७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सहरीका आयोजना कर्मचारी भर्ती केन्द्र

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागबाट सञ्चालित अस्थायी प्रकतिका आयोजनाहरू करार कर्मचारी भर्ती केन्द्र बनेका छन्। त्यस्ता आयोजनाहरूमा कार्यरत अधिकांश कर्मचारी सम्बन्धित क्षेत्रका विज्ञ नभई कम्प्युटर अपरेटर, कार्यालय सहयोगी तथा हल्का सवारी चालक मात्र हुने गरेका छन्। ती आयोजनाहरूमा करिब २०० करार कर्मचारी कार्यरत छन्।

मन्त्रालय मातहतको नयाँ सहर आयोजनाले देशभर २७ ठाउँमा ‘नयाँ सहर’, १० ठाउँमा ‘हिमाली सहर’ तथा १७ ठाउँमा ‘स्मार्ट सिटी’को अवधारणासहित काम गरिरहेको छ। त्यसैले यस आयोजनामा वास्तु विज्ञ, सहरी योजनाकार तथा सम्बन्धित क्षेत्रका विज्ञको दरबन्दी हुनुपर्ने अथवा त्यस्ता कर्मचारीलाई मात्र करारमा राख्नुपर्ने भए पनि कम्प्युटर अपरेटरलगायतलाई मात्र करारमा लिने गरिएको छ। आयोजनाका लागि भनेर काठमाडौंमा कम्प्युटर अपरेटर ६ जना, कार्यालय सहयोगी तीनजना, हल्का सवारी चालक तीनजना तथा इन्जिनियर पाँचजना करारमा कार्यरत छन्। यस आयोजनाका प्रमुख रहेका सहसचिव एकराज अधिकारी स्वयं सो कार्यालय भर्ती केन्द्रजस्तै बनेको स्वीकार गर्छन्। उनी भन्छन्, ‘हाम्रो कार्यालय भर्ती केन्द्रजस्तो भएको छ। चाहिने कर्मचारी छैनन्, नचाहिने कर्मचारी भर्ती गरिएका छन्।’

सहरी विकास मन्त्रालयमातहतमा नेपाल–भारत सीमा एकीकृत जाँच चौकी विकास आयोजनाको कार्यालय काठमाडौंमा छैन। यस आयोजनाले विराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवामा सहरी क्षेत्र विकासको काम गरिरहेको छ। तर केन्द्रका लागि भनेर कम्प्युटर अपरेटर दुईजना, हल्का सवारीचालक एकजना र कार्यालय सहयोगी एकजना काठमाडौंमा रही करारमा कार्यरत छन्। भवन विभागमातहतमा सहरी योजना तथा विकास केन्द्र अस्थायी प्रकृतिको कार्यक्रम हो। यसको पनि छुट्टै कार्यालय छैन। तर यस आयोजनाका लागि भनेर काठमाडौंमा कम्प्युटर अपरेटर दुईजना, हल्का सवारीचालक एकजना र कार्यालय सहयोगी एकजना करारमा कार्यरत छन्। यस आयोजनालाई सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक नारायण भण्डारीले हेर्ने गरेका छन्। करार कर्मचारीहरूले सोही महाशाखाबाट तलब बुझ्ने गर्छन्।

यसैगरी सुरक्षित आवास आयोजना पनि भवन विभागबाटै सञ्चालित अस्थायी प्रकृतिको कार्यक्रम हो। तर यसका लागि भनेर काठमाडौंमा कम्प्युटर अपरेटर दुईजना, हल्का सवारी चालक एकजना तथा कार्यालय सहयोगी एकजना करारमा कार्यरत छन्। यस आयोजनालाई भवन विभागअन्तर्गत आवास महाशाखाका प्रमुख प्रकृण तुलाधरले हेर्ने गरेका छन्।  

यसैगरी एकीकृत सहरी तथा पूर्वाधार योजनाका लागि भनेर कम्प्युटर अपरेटर ६ जना, हल्का सवारी चालक दुईजना र कार्यालय सहयोगी चारजना करारमा कार्यरत छन्। यो पनि सहरी विकास तथा भवन निर्माण विभागमातहत सञ्चालित अस्थायी कार्र्यक्रम हो।

