

गाउँपालिकामा पशुपालन गर्ने कृषक बढेसँगै नयाँ बाख्रा पकेट क्षेत्र समेत विस्तार भएको छ। वडा नम्बर १ र २ मा बाख्रा पकेट क्षेत्र लागु भएको छ। चालु आर्थिक वर्षमा वडा नम्बर ६ मा बाख्रा पकेट कार्यक्रम विस्तार गरिने न्यौपानेले बताए। त्यसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

‘भौगोलिक रूपमा पिछडिएको धरमपानीमा बाख्रा र तरकारीको हब बनाउने लक्ष्य छ,’ उनले भने। ‘पशुपालन र तरकारीबाट कृषकलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको सोच हो।’

स्थानीय कृषक मिन गुरुङले गाउँमै पशु सेवाको सम्पर्क कार्यालय खुलेपछि कृषकलाई सहज भएको बताए। ‘एकदुई घण्टा लगाएर पशुवस्तुको उपचार गर्न जानुपर्दा समस्या थियो, अहिले गाउँमै कृषकले सहज रूपमा सेवा पाएका छन्,’ उनले भने।

गाउँपालिकाले वडा नम्बर १, ५ र ६ मा पशु प्राविधिक राखेर सेवा दिइरहेको छ। अब वडा नम्बर २ र ३ मा पनि प्राविधिक राख्ने तयारी भइरहेको जनाइएको छ। रासस

प्रकाशित: १३ पुस २०७९ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App