गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ।
संघको एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको संघका अध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए।
निर्वाचन समितिमा चिरञ्जीवी ढकाल (यूके), टीबी कार्की (कतार), नरेन्द्र भाट (कतार), होमनाथ पाण्डे (अष्ट्रेलिया), सुरेन्द्र श्रेष्ठ (यूके) र भरत अर्याल (अमेरिका) रहेका छन्।
बैठकले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमा नयाँ सदस्यता लिन चाहने तथा नवीकरण गर्न चाहनेका लागि डिसेम्बर ९ देखि जनवरी ९ सम्म एमआरएस (मेम्बर रजिस्ट्रेशन सिस्टम) मार्फत सदस्यता खुला गर्ने निर्णय गरेको छ। सदस्यता वितरणसम्बन्धी कार्यविधि तयार गर्न गौरीराज जोशी र बीआर लामालाई जिम्मेवारी दिइएको स्टेरिङ कमिटीका सदस्य रतन झाले जानकारी दिए।
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशनको मिति भने स्टेरिङ कमिटीको आगामी बैठकले तय गर्ने अध्यक्ष डा. बद्री केसीले बताए। स्टेरिङ कमिटीको बैठक हरेक हप्ता बस्ने बताइएको छ।
प्रकाशित: २२ मंसिर २०८२ १३:३३ सोमबार





