१० माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

सर्मिलालाई हङकङ 'मेडल अफ अनर'

हङकङ— सामुदायिक सेवामा योगदान गरेको भन्दै हङकङ सरकारले डा. सर्मिला गुरुङलाई 'मेडल अफ अनर' ले सम्मान गरेको छ। हङकङ चीनमा एकीकृत भएको १७ औँ वर्षगाँठको अवसरमा मंगलबार गुरुङ सहित सरकारले अर्का नेपाली दीप थापालाई 'चीफ एक्जिक्युटिभ' अवार्डले सम्मान गरेको हो।'सार्वजनिक र सामुदायिक सेवामा समर्पित भएकोमा, खासगरी अल्पसंख्यक समुदायमा योगदान गरेकोमा डा. गुरुङलाई मेडल अफ अनरले सम्मान गरिएको छ', मंगलबार प्रकाशित सरकारी गाजेटमा भनिएको छ।

गुरुङलाई 'मेडल अफ अनर' तथा थापालाई 'चीफ एक्जिक्युटिभ' अवार्ड सहित दुई सय ८३ जनालाई सम्मान गरिएको छ । हङकङ सरकारले एकै पटक दुई नेपालीलाई अवार्ड दिएको पहिलो हो । हङकङ चीनमा एकीकृत भएको दिन जुलाई १ मा घोषणा गरिएको अवार्ड चीनको 'नेशनल डे' अक्टोबर १ मा कार्यकारी प्रमुखले प्रदान गर्ने चलन छ ।

हङकङस्थित युनाइटेड क्रिश्चियन नेदरसोल कम्युनिटि हेल्थ सर्भिसको दक्षिण एसियाली समुदायको स्वास्थ्य सुधार परियोजनामा संलग्न गुरुङलाई यहाँका नेपाली महिलाले स्वास्थ्य सहयोगीका रुपमा लिन्छन् । यसअघि हङकङ महिला आयोगको सदस्य रहेकी गुरुङ हङकङमा प्रतिष्ठित 'मेडल अफ अनर' पाउने पहिलो नेपाली महिला हुन् । पाँच वर्षअघि उनले 'चीफ एक्जिक्युटिभ' अवार्ड पाएकी थिइन ।

'नसोचेको अवार्ड पाउँदा आश्चर्य लाग्यो', सरकारले मंगलबार बिहान आयोजना गरेको एकीकरण दिवस समारोहबाट फर्केकी गुरुङले भनिन्, 'मेरो कामको लागि हङकङ सरकारले सम्मान गरेकोमा निकै खुसी छु तर अझै धेरै गर्नु छ।' हङकङमा जन्मेर नेपालमा अध्ययन गरेकी गुरुङले रुसबाट एमविविएस, युनिभर्सिटि अफ हङकङबाट पब्लिक हेल्थमा मास्टर्स तथा चाइनिज युनिभर्सिटि अफ हङकङबाट हेल्थकेयरमा एमबीए गरेकी छन् ।

'चीफ एक्जिक्युटिभ' अवार्डबाट सम्मानित दीप थापा हङकङ नेपाली महासंघका अध्यक्ष हुन् । धरानका थापा पछिल्लो समय हङकङमा सामुदायिक सेवामा बढी सक्रिय छन्। हङकङका सार्वजनिक स्थलमा बस्दै आएका दुव्र्यसनी नेपाली युवालाई गतवर्ष पुनस्र्थापना गर्न पहल गरेकोमा उनको प्रशंसा भएको थियो।

प्रकाशित: १७ असार २०७१ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App