लण्डन-गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपियन क्षेत्रको ९ औं बैठक डेनमार्क हुने भएको छ । युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई ३० र ३१ मा गरिन लागिएको एनआरएनए यूरोप संयोजक कुल आचार्यले जानकारी दिए।
कोपनहेगनको हिल्टन होटलमा आयोजना हुने बैठकमा नेपालको पुर्ननिमार्ण, लगानी तथा आर्थिक कूटनीति क्षेत्रमा भएका प्रगतिबारेमा छलफल केन्द्रित रहने संयोजक आचार्यले बताए । गैरआवासीय नेपाली सँघ डेनमार्कको विहीवार सम्पन्न बैठक सो सम्मेलनको मिति र स्थानका बारेमा टुग्गों लगाएको हो ।
गैरआवासीय नेपाली संघले उठाउदै आएका मुद्दामा भएका प्रगति प्रतिवेदन बैठकमा पेस गरिने छ, संयोजक आचार्यले नागरिक न्युजसंग भने, यो नियमित बैठक हो त्यसैले नयाँ र ठूला परियोजना घोषणा गर्ने कुनै योजना छैन ।’
नेपालको नयाँ संविधानले गैरआवासीय नेपालीको दोहोरो नागकिताको माग सम्बोधन गरिसकेको अवस्था र देशको विकसित परिस्थितिमा विदेशमा बस्ने नेपालीको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा समेत बैठकमा छलफल हुनेछ अपेक्षा गरिएको छ ।
‘गैरआवासीय नेपाली संघले सुरु गरेको सामूहिक लागानीको प्रगति समीक्षा गर्दै अगामी दिनमा नेपालमा थप लगानीका सम्भवनाका विषयमा बैठक केन्द्रित हुनेछौं, संयोजक आचार्यले भने, ‘युरोप क्षेत्रमा बस्ने नेपालीले भोगेका समस्या एकै ठाउँमा बसेर सामूहिक रुपमा छलफल गर्नेछौं ।’ आचार्यले सो बैठकका प्रस्तुत गरिने अजेन्डाको बिस्तृत विवरण पछि ल्याइने जानकारी दिए ।
बैठकमा यूरोपस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिले आ–आफ्ना देशको प्रगति प्रतिवेदन पेश गर्ने छन् ।
बैठकमा नेपालको पुर्ननिमार्ण, थप लगानी, नेपाली नागरिकका लागि सुरक्षित प्रवास, युरोप क्षेत्रमा गैरआवासीय नेपालीका समस्यालगायतका एजेन्डामाथि छलफल हुने बताइएको छ ।
सोही अवसर पारेर सातांै क्षेत्रीय महिला सम्मेलनसमेत आयोजना गरिने भएको छ । सम्मेलनमा युरोप क्षेत्रमा नेपाली महिलाले भोगेका समस्यका बारेमा छलफल गरिने गैरआवासीय नेपाली सँघकी महिला संयोजक सपिला राजभण्डारी बताइन् ।
गैरआवासीय नेपाली संघले हरेक बर्षमा क्षेत्रीय बैठक गर्दै आएको छ । बैठकले संघको नीति निर्माण तर्जुमा गरी केन्द्रीय महाअधिवेशनका लागि प्रस्ताव तय गर्नुका साथै सुझाव पेश गर्छ ।
पछिल्लो समयमा संघले क्षेत्रीय सम्मेलन धेरै खर्चिलो तर उपलब्धि कम हुने गरेको भन्ने आलोचना खेप्दै आएको छ ।
गैरआवासीय नेपाली संघको विधानमा क्षेत्रीय संयोजकको अवधारणा आएपछि हरेक वर्ष यूरोप क्षेत्रमा गठन भएको राष्ट्रिय समितिको संयुक्त बैठक वार्षिक रुपमा बस्दै आएको छ । यस्ता बैठकमध्ये पहिलो क्षेत्रीय बैठक सन् २००७ को जुलाईमा लण्डनमा र त्यसपछि सन् २००८ मा बेल्जियम, सन् २००९ मा पोर्चुगलमा सन् २०१० मा फ्रान्स, सन् २०११ मा रुसमा, सन् २०१३ मा स्वीजरल्याण्ड र सन् २०१४ मा स्पेनमा सम्पन्न भएको थियो ।
प्रकाशित: ४ चैत्र २०७२ १०:३४ बिहीबार





