लन्डन—गायक प्रमोद खरेलसँगै हास्य कलाकार किरण केसी (ए राता मकै) एवम् मुखाँ हान्नुजस्तो (शिवहरि पौडेल) को समूहले बेलायतमा प्रस्तुति दिएको छ। नेपाली नयाँ वर्ष मनाउने सिलसिलामा दुई हप्ता अघि बेलायत उत्रिएका उनीहरुको समूहले नेपाली समुदायको बाक्लो उपस्थिति रहेको अल्डशट, आशफोर्ड बेजिङस्टक र फेलथममा सांगीतिक साँझ प्रस्तुत गरेको थियो।
बेलायत बसाइको अन्तिम कार्यक्रम हिजो आइतवार फेलथममा उनीहरुको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो। कार्यक्रममा हास्य कलाकार किरण केसीले आफ्नो पुरानै शैलीमा प्यारोडी गीत, मुक्तक र जोक्स सुनाएका थिए।डिएसआइ इन्टरटेनमेन्टले आयोजना गरेको नेपाली सांगीतिक साँझमा आफ्नो कला देखाउन आएको सो जोडीसँगै गायक प्रमोद खेरेलले जमेर आफ्नो प्रस्तुति दिए। नेपाली सांगीतिक क्षेत्रका परिचित गायक खरेलले आफ्नो नयाँ गीत 'म बाँचेकै तिम्रो लागि हो.....' कर्णप्रिय गीत 'म बिना कसै कसैलाई मुस्किल छ पोखरामा' लगायतका गीत दर्शकसमक्ष प्रस्तुत गरे।
पछिल्लो समय युवापुस्ताको रोजाइका गायक बन्न सफल खरेलले बेलायतमा रहेका दर्शकले आफूलाई सधै साथ दिएको प्रतिक्रिया नागरिकन्युजलाई दिए। रेकर्डिङ, मेला र महोत्सवलगायत कारणले ब्यस्त रहने खरेलले लामो समय विदेशमा बस्न नसकिने बताए। केही समयको ग्यापपछि बेलायतीमा रहेका दर्शकका लागि नयाँ प्रस्तुती लिएर उपस्थित हुने उनले बचन दिए। खरेलले सांगीतिक कार्यक्रमकै शिलशिलामा आगामी जुलाई महिलादेखि अमेरिका र क्यानाडाका लागि तीन महिने टुर सुरु हुने जानकारी दिए।
कार्यक्रममा हास्य कलाकारद्वय शिवहरि पौडेल र किरण केसीको बोर्डर नामक प्रहशनले दर्शकलाई मनोरञ्जन दिएको थियो। कलाकारद्वयले नेपाल भारत बोर्डरमा भारतीय पक्षले नेपालीलाई दिने गरेको दुःख र नेपालको तर्फबाट हुने लार्पवाहीमाथि व्याङ्ग्य प्रहार गरेका थिए। कलाकारहरुले एक वर्षअघि गएको विनासकारी भूकम्प र त्यसपछि आइरहेका पटक पटकका पराकम्पनका कारण प्रभावित भएका सर्वसाधारणको राहतको लागि अहिलेसम्म पनि लागि परेको बताए। कलाकार शिवहरि पौडेलले बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र आफ्नो सकृयतामा ५० भन्दा बढी भूकम्पबाट भत्किएका विद्यालय पुननिर्माण गर्ने घोषणा गरे।
कलाकारहरुले २९ अप्रिल, १, ७ र ८ मेमा आसफोर्ड, अल्डरसट र फेल्थममा सांगीतिक साँझ प्रस्तुत गरेका थिए । कलाकारलाई बेलायतसम्म ल्याइपु¥याउने डिएसआइ इन्टरटेनमेनका इन्द्र गुरुङले कलाकारको पछिल्लो चारवटा शो व्यवसायिक रुपमा पूर्ण रुपमा सफल भएको बताए ।
प्रकाशित: २७ वैशाख २०७३ ०४:२१ सोमबार





