काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनले) मुलुकमा भइरहेका बन्द, हड्ताल तथा हिंसात्मक घटनाप्रति चासो व्यक्त गर्दै त्यस्ता क्रियाकलाप रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।एनआरएन अध्यक्ष शेष घलेले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै मुलुकको अर्थतन्त्र नै डामाडोल बनाउने गरी भइरहेका आन्दोलनले सबैभन्दा बढी दैनिक श्रम गर्ने आम नागरिक पीडित भएको उल्लेख गरेका छन्। आन्दोलनका कारण आमनागरिकको अधिकार हनन् भइरहेको र त्यसले भूकम्पपछिको पुनःनिर्माण गर्ने गम्भीर दायित्वलाई अघि बढाउन अझ ढिला बनाइदिएकाले बन्द हड्ताल फिर्ता लिन एनआरएनले आग्रह गरेको हो।
'समयमै संविधान पनि नबन्ने र पुनःनिर्माणको काम पनि कसैको प्राथमिकतामा नपर्ने यस्तो परिस्थितिमा हामी कतातिर गइरहेका छौं भन्ने प्रश्नले एनआरएनलाई गम्भीर बनाएको छ', अध्यक्ष घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'राष्ट्र पुनः निर्माण र सम्वृद्धिका लागि साझेदारी गर्न आतुर लाखौं गैरआवासीय नेपाली र विदेशी दाताहरु समेत यही प्रश्नको जवाफ खोजिरहेका छन्।'
प्रकाशित: २५ भाद्र २०७२ १०:४५ शुक्रबार