७ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योगीले गरे आन्दोलन स्थगित, सरकारसँग वार्ता थाल्ने

एक सातादेखि आन्दोलनरत मोरङका उद्योगी व्यवसायीले मंगलबार देखि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन्।

आन्दोलित उद्योगी व्यवसायीलाई नयाँ बनेको सरकारले वार्ताका लागि बोलाएपछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका हुन्।

अर्थमन्त्री विष्णु पौडेलले सोमबार आन्दोलनरत उद्योगी व्यवसायीलाई वार्ताका लागि बोलाए आन्दोलन हाललाई स्थगित गरिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए। हामीले उठाएका मागप्रति सरकार सकारात्मक भएको देखाएर वार्ताका लागि बोलाएपछि माग सम्बोधन गर्ने आश देखिएको उनले बताए।

नवनियुक्त सरकारले हामी देशभरका सम्पूर्ण उद्योगी व्यवसायीले उठाएका माग सम्बोधन हुने आशा साथ वार्ताका लागि गएको बताउँदै, अध्यक्ष नवीन रिजालले भने, ‘यस पटक पनि विगतको जस्तै भ्रम वा माग सम्बोधन नभए पुनः सडक सङ्घर्षमा फर्किने छौं। पुनः सडक आन्दोलन गर्नु परे विगतको भन्दा फरक ढङ्गबाट आन्दोलन हुनेछ।’ 

उद्योगी व्यवसायीले उठाएका मागहरूलाई सरकारले गम्भीरताका साथ लिएर सम्बोधन नगरे वार कि पार हुने गरी निर्णायक आन्दोलन गर्ने अध्यक्ष रिजालले बताए।

अर्थमन्त्रीसँगको वार्ताका लागि मंगलबार उद्योगी व्यवसायीको प्रतिनिधि मण्डल काठमाडौं जाने उनले जानकारी दिए। वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट ६ जना, भैरहवा, बुटवल, नेपालगन्ज र काठमाडौं उद्योग वाणिज्य संघका प्रतिनिधि पनि सहभागी हुने रिजालले बताए।

पुस ७ गतेदेखि नेपाल राष्ट्र बैङ्कको विराटनगरमा रहेको प्रादेशिक कार्यालयको गेटमा कर्मचारीसमेतलाई प्रवेश निषेध गरेर धर्नामा बसेर बैङ्कको चर्को ब्याज दरका विरुद्ध आन्दोलन गर्दै आएका थिए।

बैङ्कको व्याज दर एकल अङ्कमा झार्नु पर्ने, चालु पुँजी कर्जाको नीति संशोधन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा गरेका थिए। पुराना माग यथावत् राख्दै निजी बैङ्कहरूलाई सरकारीकरण गर्नुपर्ने र राष्ट्र बैंकका गभर्नरले राजीनामा दिनुपर्ने नयाँ माग थप गरिएको थियो। 

प्रकाशित: १२ पुस २०७९ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App