मणि दाहाल, काठमाडौं, माघ १५ - फिनिस नागरिकको स्वास्थ्य राम्रो भए नेपालीको साक्षरता बढ्छ। कसरी?
एकजना फिनिसले तीन महिनामा आफ्नो तौल एक किलो घटाए नेपालको साक्षरता वृद्धिका लागि बनेको कोषमा १५ युरो थपिनेछ। नाम खुलाउन नचाहने एक फिनिस नागरिकले ल्याएको यो अभियानलाई फिनल्यान्ड सरकारले संयोजन गरिरहेको छ। अभियानको नामै छ- साक्षरताको लागि तौल घटाऊ।
ती दानी फिनिस नागरिकले नेपालको साक्षरता अभियानका लागि करोडौं रुपैयाँ खर्च गर्दैछन्। तर, उनले यो रकम एकैपटक नेपाल सरकारलाई दिने होइनन्। एकजना फिनिसले एक किलो तौल घटाए बल्ल उनले १५ युरो कोषमा जम्मा गर्नेछन्। उनले आफूले गर्ने खर्चको सीमा एक करोड युरो अर्थात १ अर्ब ४० लाख नेपाली रुपैयाँ बनाएका छन्। अर्थात उनले भनेजति रकम नेपालको साक्षरतामा खर्च गर्न यो अभियानमा सहभागी सबै फिनिस नागरिकले गरेर ६ लाख किलो वजन कम गर्नुपर्नेछ।
फिनल्यान्डको स्वास्थ्य तथा समाज कल्याण मन्त्रालयअन्तर्गत नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयरले यो अभियानको संयोजन गरिरहेको हो। वेलफेयरको वेबसाइटमा बुधबार राखिएको जानकारीअनुसार ती नागरिकबाट जम्मा भएको रकम नेपाली बालबालिकाको अध्ययन र शिक्षकको तालिमका लागि खर्च गरिने छ। साक्षरता अभियानको अनुगमन फिनिस विदेश मन्त्रालयले गर्ने समाचार एजेन्सी एएफपीले जनाएको छ।
सन् २०१० जनवरी १ (पुस १७ गते) देखि सुरु यो अभियानमा सहभागी हुने फिनिसले फ्रेबुअरी मसान्त (फागुन १६) सम्ममा इभान्जेनिकल लुथरन समुदायले चलाएको गिर्जाघरमा नाम दर्ता गराउनु पर्ने छ। अभियानमा दर्ता भएका फिनिस नागरिकहरूले मे मसान्त (२०६७ जेठ १७) सम्म घटाएको तौलका आधारमा ती व्यक्तिले नेपाललाई रकम दिनेछन्। फिनल्यान्डका ७९.७ प्रतिशत नागरिक यो गिर्जाघरका सदस्य छन्। करिब ४३ लाख सदस्य रहेको यो गिर्जाघर विश्वको ठूलो लुथरन गिर्जाघर मध्ये एक हो।
'मैले थाहा पाएसम्म यो प्रयास अन्तर्राष्ट्रिय रूपमा अनौठो हो, स्वास्थ्य र विकासलाई यसले रोमाञ्चक ढंगले समन्वय गरेको छ,' वेलफेयरका महानिर्देशक प्राध्यापक पेक्क पुस्काले भनेका छन्, 'यो फिनिस नागरिकका लागि आफ्नो स्वास्थ्य बनाएर नेपाली बालबालिकालाई सघाउने अवसर पनि हो।'
नेपाल विश्वकै साक्षरतादर कम भएको मुलकमध्ये हो। ६३ प्रतिशत साक्षर भएको हाम्रो देशमा ५ वर्ष उमेर पुगेका ८६ प्रतिशत बालबालिकामात्रै विद्यालय भर्ना हुन्छ। तीमध्ये १२ देखि १३ प्रतिशतले एक वर्षभित्रै पढाइ छाड्छन्। प्राथमिक विद्यालयसम्म पुग्दा आधाले विद्यालय छाडिसक्छन्।
यो अभियान सुरु भएको पहिलो सातै हजारौं फिनिसले साथ दिने प्रतिवद्धता जनाइसकेका छन्। सो अभियानका लागि खोलिएको फेसबुक एकाउन्टमा ४ हजार ५ सय सदस्य भइसकेका छन्।
कार्यक्रमका लागि महत्वपूर्ण भूमिका खेलेका पादरी अर्तो अन्तुरीलाई वेबसाइटले उद्धृत गरेको छ, 'यो अभियान हामीले प्रबर्द्धन गर्न खोजेका धेरै मान्यताको समन्वय हो। यसले स्वास्थ्य जीवनशैली निर्माण गर्न मद्दत पुग्छ।'
प्रकाशित: १४ माघ २०६६ १८:११ बिहीबार





