१९ मंसिर २०७९ सोमबार
प्रवास

शत्रुको आराधना

पचास–पचपन्न वर्षअघिको कुरा। तुलनात्मकरूपमा धेरै चेतनशील मानिने पूर्वाञ्चलका जिल्लाहरूमा पनि जात र धनी–गरिबबीचको भेदभाव धेरै थियो।

अन्तरजातीय विवाह गर्नेहरूलाई अर्कै दृष्टिले हेरिन्थ्यो। पानी चल्ने र नचल्ने, धनी र गरिबलगायतका ‘डिभाइडर’ प्रशस्तै थिए। हुनेखानेहरू छोराछोरीको बिहे गर्नुअघि ‘फोटो हेर्नुपर्छ’ भन्थे। फोटो हेरेर टाढाको सबै कुरा बुझ्न नसके पनि ‘चिटिक्क परेको’ तस्बिर छ भने केटा वा केटीकोे विवाह हुने सम्भावना बढ्थ्यो। फोटो खिच्नेहरू पनि भाग्यमानी गनिन्थे।

कतिपय पण्डितहरू लसुन–प्याज पनि नखाने शुद्ध निरामिष उपाध्याय ब्राह्मण युवकसँग छोरीको बिहे गराउन चाहन्थे। पछि ‘जाँड रक्सी नखाने’ मापदण्ड स्वीकृत भयो। अचेल ‘ड्रग’ नखाए पुग्छ। अर्थात समयले ‘एडजस्ट’ गर्दै गयो समाजलाई।

रामबाबु प्रसाई २००७ सालदेखि नेपाली कांग्रेसका सक्रिय नेता हुनुहुन्थ्यो। पार्टीको कोषाध्यक्ष छँदा प्रसाईले एक रुपियाँ पनि तल–माथि गर्न दिनुभएन। रामबाबुका बारेमा उहाँका भाइ सिके प्रसाई (भरतबाबु) बाट २०३६ सालमा धेरै कुरा सुनेको थिएँ। एउटा टेलिभिजनमा प्रधान सम्पादक छँदा रामबाबुको अन्तर्वार्ता लिने अवसर मिल्यो। असी वर्ष नाघे पनि फुर्तिलो हुनुहुन्थ्यो।

कुनैबेला (म जन्मिनुअघि) उहाँको घर भएको क्षेत्र झापाको अनारमनीस्थित स्कुलमा मेरा पिताजी शिक्षक हुनुहुन्थ्यो र रामबाबु सो विद्यालयका अभिभावक। उहाँको स्मरण शक्ति गजवको थियो। स्टुडियोमा जानुअघि केहीबेर अनौपचारिक कुराकानी भयो। चित्र र चरित्र वा आचरण र आवरण एउटै भएका त्यस्ता नेता थोरै थिए। अब त दुर्लभजस्तै भए। सत्ताका लागि सत्यलाई खाल्डो खनेर गाडिँदैछ आज।

बखानसिंह गुरुङ, परशुनारायण चौधरी, काशीनाथ गौतमलगायतको सरल व्यवहार उदाहरणीय मानिन्थ्यो। काशीनाथ गौतम यातायातमन्त्री छँदा एक जना डिभिजन इन्जिनियरले पच्चीस हजार रुपियाँ घुस दिएछन्। गौतमले भन्नुभएछ– “म घुस खाने मान्छे होइन, तपाईँको पैसा तपाईँसँगै राख्नुहोस्। म किनबेच हुने मान्छे होइन।” एकजना मित्रको कामले मन्त्रालयमा उहाँलाई भेट्दा गौतमले यस्तो प्रसंग सुनाउनुभयो।

गिरिजाप्रसाद कोइरालाले रामबाबु प्रसाईलाई फोन गरेर ‘दश जना मानिस आज तपाईँको घरमा खाना खानेगरी आउँछन् र इलामतिर जान दुईवटा गाडीको प्रबन्ध गरिदिनू’ भन्नुभएछ। खानेबेलामा रामबाबुले दश जनालाई भान्सामा पठाउँदै बाँकी तीन चार जनालाई आफैँले व्यवस्था गर्नु भन्नुभएछ। ‘किन यसो गरेको’ भनेर कोइरालाले सोध्दा प्रसाईले प्रतिप्रश्न गर्नुभएछ –“हिजो फोन गर्दा किन तपाईँले दश जना मात्रै भनेको त?” सबै चकित भए।

