१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

'फेसबुक चलाउन नपाए कामै गर्दिनँ'

न्युयोर्क, पुस १९ (एजेन्सी)- फेसबुक प्रयोगले कामदारको कार्य क्षमता घटाउने तथ्य बाहिर आएको साता दिन नबित्दै अर्को अध्ययनले त्यसको उल्टो तथ्य बाहिर ल्याएको छ। अमेरिकामा गरिएको एक सर्वेक्षणअनुसार धेरै व्यक्ति फेसबुकजस्ता नेटवर्किङ साइट पूर्ण वा आंशिक रूपमा बन्द गर्ने कार्यालयमा काम गर्न चाहँदैनन्।

केही दिनअघिमात्रै भारतीय चेम्बर अफ कमर्सले गरेको सर्वेक्षणले कामको समय नेटवर्किङ साइट चलाउँदा कामदारको क्षमता घटेको तथ्य सार्वजनिक गरेको थियो। तर, त्यसको ठिकविपत न्युयोर्कको सर्वेक्षणले नयाँ पुस्ताका लागि नेटवर्किङ साइट जीवनकै हिस्सा बनिसकेको तथ्य सार्वजनिक गरेको छ।

युवापुस्ताले फेसबुक, ट्युटरजस्ता नेटवर्किङ साइटलाई स्वतन्त्रताको आधार मान्ने गरेको सर्वेक्षणले देखाएको छ। युवाहरू यस्ता साइटलाई सर्त मानेर मात्र कुनै पनि जागिरमा प्रवेश गर्ने बताउँछन्।

सर्वेक्षणमा सहभागी ५८ प्रतिशत युवाले कुनै कम्पनीबाट कामको ‘अफर' आए पहिले त्यस कम्पनीमा सोसल नेटवर्क चलाउन पाउने/नपाउने हेरेरमात्र निर्णय लिने बताएका छन्। कन्सल्टिङ फर्म डेलाइटले गरेको सर्वेक्षणअनुसार हरेक १० मा ९ युवा सोसल नेटवर्किङ साइट चलाउँछन्। सहभागीमध्ये ७० प्रतिशतले हरेक दिन एक घन्टाभन्दा बढी समय सोसल नेटवर्क चलाउने गरेको जानका दिएका छन्।

‘अब कम्पनीहरूले सोसल नेटवर्किङबारे छलफल चलाउन आवश्यक छ,' डेलाइट ग्लोबलका व्यवस्थापक आइनर डि आइजलले भने, ‘आधाभन्दा बढी युवाको सोसल नेटवर्किङमा धेरै लगाव छ। यसले भविष्यमा ठूलो अर्थ राख्छ।'

यो सर्वेक्षण त्यस्तो महत्वपूर्ण समयमा आएको छ, जतिखेर विश्वका धेरै मुलुकका कम्पनी आफ्नो कार्यालयमा फेसबुकको प्रयोग कटौती वा त्यसलाई सीमित पार्ने तयामा जुटेका छन्। फेसबुकमा अनावश्यक कुरा हेरेर कामदारको कार्यदक्षता घट्ने र गोप्य सूचना बाहिरिने त्रास रोजगारदातामा रहँदै आएको छ। यस्ता साइटले अनावश्यक विषयमा बहस चलाइरहेको भन्दै धेरै कम्पनी सफ्टवेयरमार्फत् यसलाई नियन्त्रणमा लिने तयामा छन्।
सेप्टेम्बरमा १२ देखि १७ वर्षका एक हजार युवा यो सर्वेक्षणमा समेटिएका थिए।
सहभागीमध्ये ८३ प्रतिशतले फेसबुकमा नकारात्मक काम नगरेको बताएका छन्। सहभागीमध्ये ५० प्रतिशतभन्दा बढीले उनीहरू यसबाट एकअर्काको सहयोगी बनिरहेको दाबी पेस गरेका छन्। सर्वेक्षणको रिपोर्टमा युवाहरूले नेटवर्किङ साइटमा स्ट्याटस, तस्बिर वा कुनै कमेन्ट लेख्दा आफ्नो हाकिम वा साथीका बारेमा केही नसोच्ने गरेको उल्लेख छ।
‘अबको पुस्ताले व्यक्तिगत कुरा र व्यावसायिक कुराबीच भिन्नता थाहा पाउनुपर्छ,' आइजलले भने, ‘यसको अनलाइन र अफलाइन असर बुझेर काम गर्‍यो भने ठूलो असर पार्दैन।'

प्रकाशित: १९ पुस २०६६ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App