यसैगरी भवन निर्माण संहिता तथा सरकारी भवन निर्माण आयोजनामा कम्प्युरट अपरेटर पाँचजना, इन्जिनियर ६ जना, हल्का सवारी चालक तीनजना र कार्यालय सहयोगी दुईजना करारमा कार्यरत छन्। यस आयोजनालाई दिलीप शेखर श्रेष्ठले हेर्ने गरेका छन्। यसैगरी बन्चरेडाँडा काठमाडौं उपत्यका फोहोरमैला व्यवस्थापन आयोजनामा कम्प्युरट अपरेटर दुईजना, समाजिक परिचालक एकजना, हल्का सवारी चालक एकजना, कार्यालय सहयोगी दुईजना तथा समाजशास्त्री एकजना करारमा कार्यरत छन्।

यसैगरी सहरी क्षेत्र करिडोर आयोजनामा इन्जिनियर एकजना, कम्प्युरट अपरेटर दुईजना, कार्यालय सहयोगी एकजना तथा हल्का सवारी चालक दुईजना कार्यरत छन्। यसैगरी विशेष भवन निर्माण आयोजनामा कम्प्युटर अपरेटर चारजना, हल्का सवारी चालक दुईजना, सबइन्जिनियर तीनजना, हल्का सवारी चालक तीनजना तथा कार्यालय सहयोगी तीनजना करारमा कार्यरत छन्। यसैगरी नेपाल सहरी शासकीय क्षमता तथा पूर्वाधार आयोजनामा कम्प्युटर अपरेटर ६ जना, इन्जिनियर तीनजना, हल्का सवारी चालक तीनजना तथा कार्यालय सहयोगी चारजना करारमा कार्यरत छन्। यस आयोजनाको प्रशासन समूहमा एक सिट पनि नायब सुब्बासरहको दरबन्दी छैन।

सहरी विकास मन्त्रालयका निमित्त सचिव पदम मैनालीले आवश्यकताअनुसार मन्त्रालयमातहतका योजनाहरूमा करार कर्मचारी राखिएको प्रतिक्रिया दिए। उनले भने, ‘हामीले अर्थ मन्त्रालयबाट स्वीकृति लिएरै कर्मचारी राखेका हौं।’ तर उनको भनाइलाई विभागकै अर्का एक सहसचिवले भने अस्वीकार गरे। उनले भने, ‘हामीले आवश्यकताका आधारमा नभई पहुँचका भरमा कर्मचारी राखेका हौं, पहुँचकै आधारमा पद सिर्जना गरेका हौं।’

२०७९ भदौ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहरी विकास मन्त्रालयमातहत सञ्चालित योजनाहरूमा अस्थायी दरबन्दी सिर्जना गरेको थियो। मन्त्रिपरिषद्ले हरेक वर्ष यसरी नै अस्थायी दरबन्दी सिर्जना गर्ने गर्छ। त्यसरी सिर्जना गरिएका अस्थायी दरबन्दीमा मन्त्री र सचिवका मान्छेहरू भर्ना गर्ने गरिएको भवन विभागका एक उच्च कर्मचारी बताउँछन्। उनका अनुसार म्याद सकिएका करारका कर्मचारीहरूलाई गत साउनदेखि हाजिरी गर्न दिइएको थिएन। हाजिरी गर्न नपाएपछि अधिकांश कर्मचारी साउन र भदौमा कार्यालय नै गएनन्। तर पहुँचका भरमा उनीहरूले साउनदेखिकै तलब बुझेका छन्। भवन विभाग स्रोतका अनुसार करारमा कार्यरत कर्मचारीहरूलाई साउनदेखिकै तलब दिनेगरी हाजिरी रजिस्टरसमेत परिवर्तन गरिएको छ। ‘पुरानो रजिस्टर हटाएर नयाँ राखिएको छ,’ स्रोतले भन्यो। अधिकांश करारका कर्मचारीहरूलाई एक वर्षको करारमा नियुक्ति दिइएको स्रोतको भनाइ छ। विभागकै स्रोतका अनुसार करार र ज्यालादारी गरी भवन विभागमा मात्रै करिब ६०० कर्मचारी कार्यरत छन्।

प्रकाशित: १८ मंसिर २०७९ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App