त्यहाँ दुईवटा बलिया जिप ‘स्टार्ट’ गर्दा ड्राइभरले कोइरालालाई भनेछन्– “गाडीमा तेल छैन।” कोइरालाले रिसाएर भन्नुभएछ– “मैले दुईवटा गाडी चाहिन्छ भनेको, तेल किन राख्नुभएन। यस्तो पनि हुन्छ?”प्रसाईले भन्नुभयो– “साथी–भाइसँग मागेर गाडी ल्याइदिएको छु। तेल भर्ने जिम्मा तपाईँको।”

यस्ता अनेक प्रसंग छन्। स्पष्ट र सत्य बोल्ने, निर्भिक, इमानदार, सज्जन, सिद्धान्तवादीहरू पनि राजनीतिमा थिए। अहिलेका पुस्तालाई किम्बदन्ती वा कथा लाग्न सक्छ। आज लोभतन्त्र नै ‘लोकतन्त्र’ भएको छ। ‘रछ्यानलाई चलायो, गन्ध’ भनेझैँ डाँका, तस्कर, भ्रष्ट, हत्यारा, चोर, फटाहा, बलात्कारी सबैको ‘बुलेट ट्रेन’ भयो राजनीति। आफ्नै घर वरिपरिकाले कुख्यात भनेका मानिस पार्टीले वासिङमसिनमा छिराएर ‘प्रख्यात’ बनाउने प्रयत्न गरिरहेका छन्। राजालाई ‘पूर्वराजा’ बनाउनेहरू पूर्वआतंककारीका प्रिय र घनिष्ट भएका छन्। सज्जनलाई दुष्ट र दुर्जनलाई इष्ट मान्ने प्रवृत्ति बढेको छ।

विदेशी नेता माओ, गान्धी, लेनिन, स्टालिनको पूजा गर्नेहरूले पृथ्वीनारायण शाहमा दोषैदोष देख्छन्। त्यसैले जनभावनालाई धनभावनाले थिचेको छ। नवीन पुस्ताले यो रुचाएको छैन। त्यसैले अब विदेशीसँग लसपस गर्नेहरू बढारिने सम्भावना छ। गाउँगाउँमा लाखौँ युवा प्रश्न र प्रदर्शन गर्न थालेका छन्। राजनीतिलाई पेसा बनाउने हजारौँ ठग पाल्न कर तिर्नुपरेको छ, जनताले। पचासौँ लाख युवा परदेशमा छन्। उनीहरूको परिवारले मात्र राष्ट्रघातीलाई बढाउने प्रण गरे भने कसैको केही लाग्दैन।

वडादेखि केन्द्रसम्म पचास प्रतिशत मात्र सज्जनहरू चुनिए भने त्यो अवस्थामा राष्ट्रको मुहार बदलिन्छ। जनताले उनै भ्रष्ट र नालायक रोजे भने त्यो आत्मघाती हुन्छ। दलको कुरा होइन, साँच्चै राष्ट्रवादी छन् भने जनताले जिताउनुपर्छ। तीसौँ वर्षसम्म राष्ट्रघातीको ‘म्युजिकल चेअर’ भएको राजनीति क्रमशः विकारमुक्त हुन सक्छ।

२००७ सालदेखिका घटनाक्रम हेर्दै/भोग्दै आउनुभएका प्रसिद्ध गायक रामेशले एउटा अन्तर्वार्तामा केही वर्षयता नेपाली राजनीतिको खेल अत्यन्त घीनलाग्दो भएको विश्लेषण गर्नुभयो। धेरैले भनेको त्यही हो। राष्ट्र भासिँदैछ भनेर सबैले स्वीकार गर्न थालेका छन्। राजसंस्था निर्मूल गर्नु ठूलो भूल भएछ भन्दै एकजना पुराना कांग्रेसी नेताले भनेका थिए– “नेपाललाई कब्जामा लिने उद्देश्यले गणतन्त्र ल्याइएको रहेछ। त्यसैले आजका नेता विदेशीको इसारामात्रै मान्छन्। जनताको आवाज सुन्दैनन्। त्यसैले उनीहरू बढारिन्छन्। राष्ट्रघाती बढारिएन भने राष्ट्रिय स्वतन्त्रता नै बढारिन्छ। राष्ट्रघाती बढार्ने कि राष्ट्र? फैसला गर्ने चुनावमा हो।

