१६ चैत्र २०८० शुक्रबार
अर्थ

‘ब्रान्ड’ बन्यो घण्टी र चस्मा

घण्टी अब चुनाव चिह्न मात्र रहेन व्यवसायीले यसलाई ‘ब्राण्ड’ बनाएर आर्थिक लाभ लिन थालेका छन्।

भर्खरै सम्पन्न निर्वाचनमा घण्टी चुनाव चिह्नको लोकप्रियता चुलिएको थियो। व्यवसायीहरूले यहीं अवसर देखेर सौन्दर्य प्रसाधनका सामग्रीहरूमा त्यसैलाई ब्राण्ड बनाइ बजारमा बिक्री गर्न थालेका छन्।

व्यापारी सलिना गुरुङले चुनावताका लोकप्रिय भएको घण्टीलाई ब्रान्ड बनाएर महिला र पुरुषले पहिरने टिसर्ट र शृङ्गारका सामानहरूमा राखेर बिक्री गर्न थालेको बताइन्।

उनले भनिन्, ‘अहिले हाम्रो पसलसम्म घन्टी ‘ब्रान्ड’का कुनै पनि सामान आइपुगेका छैनन् तर विभिन्न अनलाइनमा भने देखिन थालेका छन्। विशेष गरी महिलाले कानमा लागाउने झुम्का, लिपस्टिक, आइलाइनर, गाजलजस्ता शृङ्गार सामग्रीमा घण्टी ब्राण्ड देखिन थालेका छन्।

चुनाव सुरु भएदेखि नै टिकटक र फेसबुकमा घण्टी ब्राण्डका सामग्री देखिन थालेका हुन्। घण्टीको लोकप्रियता बढ्दै गएपछि सामाजिक सञ्जालमा भाइरल हुन कै लागि पनि घण्टी ब्राण्डका सामान प्रयोग गरी भिडियो अपलोड गर्न थालिएको थियो।

यसैगरी स्थानीय निकायको निर्वाचन ताका काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेका बालेन साहले लगाएको चस्मा अहिले ब्राण्ड बनेको छ। अहिले बजारमा ‘बालेन ब्राण्ड’को चस्मा छ्यापछ्याप्ती पाइन थालेको छ। खिचापोखरीमा चस्मा पसल गर्ने सुनिल बिष्ट भन्छन्, ‘दैनिक ३–४ वटा बालेन चस्मा बिक्री भइरहेका छन् ।’ उनका अनुसार चस्मा किन्न आउने मानिस पसलमा पस्ने बित्तिकै सोध्छन्, त्यो बालेन चस्मा चाहिँ हेरौंन, किनौं कि भन्ने लागेर आएको।’

काठमाडौं खिचापोखरीकै अर्का चस्मा व्यापारी सोमन राईका अनुसार जसले सम्भावना, आशा र भरोसा देखाउन सक्छ, स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सक्छ त्यस्ता मानिसले जे चिह्न राख्छन् त्यो ब्राण्ड बन्दो रहेछ। बालेन चस्मा पनि त्यही भएको हो।

अहिले बालेन चस्माको मूल्य ठाउँअनुसार फरक फरक छ। यसलाई काठमाडौंमा मात्र होइन नेपालका सबै शहरका चस्मा व्यापारीले बजारको अवस्था हेरी मूल्य तोक्ने गरेको पाइएको छ।

सोमन राई भन्छन्, ‘देशका अन्य जुनसुकै सहर हुन् वा स–साना पसल किन नहोउन्, विशेष गरी युवा वर्गको ध्यान ‘बालेन ब्राण्ड’ले आकर्षित गरेको छ।

प्रकाशित: १६ मंसिर २०७९ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App