टोकियो—थाइल्यान्डको राजधानी बैंककमा हालै सम्पन्न भएको 'वान योङ्ग वोर्ल्ड समिट २०१५' मा जापानबासी नेपाली दिनेश रतालाजोशीले प्रतिनिधित्व गरेका छन्। प्रतिस्प्रधाद्वारा संसारभरबाट १८ देखि ३० वर्ष उमेर समूहका युवा हस्ती सहभागी साे समिटमा १९६ देशका १३ सय प्रतिनिधि सहभागी थिए।
नेपाली युवा रतालाले डिसेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी बृहत् सभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डललाई सचेत गराउने उद्देश्यले नेपालका प्रधानमन्त्री केपी शर्मा अाेलीलाई सम्बाेधन गर्दै बाेलेका गरेका थिए।
संयुक्त राष्ट्रसंघको विश्वविद्यालयबाट वातावारणीय सुशासनमा स्नातकोत्तर गरेका उनले आफ्नो सम्बोधनमा नेपालमा जलवायुपरिवर्तनको असर विभिन्न क्षेत्र र समुदाय अनुरुप भिन्न खालको भएको र यसको प्रभाव घटाउनका लागि यथासिघ्र विभिन्न विधाका विज्ञहरूसम्मिलित स्वतन्त्र र समाबेशी कार्यदल गठन गर्नुपर्ने प्रस्थाव राखेका थिए।
बझाङ्ग घर भइ जापानको टोकीयो सहरलाई कर्मथलो बनाउँदै आएका रतालाले आफ्ना हितैशि शरदचन्द्र राईसँग मिलेर सन् २०१२ मा युमीनेपाल ट्रस्ट नामक संस्थाको स्थापना गरी पूर्वी नेपालको खोटाङमा एउटा स्कूल निर्माण गरेका छन्। १० वर्षको उमेरमा राष्ट्रब्यापी छात्रवृति पाएर बुढानीलकण्ठ स्कूलमा पढ्ने अवसर पाएका उनी उच्च शिक्षा हासिल गर्न जापान आएका थिए।
उनी सहभागी भएको वान योङ्ग वोर्ल्ड समिट २०१५ भेलामा संयुक्त राष्ट्र संघका पूर्व महासचिब कोफी अन्नान तथा नोबेल शान्ति पुरस्कार बिजेता प्रोफेसोर मोह्म्बद युनुस लगायत सल्लाहकार रहेका छन्।
प्रकाशित: १० मंसिर २०७२ ०६:३७ बिहीबार