कर्णाली प्रदेशमा मस्टो (मस्टा) पूजक प्रशस्तै छन्। मस्टा, मण्डा, ढुँकटवा, रूपाल, गोसाईँ, गैडुँ, काँडा र ब्रह्म क्षेत्रपालले चराचर जगतको रक्षा गर्छन् भन्ने मान्यता नवीन पुस्ताले बुझ्न बाँकी छ तर हजारौँ साल पुराना ती मूल्य/मान्यतामा अर्थ छ, तर्क छ र प्रवल विश्वासको बिम्ब छ।

भौतिकवादमा मात्र विश्वास गर्नेले त दिदी–भाइ वा दाजु–बहिनीसँग विवाह गरे पनि जैविक (बायोलोजिकल) आवश्यकता पूरा हुन्छ भन्ने तर्क गर्छन्। समाज र राष्ट्र भ्रष्ट नहोस् भनेर पुर्खाले बनाएका धेरैजसो प्रचलन निरर्थक छैनन् तर आँखा चिम्लेपछि टन्टलापुर घाममा पनि अन्धकार हुन्छ। नेपाली राजनीतिमा धर्म, संस्कृति, परम्परा सबैमा खोट देख्नेले त्यही प्रमाणित गरिरहेका छन्। अग्रगामी र ‘प्रबुद्ध’ बन्ने उपक्रममा धेरैले स्वदेशको नराम्रो तर विदेशीको सबै राम्रो देखिरहेका छन्। राष्ट्रको मूलनीतिमा राष्ट्रवाद र देशभक्ति समेटेर नेपालको पुनर्जागरण खोजेको छ युगले।

डोल्पामा पुराना मानिस २०२४/२५ सालतिरका सांसद (राष्ट्रिय पञ्चायतका सदस्य) लक्ष्मीशरण शर्माको अहिले पनि प्रशंसा गर्छन्। उनी आफ्नो–बिरानो भन्दैनथे। केही कमजोरी सबैका हुन्छन् तर जसले बहुसंख्यक जनताको कल्याण गर्छ, समाजले उसलाई सम्झिरहन्छ। मुगुका तेजबहादुर भाम, झापाका गोपालचन्द्रसिंह राजवंशी र पुहातु चौधरी, बाजुराका नरसिंह गिरी, जुम्लाका हरिश्चन्द्र महत, सोलुखुम्बुका छिरिङतेन्जिङ लामा, रसुवाका दावाफिन्जो तामाङ, गुल्मीका वैकुण्ठबहादुर चन्द, इलामका भगवतीदास श्रेष्ठ र सोमनाथ बाँस्तोला, पाँचथरका पद्मसुन्दर लावती, दाङका एकराज शर्मालगायतका धेरै नेतासँग कुराकानी भयो। रेडियो नेपालबाट संसद्का लागि समीक्षा लेख्ने दायित्व भएकाले धेरेको चित्र, चरित्र देख्न पाइयो।

पैसा देख्न हम्मेहम्मे पर्ने सयौँ वर्षअघि पनि घर/व्यवहार चलाउन विनिमय प्रथा (साटासाट) चल्यो। मित लगाएपछि विश्वास बढ्ने भएकाले पूजाआजा गरेर छरछिमेकीलाई भोज खुवाइ विधिपूर्वक मित लगाउने चलन थियो। मितलाई मद्दत गर्ने र परिवारकै सदस्य मान्ने गर्थे। ठूलो मतभेद भएर कुरा मिलेन भने ‘मित फर्काउने’ चलन पनि गजबकै रहेछ। इलाममा नब्बे वर्ष नाघेकी एक जना हजुरआमाले सुनाउनुभयो–‘मितसँग रिस उठेपछि मित फर्काउँथे। दुवै विपरित दिशातिर फर्केर टाँङमुनिबाट अन्तिमपल्ट मितको अनुहार हेर्थे।” दाँत झरेकी हजुरआमा आँतबाटै हाँस्नुभयो। टाँङमुनिबाट मितको अनुहार हेर्दा कम्मरमुनिको लुगा फुकाएर मितलाई अंग देखाउने चलन रहेछ।

राजनीतिक दलहरूले स्वार्थका लागि धेरैपल्ट मित लगाए। धेरैपल्ट मित फर्काए। कुरा मिलुन्जेल चाटाचाट गरे। स्वार्थ बाझिएपछि काटाकाट गरे। अहिलेको कथित ‘भागबन्डा’ र ‘गठबन्धन’ संविधानको कुन धारामा छ? केही नेतालाई आजीवन पदमा विराजमान गराउन सिद्धान्त, नैतिकता, आदर्श सबै त्याग्नुपर्ने?

