coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्राधिकरणले भन्योः प्याराग्लाइडिङका सबै कम्पनिलाई सराङकोटमा ठाउँ पुग्दैन

पोखराको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक

झन्डै अढाईदशक अघिदेखि पोखराको आकाशमा उडान थालेको प्याराग्लाइडिङका अहिले ६० कम्पनि छन्। ती सबै कम्पनिले अहिले पोखरालाई आधार बनाएर सराङकोट क्षेत्रको आकाशमा उडान गर्छन। केहीले पोखरा बाहिरका पर्यटकीय क्षेत्रमा पनि व्यवसायिक उडान थालेका छन्।  

पोखरामा अगामि जनवरी एकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामि जनवरी एकदेखि उडान थाल्ने गरि केहीदिन अघि नै विमानस्थलको यान्त्रीक परीक्षण (क्यालिब्रेसन उडान) पनि गरिसकेको छ। क्यालिब्रेसन उडानको रिपोर्ट आएपछि व्यवसायिक उडानको परीक्षण हुनेछ। त्यसपछि उडान थाल्ने प्राधिकरणले बताएको छ।  

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा उडान हुँदै आएको प्याराग्लाइडिङको भविश्य के हुने भन्नेमा अझै अनिश्चित छ। पोखराकै आकाशमा प्याराग्लाइडिङ उडान रहिरहने वा  विस्थापित हुने भन्ने यकिन भइसकेको छैन। तर, प्राधिकरणले केही गरि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान रहिरहेको खण्डमा सबै ६० वटा कम्पनिले एकैपटक उडान गर्न नपाउने बताएको छ।  

अन्तर्राष्ट्रिय विमानस्थलको नियमित संचालन समयबाट केही अवधि छुट्याएर प्याराग्लाइडिङ उडानका लागि छुट्याउन सक्ने अवस्थामा सबै ६० वटा कम्पनिले अहिलेजस्तो मनलाग्दी उडान गर्न नसक्ने प्राधिकरणले बताएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै कम्पनिलाई अहिलेजस्तो उडान गर्न दिन सकिने अवस्था नरहने बताए।

‘प्याराग्लाइडिङ उडानका लागि सिमित समय उपलब्ध भईहालेको खण्डमा सबै कम्पनिले एकैपटक उडान गर्न सक्दैनन, त्यसले भद्रगोल हुनेछ,’ अधिकारीले भने, ‘सबै कम्पनिका उडान गर्दा आकाशमा ठाउँ हुँदैन। त्यसैले केही कम्पनिले अन्यत्र जानुपर्ने हुन्छ।’

प्राधिकरणका अनुसार यसैपनि पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ अहिलेकै अवस्थामा रहने वा नरहने भन्ने यकिन भएको छैन। पोखरेली व्यवसायीले प्याराग्लाइडिङलाई पोखराकै आकाशमा टिकाइरहनुपर्छ भन्ने माग गरेपछि प्राधिकरणले फ्लाइट प्रोस्युडर डिजाइन फेरेर भएपनि बचाउने प्रयास थालेको थियो। प्राधिकरणका अनुसार अहिलेसम्मको फ्लाइट प्रोस्युडर डिजाइनमा विमानस्थलमा पूर्वबाट अवतरण गर्ने जहाजले ‘एप्रोच’ गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा फेवातालमाथिको आकाशमा पुगेपछि जहाजले सराङकोटलाई बायाँ पार्दै दायाँ मोडिनेगरि डिजाइन गरिएको थियो। त्यसले गर्दा सराङकोटको आकाशको प्याराग्लाइडिङ हट्नैपर्ने बाध्यकारी हुन्थ्यो।  

तर, पोखराको व्यापक गुनासोपछि जहाजले सराङकोटलाई दायाँ छाडेर बायाँतर्फ मोडेर फ्लाइट प्रोस्युडर डिजाइन बनाउन सकिनेबारे अध्ययन भइरहेको छ। यदी पछिल्लो फ्लाइट प्रोस्युडर डिजाइन पास भएमा ‘मिसएप्रोच’ भएको जहाज फेवातालमाथिबाट बायाँ (पुम्दिभुम्दी)तर्फ मोडिनेछ। त्यस्तो अवस्थामा सराङकोटको आकाशमाा हुने प्याराग्लाइडिङ उडान सुरक्षित रहनसक्ने प्राधिकरणको भनाई छ।  

