२२ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

जापानमा नेपाली नेताहरुको लर्को: दूतावासलाई पार्टी दिन भ्याईनभ्याई

पछिल्लो १० दिनमा नेपालका ३ शीर्ष नेताहरूले जापानको भ्रमण गरे।जापानको टोक्योमा आयोजना भएको १२ औं नेपाल फेस्टिवल उद्धाटन गर्न राष्ट्रिय सभाध्यक्ष गणेश तिमिल्सिना जापान आएर फर्के।

लगत्तै पूर्व प्रधानमन्त्री तथा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई जापान आए। अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतिशील मन्च जापानले टोक्योमा आयोजना गरेको  समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुन आएका थिए भने नेकपा पोलिटब्यूरो सदस्य विशाल भट्टराई प्रवासी नेपाली मन्च जापान कान्तोको ५ औं अधिवेशनमा सहभागी हुन जापान आएका थिए।यद्यपी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने केही उच्चस्तरीय राजनीतिक भेटघाट समेत गरे।अध्यक्ष प्रचण्ड र नेकपा पोलिटब्यूरो सदस्य विशाल भट्टराई आजै नेपाल एयरको उडानबाट स्वदेश फर्किसकेका छन्।

नेपालबाट वरिष्ठ नेताहरुका भ्रमण हुने भएपछि विदेशस्थित नेपाली दूतावासका कर्मचारीहरूको व्यस्तता ह्वात्तै बढ्छ। जापानमा पनि ठिक त्यस्तै भयो भलै त्यो स्वाभाविक होला वा नहोला। दिन रात नभनी उनीहरुको सेवामा दूतावासका कर्मचारी खटिए। नेताहरुका स्वागतका नाममा दशौं लाखका पार्टीहरू आयोजना भए।

टोक्योस्थित नेपाली दूतावासले राष्ट्रिय सभाध्यक्ष गणेश तिमिल्सिनाको बिदाईमा टोक्योको एक महँगो रेस्टुरेण्टमा महँगा मदिरा सहितको पार्टी आयोजना गर्‍यो भने नेकपा केन्द्रका अध्यक्ष प्रचण्डको बिदाईका नाममा त झन् दूतावासले टोक्योकै महँगो होटेल शेराटन मियाको होटल टोक्योमा भव्य पार्टीको आयोजना गर्‍यो।  पार्टी आयोजना गर्दा सरकारको ढुकुटीबाट कति लाख खर्च भयो भनेर सोध्दा यो बारेमा पछि कुरा गरौंला भन्ने जवाफ आयो।१ लाख भन्दा बढी नेपालीहरु बसोबास गर्ने जापानमा नेपालीहरुका दुःखका पहाड छन्। बेदनाका चाङ छन्।

दूतावासको आफ़्नै भवन नहुँदा जापानीहरू माझ नेपालको छवी बिग्रंदो छ।

आपत् परेर फोन गर्दा दूतावासको फोन कहिल्यै नउठ्ने जनगुनासो व्याप्त छ तर दूतावास भने देश आर्थिक संकटतर्फ उन्मुख भइरहेको अवस्थामा नेताका नाममा लाखौं खर्च गरेर पार्टी गर्नमा मस्त छ।स्मरण रहोस् जापानमा कुनै नेपालीले ज्यान गुमाउँदा दूतावासले एक पैसो सहयोग गरेको आजसम्म जानकारीमा छैन।सधैँ जापानबासी नेपाली र यहाँका संघसंस्थाहरूले चन्दा संकलन गरेर शव नेपाल पठाउनु पर्ने बाध्यता छ।

मेरो नेतृत्वको कार्यकालमा एक पैसा भ्रष्टाचार गर्दिन भनेर वाचा गरेका नवनियुक्त राजदूत दुर्गा बहादुर सुवेदीले अबका दिनमा जापानबासी नेपालीका लागि कसरी काम गर्छन् त्यो त हेर्न बाँकी नै छ तर नेता आउँदाको जस्तै सक्रियता जापानका नेपालीका दुःखमा मलहम लगाउने कार्यमा पनि दूतावासको रहोस्।

प्रकाशित: २५ श्रावण २०७९ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App