१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

नारायणी नदीमा सिग्नेचर पुल

सिग्नेचर पुलको सांकेतिक तस्बिर।

नारायण नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ। हाल सञ्चालनमा रहेको नारायणी नदीको पुलबाट केही मास्तिर नयाँ पुल निर्माण गर्न लागिएको हो। सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘एसियन हाइवे’ को रूपमा स्तरोन्नति गर्न थालेसँगै नदीकोमा पनि थप दुई लेनको पुल विस्तार गर्न लागेको हो।

अहिले नारायणी नदीमा भएको पुल २०३८ सालमा निर्माण गरिएको पुल हो। यो पुल अहिले जीर्ण बन्दै गइरहेको छ। धार्मिकस्थल देवघाट नजिकै पुल निर्माण गर्न लागिएको हो। जहाँ अत्याधुनिक र कलात्मक शैलीको पुल निर्माण गर्न खोजिएको छ।  

२०७५ सालमा विश्व बैंकले नेपालका विभिन्न चार स्थानमा सिग्नेचर पुल निर्माण गर्न चार अर्ब लगानी गर्ने सम्झौता गरेको थियो। सोही समझदारी अनुसार नारायणीमा बन्ने पुल भने पहिलो सिग्नेचर पुल हो। सडक विभाग मातहतको पुल महाशाखाका अनुसार अहिलेसम्म नेपालमा विभिन्न ठाउँमा सिग्नेचर पुल निर्माण भइसकेका छन्।  

मुग्लिनको त्रिशुली नदी र काठमाडौंको बिजुलीबजारस्थित पुल पनि सिग्नेचर पुल हुन्। सिग्नेचर पुल अन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सन लगायतका संरचना पर्छन्। महाशाखाका अनुसार बुटवलको तिनाउ नदीमा, सर्लाही र रौतहट जोड्ने बाग्मती नदीमा र दमौलीस्थित नदीमा पनि सिग्नेचर पुल निर्माण गर्ने बताइएको छ।  

सडक विभाग मातहतको पुल महाशाखाले गत कात्तिक २ गते चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माणको लागि बोलपत्र (टेण्डर ) आह्वान ग¥यो। ३० दिनको म्याद राखेर आह्वान गरिएको बोलपत्रमा कुनै पनि निर्माण कम्पनीले प्रतिस्पर्धा नै गरेनन्।  

महाशाखाले फेरि मंसिर २० गते सोही सिग्नेचर पुलका लागि १५ दिने म्याद राखेर पुनः टेण्डर आह्वान गर्‍यो। दोस्रो पटक गरेको टेण्डर आह्वानमा भने दुई वटा निर्माण कम्पनीले मात्रै सहभागिता जनाएका छन्। सडक विभागका उपमहानिर्देशक विन्दुकुमार श्रेष्ठले दोस्रो पटक आह्वान गरिएको टेण्डरमा दुई वटा कम्पनी मात्रै सहभागि भएको बताए। ‘नारायणीको सिग्नेचर पुल निर्माणका लागि आह्वान गरिएको पहिलो टेण्डरमा कुनै पनि निर्माण कम्पनी सहभागी भएनन्,’ उनले भने ‘दोस्रो पटक पुन आह्वान गरिएको टेण्डरमा भने दुई निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका छन्।’ महाशाखाका अनुसार बुधबार खोलिएको टेण्डरमा टुँडी कन्स्ट्रक्सन कम्पनी र अनक कन्स्ट्रक्सन कम्पनीले प्रतिस्पर्धा गरेका छन्।  

उपमहानिर्देशक श्रेष्ठले दुई महिनाभित्रै सिग्नेचर पुल निर्माण गर्ने कम्पनी टुंगो लाग्ने दाबी गरे। ‘अहिले हामीले दुबै कम्पनीका प्राविधिक र आर्थिक मूल्याकंन गरिरहेका छौं,’ उनले भने, ‘संभवतः दुई महिनाभित्रै निर्माण कम्पनी टुंगो लाग्नेछ।’ महाशाखाले स्वदेशी कम्पनीले मात्रै प्राप्त गर्ने गरी टेण्डर आह्वान गरेको थियो तर नेपाली इन्जिनियर तथा निर्माण व्यवसायीसँग खासै सिग्नेचर पुल निर्माणको अनुभव भने छैन।  

महाशाखाका अनुसार नारायणी नदीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तथा निर्माण निर्माण कम्पनी आफैंले गर्नुपर्नेछ। यो पुल ४२५ मिटर लम्बाइ र ११ मिटर चौडाइ हुनेछ। उपमहानिर्देशक श्रेष्ठले चार थरिका सिग्नेचर पुलमध्ये कुनै एक सिग्नेचर पुल तयार हुने बताए। ‘टेण्डरमा छनोट हुने कम्पनीले सिग्नेचर पुलको डिजाइन तयार पारेर बुझाउने छन्,’ उनले भने ‘निर्माण कम्पनीले बुझाएको डिजाइन महाशाखाले स्वीकृत गरेपछि मात्रै निर्माणको काम अघि बढ्नेछ।’ महाशाखाले यो पुल निर्माणको लागि ४२ महिना लाग्ने अनुमान गरेको छ । यो पुल निर्माणका लागि डेढ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। 

प्रकाशित: १० पुस २०७९ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App