८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

साउदीमा अलपत्र नेपालीको उद्धार पहल

साउदी अरब- साउदी अरबको एक कम्पनीले तलब नदिई बिचल्लीमा पारेका एक सयभन्दा बढी नेपाली कामदारको उद्धार गर्न रियादस्थित नेपाली दूतावासले पहल थालेको छ। पूर्वीक्षेत्रीय प्रान्तको दमाममा आवासगृह र अलखोबरमा प्रधान कार्यालय रहेको साद सह्मी अलहजारी कम्पनीले चार महिनादेखि तलब नदिँदा खानसमेत धौधौ परेर ३ सय नेपाली बिचल्ली परेको समाचार सार्वजनिक भएपछि दूतावासले श्रमसहचारी कृष्णप्रसाद दवाडीलाई पठाएर उद्धार पहल गरेको हो।दवाडीले कम्पनी मालिकसँग वार्ता गर्दा सात दिनभित्र सुरुमा एक महिनाको तलब भुक्तानी दिन, अकमा बनाउन र नवीकरण गरिदिने सहमति भएको बताए।

साउदी सरकारको 'आरामको' को मातहत काम गर्ने उक्त कम्पनीले आफूले समेत ६ महिनादेखि भुक्तानी नपाएकाले श्रमिकलाई तलब दिन नसकेको लाचारी देखाएको उनले जनाए। २–४ दिनमै आफूले एक किस्ता भुक्तानी पाउन लागेकाले उक्त रकम ल्याएर मजदुरलाई एक महिनाको तलब दिने र अन्य बाँकी रकम क्रमशः दिने सहमति गरेको उनले जानकारी दिए।

कम्पनीमा ८–१० वर्ष काम गरिसकेका नेपाली तथा अन्य कामदारका अनुसार कम्पनीले यसअघि कुनै पनि भुक्तानी रोकेको, नराम्रो व्यवहार गरेको थिएन।

कम्पनीले तलब नदिए पनि हायल, अलकसिम, जुबेल, खादली, अबु›िया, रस्तनुरा, खब्जी, सरारलगायत स्थानमा काममा खटाउँदा नजिकका पसलले उधारो रासनसमेत नदिएपछि खानै कठिनाइ भएको पीडितले बताए।

काम छाडेकालाई फर्कन र बाहिर नबस्न कम्पनीले आग्रह गरेको छ। कामदारले भने तलब नपाएसम्म काममा नफर्कने बताएका छन्।

कम्पनीले खानसमेत नदिएको भन्दै श्रम अदालत गुहारेका उनीहरुको मुद्दाको सुनुवाइ भने २२ मार्चमा हुनेछ।

काठमाडौंस्थित ग्लोबल एलायन्स, प्रिन्स इन्टरनेसनल र मुक्तिनाथ म्यानपावरबाट आएका उनीहरुलाई ती म्यानपावर कम्पनीले तलब नपाएसम्म खानबस्न सहयोग गर्ने दूतावासलाई आश्वासन दिएका छन्। हाल बाहिर बस्दै आएका उनीहरुलाई कम्पनीकै दमाम क्याम्पमा बस्न, समूह बनाएर बाहिर नहिँड्न र नबस्न दूतावासले सुझाएको छ।

त्यहाँ रहेका नेपालीले उपलब्ध गराएको राहदानी र अकमा नम्बरअनुसार उक्त कम्पनीमा १ सय १० जना नेपाली कार्यरत छन्। त्यसमध्ये ६५ जना कम्पनीभित्रै र ४५ जना कम्पनीले बाहिरको काममा छन्। समयमै तलब नपाएर रुष्ट नेपालीले तलब भुक्तानी दिलाई स्वेदश फर्काइदिन आग्रह गरेका छन्। उक्त कम्पनीमा नेपालीसहित १५ सय बढी कामदार कार्यरत छन्।

प्रकाशित: २० माघ २०७२ २०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App