महानिर्देशक अधिकारीले प्याराग्लाइडिङ पोखरामै रहिरहे पनि अहिलेको जस्तो बिहादेखि दिउँसो अबेरसम्म मनलाग्दी तरिकाले उडान सम्भव नहुने भएकाले सबै कम्पनि अट्न नसक्ने बताए। ‘केही निश्चित समय प्याराग्लाइडिङका लागि उपलब्ध हुनेछ। त्यो समयभित्र सबै कम्पनिले उडान गर्न सक्दैनन, अहिलेजस्तो भद्रगोल तरिकाले उडान सम्भव हुँदैन,’ उनले भने, ‘सबै कम्पनि सराङकोट क्षेत्रमा नअटेपछि अन्यत्र जानुपर्ने हुन्छ। अन्यत्र जानेबारे बेलैमा कम्पनिले सोच्नुपर्ने हुन्छ’

प्राधिकरणले निश्चित एउटा क्षेत्रमा सिमित समयका लागि मात्र प्याराग्लाइडिङ उड्न पाउने सम्भावना रहेकोले त्यो अवधिमा सबैका लागि ठाउँ अपुग हुने उनले बताए। ‘कुनैपनि हालतमा ६० वटा कम्पनिले एकै ठाउँ उडान गर्न सक्दैनन, केही कम्पनि बाहिर जानुपर्ने हुन्छ,’ उनले भने।

 उनका अनुसार अहिलेसम्म पनि पोखराको आकाशमा प्याराग्लाइडिङ रहने वा नरहने भन्ने यकिन भइसकेको छैन। रहि हालेको खण्डमा पनि सबै कम्पनिले एकैपटक उडान गर्न पाउने छैनन्। ‘अध्ययनको बिस्तृत विवरण आइसकेको त छैन, तर, सबै कम्पनिका लागि समय र ठाउँ भने नपुग्ने पक्का छ,’ महानिर्देशक अधिकारीले भने।  

अहिले पोखराको आकाशमा सराङकोटबाट प्याराग्लाइडिङको नियमित उडान हुन्छ। सराङकोट नजिकैको तोरीपानी र मान्द्रेढुंगाबाट पनि प्याराग्लाइडिङको व्यवासायिक उडान हुन्छ। तिनै ठाउँबाट उडेको प्याराग्लाइडिङ फेवातालको माथिल्लो क्षेत्रको फाँटमा अवतरण गर्छन। सिजनमा एकैदिन पाँचसय हाराहारीमा प्याराग्लाइडिङ उडान हुन्छ बिहान १० बजेदेखि सुरु हुने उडान दिउँसो चार बजेसम्म पनि रहिरन्छ। यो अवधिमा उडान हुँदा एकैजना पाइटले पनि दिनमा ४/५ वटा उडान गर्न भ्याउँछन्। अहिले पोखराको आकाशमा व्यवसायिक उडान गर्ने प्याराग्लाइडिङ पाइलटको संख्या करिब दुइसय ५० रहेको छ।

नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतले पनि सबै कम्पनिलाई पोखराको आकाशमा ठाउँ अभाव हुने भनेर प्राधिकरणले जानकारी दिएको बताए। ‘६० कम्पनि पोखराको आकाशमा एकैपटक अट्दैनन। तोकिएको छोटो समयमा सबै कम्पनिले उडान गर्न सक्दैनन भनेर प्राधिकरणले भनिसकेको छ,’ रावतले भने, ‘अहिलेसम्म कम्पनिले आफु अनुकुल उडान गरेका छ। तर, अब भने प्राधिकरणले तोकिदिएको छोटो समयमा सबैका लागि  ठाउँ पुग्दैन। त्यसैले विकल्प सोच्नुपर्ने प्राधिकरणले भनेको छ।’

एकैपटक उडान  गर्दा आकाश साँघुरो हुने भएकोले कम्पनि मर्जमा जानुपर्ने वा आलोपालो प्रणालिमा उडान गर्नुपर्ने बाध्यकारी हुन सक्ने उनले बताए। ‘कि त कम्पनि मर्ज गर्नुप¥यो। नत्र आलोपालो गरेर उडान हुनसक्छ। अहिलेको जस्तो जसले जतिबेला मन लाग्यो, उतिबेला उड्न पाउने अवस्था रहन्न,’ उनले भने। अहिले सराङकोट, तोरिपानी र मान्द्रेढुंगाबाट मात्र उडान भईरहेकोमा प्राधिकरणले दिएको छोटो समयभित्र उडान भ्याउन असम्भव रहेको उनले बताए।

प्रकाशित: २१ मंसिर २०७९ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App