१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

प्रधानमन्त्रीसहित ६ मन्त्री सहभागी हुने एनआरएनएको ६ घण्टे सेमिनार बिहीबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विहीवार आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन्।

एनआरएनएले 'गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार' लगायतका विषयमा छलफल गर्न आयोजित सो कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीसहित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समेत कार्यक्रममा सहभागीता जनाउने छ।

उद्योग, अर्थ, परराष्ट्र मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको टोली समेत कार्यक्रममा उपस्थित हुनेछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ।

६ घण्टा चल्ने सो कार्यक्रममा अर्थमन्त्री जनार्जन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, गृहमन्त्री बालकृष्ण खाँड, सूचना संचार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतका मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रमतय भएको छ।

नेपाल सरकारलगायत विभिन्न सरोकारवालाहरुको समेत उपस्थितिमा गैरआवासीय नेपालीहरुका मागहरु सम्बोधन गराउने उद्देश्यले आयोजना हुने सो कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुभाष नेग्वाङ, पूर्वमन्त्री गगन थापा, सांसदहरु डा. सूर्यप्रसाद पाठक, कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, संविधानसभा सदस्यहरु भीमलाल देवकोटा, राधेश्याम अधिकारी, सांसदहरु पुष्पा भुषाल गौतम, रेखा शर्मा, पूर्वमन्त्री योगेश भट्टराई सहभागीता रहने छ।

चार चरणमा आयोजना हुने कार्यक्रममा विभिन्न विषयका विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए। काठमाडौँको र्‍याडिसन होटलमा आयोजना हुने एक दिने सो सेमिनारमा गृहसचिव टेकनारायण पाण्डे, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, अर्थ सचिव, भरतराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौडेलले समेत सम्बोधन गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले सरकार प्रमुखसहित सरोकारवाला मन्त्रालयका मन्त्रीसहितको उपस्थितिमा हुने कार्यक्रम संघका माग पूरा गर्न कोषेढुंगा सावित हुने बताए। उनले संघले विगत डेढ दशकदेखि उठाएका मागहरुको टुंगो लगाउने सुर्वण अवसर भएको बताए। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सम्बोधन गर्ने सो कार्यक्रमका लागि संघका अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसी लगायतका पदाधिकारीहरु काठमाडौंमा उत्रिएका छन्।

प्रकाशित: १ असार २०७९ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App