७ वैशाख २०८१ शुक्रबार
प्रवास

निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलन आयोजनाको कदमप्रति आपत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आइतबार एक विज्ञप्ति जारी गर्दै संघका पूर्व अध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेको उल्लेख छ।

संघले विज्ञप्तिमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२औं बैठकले संरक्षक परिषद र उच्च स्तरिय समिति भंग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरुलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित भएको जनाएको छ।

उक्त विज्ञप्तिमा शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना भएको बताएको छ। संघले भनेको छ 'शिलशिलामा केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनका विरुद्ध दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ। पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौं।'

विज्ञप्तिमा संघको वर्तमान जटिल अवस्थामा संघको विधान विपरित निर्वाचन गर्न गराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुर्‍याउन खोज्नु खेदजनक उल्लेख छ। यस्तै संघमा विभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिविधिहरु बन्द गरी सहमतिको वातावरण बनाउनका लागि सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दै संघका विधान विपरितका गतिविधिहरुमा संलग्न नहुन सम्पूर्ण राष्ट्रिय समन्वय परिषद एवं संघका सदस्यहरुलाई संघले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App