२२ पुस २०८२ मंगलबार
image/svg+xml
प्रवास

नेजा अध्यक्षमा लुइँटेलकाे उम्मेदवारी

वाशिंगटन डिसी -अमेरिकास्थित नेपाली सञ्चारकर्मीहरुकाे संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) काे अध्यक्ष पदमा पत्रकार गुणराज लुइँटेलले उम्मेदवारी घाेषणा गरेका छन्। लस एन्जेलसमा मे ७ र ८ तारिखमा हुने नेजाको महाधिवेसनले नयाँ नेतृत्व चयन गर्दैछ। 

 

विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसर पारेर एक विज्ञप्ति जारी गर्दै लुइँटेलले उम्मेदवारी घाेषणा गरेका हुन्।

नेजामा स्थापना कालदेखि नै सक्रिय उनी मुलधारकाे नेपाली पत्रकारितामा स्थापित व्यक्तित्व हुन्। नेजालाई पश्चिमीशैलीकाे पत्रकारितासँग घुलमिल गराई नेपाल र नेपाली पत्रकारितालाई अमेरिकी पत्रकारिताको मूलप्रवाहमा परिचित गराउन, विविध कारणले नेजा बाहिर रहेका सबैलाई समेटेर उदार भावनाले एकतात्मक वातावरण सिर्जना गर्न्न आफुले उम्मेदवारी दिएकाे उनले बताएका छन्।

'नेजा सदस्यता र संगठनलाई चुस्तदुरुस्त पार्न, नेपालमा भएका पत्रकार र नेपाली पत्रकारितासँग अझ गाढा साइनो जोड्न, नेजाको कोष सुदृढ गर्न, नेजालाई आम सञ्चारको अन्तरराष्ट्रिय गैर सरकारी अभियानमा सामेल गराउनेे मेराे प्रतिबद्धता छ', उनले भनेका छन्।

योग्य साथीहरुलाई सम्मान प्रदान गर्न, नेजा संस्थापनाका आधारभूत मान्यतालाई फेरि एक पटक पुनर्ताजगी दिन एवं अघिल्ला कार्यसमितिहरुले गरेका राम्रा कामकाे निरन्तरताका लागि आफूले उम्मेदवारी दिन लागेको उनले जनाएका छन्।

विगत २९ वर्षदेखि व्यवसायिक पत्रकारिता एवं लेखन पेशामा संलग्न रहँँदै आएका उनी अहिले स्वतन्त्र पत्रकारको रुपमा निरन्तर सञ्चार, भाषा र साहित्यको विकासमा सक्रिय छन्।

२०४४ सालदेखि दैनिक समाजबाट पत्रकारितामा प्रवेश गरेका उनीसँग एभरेष्ट मासिक, पिपुल्स रिभ्यू अंग्रेजी साप्ताहिक, संरचना साप्ताहिक, प्रजातन्त्र साप्ताहिक, द कमनर अंग्रेजी दैनिक, विमर्श साप्ताहिक, कान्तिपुर दैनिक, लोकपत्र दैनिक, छानवीन साप्ताहिक, रेडियो नेपालमा काम गरेकाे अनुभव छ। यसैगरी स्पन्धन मासिक, सगरमाथा टेलिभिजन (अमेरिका), नेपाली पोष्ट इपत्रिका, नेपाल २४ आवोर्स, ग्लोब नेपाल, इनेप्लिज, डिसी नेपाल इपत्रिका लगायतका मिडियासँग सम्बन्धित भएर उनले काम गरेका छन्।

जीवनकाे सबैभन्दा बढी समय रिपोर्टिङ, सम्पादन, स्तम्भ लेखन तथा साहित्य लेखनमा सक्रिय उनी नेतृत्वमा नरहँदा पनि नेजाकाे बृहत्त्तर विकासमा उत्तिकै क्रियाशील छन्। पत्रकारहरुको साझा संस्थालाई दह्रो बनाएर लैजान तन, मन र धन लगाएर पूर्ण समय दिन चाहेको उनले उल्लेख गरेका छन्।

लुइँटेल २०४६ सालमा नेपाल पत्रकार महासंघको साधारण सदस्य तथा २०४७ मा केन्दीय परिषद सदस्य, २०५१ मा नेपाल श्रमजीवी पत्रकार संघको संस्थापक महासचिव ,अमेरिका नेपाल पत्रकार संघको संस्थापक कोषाध्यक्ष, जर्नलिस्ट अगेन्स्ट एड्स इन नेपालकाे अध्यक्ष रही काम गरिसकेका छन् l

अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका लुइँटेल अमेरिकी सरकारको फेडरल डिपार्टमेण्ट होमल्याण्ड सेक्युरिटीमा सूचना तथा प्रविधि विशेषज्ञको रुपमा कार्यरत छन् l

लुइँटेलले नेपालकाे त्रिभुवन विश्व विद्यालयबाट पत्रकारितामा स्नातक, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा बिएलसम्मको अध्ययन गरेका छन्। अमेरिकाको कार्नेगी मेलन विश्व विद्यालयबाट (सीएमयु) बाट सूचना प्रबिधिमा प्रमाणीकरण पाठ्यक्रममा औपचारिक शिक्षा पूरा गरेका छन्।

नेजा अध्यक्ष पदका लागि यसअघि तारा बराल र भाेला आचार्यले उम्मेदवारी घाेषणा गरेका छन्। मुलधारकाे पत्रकारितामा स्थमपित व्यक्तित्व लुइँटेलकाे उम्मेद्बारीले अमेरिकाामा रहेका नेपाली सञ्चारकर्मीमा नयाँ तरंग सिर्जना गरेकाे छ। उनकाे उम्मेद्बारीसँगसँगै नेजाकाे नेतृत्व चयन प्रक्रिया राेचक हुने देखिएकाे छ।

प्रकाशित: २१ वैशाख २०७३ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App