९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

नेपाली लोकसाहित्यमाथि बेलायतमा अन्तर्क्रिया

लन्डन– बेलायतमा नेपाली लोकसाहित्य, लोक संस्कृति र लोकभाकामाथि बृहद् परिचर्चा गरिएको छ। महाकवि देवकोटाको १०७औं जन्मजयन्तीका सन्दर्भमा आइतबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले देवकोटालाई केन्द्र बनाएर अन्तर्क्रिया तथा कविगोष्ठीको आयोजना गरेको हो।

कार्यक्रममा युनिभर्सिटी अफ लण्डनको एशिया तथा अफ्रिका अध्ययन संस्थानका प्राध्यापक माइकल हटले देवकोटालाई हेर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय नजरबारे प्रकाश पारेका थिए। उनको बहुआयामिक व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै देवकोटाका रचनामा पाइने प्रचुर लोकविम्ब, उच्च कलात्मकता र हार्दिक अभिव्यक्ति शैलीले नै उनलाई मौलिक र अन्तर्राष्ट्रिय स्तरको लेखक बनाएको बताए।

देवकोटा पढ़ेपछि अन्य साहित्य पढ्नै नपर्ने भनेर आफूलाई अनुसन्धान कक्षामा पढ़ाइएको समेत उनले स्मरण गरे। खासगरी निबन्धमा देवकोटाको प्रतिभा अतुलनीय रहेको ठान्ने माइकल हटले मुनामदन र देवकोटका धेरै कविता एवं निबन्धको अंग्रेजी अनुवादसमेत गरेका छन्। कार्यक्रममा विशेष अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका प्रा. डा. कुसुमाकर न्यौपानेले लोकसाहित्य र लोकवाङ्मयबारे सहभागीबीच गहिरो अन्तर्क्रिया गरेका थिए।

लोकसाहित्य विषयमा लामो अनुसन्धान र अध्यापन अनुभव भएका न्यौपाने खोज र अध्ययनकै सिलसिलामा जापान, अमेरिका हुँदै बेलायत आइपुगेका हुन्। उनको अथक लोकसाहित्यिक योगदानलाई कदर गर्दै अनेसास बेलायतले उनलाई सम्मानसमेत गर्यो। उनले लोकसाहित्यमा समाजलाई जोड्ने अद्भुत शक्ति रहेको उल्लेख गरे । देवकोटाका अधिकांश कृतिमा लोकभाका, लोकसंस्कृति र लोकतत्त्वको गहिरो घुलन रहेको र त्यसले समाज र साहित्यलाई जोड्ने काम गरेको उनको ठम्याइ थियो । गाउँघरमा अझै जीवित रहेका- जोगीले फेरी लाउने प्रथा, कर्खा, चुट्का, लोकदोहोरी, लोकगीत, धामीझाँक्रीले प्रस्तुत गर्ने मन्त्रतन्त्रजस्ता मौलिक र लोपोन्मुख लोकसम्पदाको संरक्षण र सम्बर्धनमा सबै नेपालीले योगदान गर्नुपर्ने विचार उनले व्यक्त गरे।

कार्यक्रम संस्थाका अध्यक्ष डा. रूपक श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कविगोष्ठीका रूपमा सञ्चालित दोस्रो सत्रमा बेलायतस्थित नेपाली सर्जकहरूले मुक्तक, गजल र कविता सुनाएका थिए । रचनावाचन गर्नेमा नारायण गाउँले, लारा, विमला सेने, कुमार केसी, प्रतिमा केसी, लय प्रसाई, विरु मुकारुंग, सागर सिलवाल, होमनाथ पौडेल, केशव पुड़ासैनीलगायतका कवि तथा कवयित्री थिए। बेलायत भ्रमणमा रहनुभएका प्रसिद्ध वक्ता एवं लेखक प्रा. अभि सुवेदीलाई प्रतिनिधिमार्फ़त सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।

प्रकाशित: ८ मंसिर २०७२ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App