दश वर्षे द्वन्द्व र त्यसको सेरोफेरोमा जसले आफ्ना दलका हजारौँ कार्यकर्ता, मतदाता, शुभेच्छुक र समर्थकको हत्या गरे, उनै जघन्य अपराधीलाई विजयको माला लगाउन बाध्य गराउने ‘केन्द्रीय’ नेताहरूको हुकुम र निर्देशन जनताले स्वीकार्नुपर्ने? प्रजातान्त्रिक दलले हामी निरंकुशता, तानाशाही र क्रूर प्रथाको अन्त्य गर्न खोजेका हुन् कि प्रजातान्त्रिक चरित्रको? तसर्थ, पटक्कै आस्था, विश्वास र भरोसा नभएकाहरू कृत्रिम समर्थन गर्न कार्यकर्ता तयार भए भने त्यो जनताप्रति घात गरेको ठहरिन्छ। अब जनता शत्रुको आराधना गर्ने पक्षमा देखिँदैनन्।

तीन वर्षपहिले स्पेनको संसद्मा प्रजातान्त्रिक शक्तिले वामपन्थीसँग गठबन्धन सरकार बनाउँदा के भयो ? युरोपका २८ राष्ट्रमा २१९ वटा चुनावको अध्ययन गरेका लेखक जेजे स्पुन र हेइक क्लुभरले लेखेका छन्– “लोकप्रिय दलहरूले बदनामी कमाउनु छ भने सिद्धान्तहीन गठबन्धन गरे हुन्छ।” ऊबेला (सन् २०१९) वामपन्थीको समर्थनमा प्रधानमन्त्री हुन लाग्दा स्पेनका कार्यबाहक प्रधानमन्त्री पेद्रो सान्जेललाई त्यस्तो सहकार्य घाँटीमा अड्केको हड्डी भयो। जर्मनीमा सन् २०१७ मा त्यस्तै आपत् आयो। त्यहाँका दुई ठूला दलमध्येको एक सोसल डेमोक्रेटिक पार्टीले लोकप्रियता गुमायो। उसले १५.८ प्रतिशतमात्र मत पायो।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ वटा सिट ल्याएको नेपाली कांग्रेस २०६२÷६३ सालपछि देखाएको चरित्रहीन, सिद्धान्तहीन र मूल्यहीन राजनीति आत्मघाती ठहरिएको छ। मूल बाटो त्यागेर चोर बाटोबाट ‘गन्तव्य’ प्राप्त गर्ने कांग्रेसले आज आफैँले हिजो अपमान गरेको नीति र नेतासँग मित लाएको छ। कम्मरमुनिका लुगा खोलेर मितलाई अंगप्रत्यंगको दर्शन गराउनुपर्छ भन्ने कांग्रेसी धेरै भेटिन्छन्। त्यसैले ‘माओवादीलाई जिताउँ’ भन्ने कांग्रेसीहरू कति होलान्, सभापति शेरबहादुर देउवा र शेरगणले बुझ्नुपर्ने हो।

फुर्ती लाउँदालाउँदै जनभावनाविरुद्ध गएर चीनमा ‘कोमिन्ताङ’ नामको दलले धुलो चाट्नुप¥यो। पार्टी अस्तित्वहीन भयो। जनचेतना अत्यधिक बढेको यो युगमा नामले मात्र कोही पदेन डेमोक्र्याट र पदेन प्रोगेसिभ हुन सक्दैन। राष्ट्र र जनताको हित बिर्सेर बाँचुन्जेल सत्तामात्र चाहिने अधमहरूलाई युवाले नै दण्ड दिनेछन्। त्योबेला विदेशी मालिकले रक्षा गर्ने छैनन्।

प्रकाशित: २५ चैत्र २०७८ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App