८ वैशाख २०८१ शनिबार
अर्थ

कतार जान स्वीकृति लिने घटे: सरकार रेमिट्यान्सको हिसाब गर्छ, प्रोत्साहन गर्दैन

वैदेशिक रोजगार विभागका अनुसार साउन यता कतार जान स्वीकृति लिने नेपालीको संख्या पहिलेको तुलनामा घटेको छ।  

गत साउनमा १२ हजार ५ सय ६८ जना नेपाली कामदारले कतार जान स्वीकृति लिएका थिए। त्यस्तै भदौमा ११ हजार र असोजमा ९ हजार जनाले स्वीकृति लिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए। भुसाल भन्छन्, ‘कतार संकटका कारण श्रम स्वीकृति लिने कामदारको संख्या घटेको हुन सक्छ।’

खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क विच्छेद गरेको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीसामु आउन सक्ने संकटबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासलाई सरकारले एक महिनाअघि नै निर्देशन दिएको थियो।

यसैगरी कतारका कम्पनीहरूबाट कामदारका लागि आउने माग घटेपछि वैदेशिक रोजगारीका लागि नेपालबाट कतार जानेको संख्या घट्न थालेको छ। अन्य गन्तव्य मुलुकमा जाने नेपालीहरूको लर्को भने अझै बढ्दै गएको उनले बताए। उनले भने, ‘वैदेशिक रोजगारीका लागि अन्य देशमा जानेको संख्या भन्दा कतार जानेको संख्या कम रहेको छ।’

दूतावासले नियमित रूपमा मन्त्रालयलाई कतार संकटबारे अवगत गराइरहेको परराष्ट्र मन्त्रालयमा खाडी मामिला हेर्ने सहसचिव तीर्थराज वाग्लेले बताए। उनका अनुसार अहिलेसम्म कतारमा नेपालीलाई कुनै समस्या आएको छैन।

वाग्ले भन्छन्, ‘कतारमा चार लाखभन्दा बढी नेपाली छन्। उनीहरूलाई कुनै मानवीय संकट आइपर्न सक्छ। त्यसैले यसबारे हामीले त्यहाँका राजदूतलाई नियमित जानकारी गराउन र सतर्क रहन भनेका छौं। खाडीस्थित सबै दूतावाससँग हामी सम्पर्कमा छौं।’

गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत गरी कतारमा १ लाख ८४ हजार ९ सय २६ जना श्रम स्वीकृति लिएर गएको विभागको तथ्यांकले बताउँछ। जसमध्ये १ लाख ७७ हजार ७ सय ८८ जना पुरुष र ७ हजार १ सय ३८ जना महिला रहेको विभागको तथ्यांकमा पाइएको छ।  

खाडी देशले कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा गरेपछि त्यहाँ समस्या हुन सक्छ। त्यसले गर्दा मानवीय संकट उन्पन्न हुन सक्ने भएकाले सचेत रहन परराष्ट्र मन्त्रालयले दूतावासलाई भनेको छ। कतारले भारत, पाकिस्तान, टर्की र इरानलगायतका मुलुकबाट खाद्यान्न लगायत वस्तु आयात गरिरहेको छ।  

भुसाल भन्छन्, कतारमा महिनौसम्म नाकाबान्दी भए त्यसको प्रत्यक्ष असर त्यहाँको अर्थतन्त्रमा पर्छ र त्यहाँ रहेका नेपालीहरू पनि प्रभावित हुन सक्छन् ।महिनौंसम्म कतारमा नाकाबन्दी भए त्यसले अर्थतन्त्रमा पनि समस्या पर्न गएको खण्डमा त्यसको प्रत्यक्ष असर नेपालीलाई पनि पर्ने भूसालले बताए 

वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरू साउदी अरेबिया, कुवेत, युएई, इजिप्ट, बहराइन र यमनमा ठूलो संख्यामा छन्। कतारमा सन् २०२२ मा भइरहेको फिफा वल्र्डकपका लागि रंगशाला निर्माणलगायत पूर्वाधारका परियोजना निर्माणमा नेपाली धेरै रहेको उनले बताए। कतार खाडी क्षेत्रमा सानो तर समृद्ध मुलुक मानिन्छ।

रेमिट्यान्स खोज्ने, प्रोत्साहन नगर्ने

कतारमा काम गर्ने नेपाली कामदारहरू रेमिट्यान्स जति पठाए पनि सरकारले आफूहरूलाई कुनै प्रोत्साहन नगरेको बताउँछन्। ‘हामी व्यवसायीहरूले आम्दानीको नाफा पनि नेपालमै पठाउनुपर्छ। कतारमा व्यवसाय गर्ने निराजन थापाले भने, ‘धेरै रेमिट्यान्स पठाउने मुलुकमध्ये कतार पनि एक हो तर नेपाल आएपिच्छे श्रम स्वीकृति लिनुपर्ने झन्झटले निराश पारेको छ।’

थापाका अनुसार हामीकहाँ झन्झट पनि अनेक खालका छन्, हामी व्यवसायीले पटक पटक विमानस्थलमा कामदारसँगै लामो लाइनमा बस्नुपर्छ। जबकि त्यो प्रक्रिया पहिले नै टुङ्ग्याइसकेका छौं। व्यवसायी थापा भन्छन्, कतारमा काम गरेर आफ्नै मुलुकमा रेमिट्यान्स पठाउँदा पनि सरकारले प्रोत्साहन गर्ने नाम नै नलिएको उनको गुनासो छ।  

यही कारण कतार बस्ने नेपाली व्यवसायी घुम्नका लागि विभिन्न मुलुक जान्छन्। नेपाल आउने इच्छा हुँदाहुँदै पनि झन्झटिलो प्रक्रियाका कारण आउन चाहना मारेर बस्न बाध्य हुन्छन्। विश्वको कुनै पनि मुलुकमा जाँदा यस्तो समस्या भोग्नुपर्दैन, आफ्नै मुलुकमा भने अनेक कठिनाइ सामना गर्नुपरेकोे अनुभव थापाको छ। सरकारले नेपालमा लाखौँ पर्यटक भित्र्याउने योजना राखेको छ। व्यवसायीलाई प्रोत्साहन गर्ने हो भने नेपाली व्यवसायीले नै कतारलगायतका मुलुकबाट पर्यटक भित्र्याउन सहयोग गर्न सक्छ। घुम्नका लागि आउने मानिसका लागि होस् वा सभा–सम्मेलनका लागि किन नहोस् ।  

कतारमा वर्षौंदेखि व्यवसाय गर्दै आएका नेपालीहरू कैयौं छन्। उनीहरूले नेपालबाट लगानी लगेर व्यवसाय चलाएका छैनन्। कामदारका रूपमा कतार पुगेका नेपालीले त्यहाँ दुःख गरेर कमाउँदै व्यावसायिक सफलता हासिल गरेका हुन्छन् ।

प्रकाशित: २७ मंसिर २०७९ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App