राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी घोषणापत्र अर्थात् ‘बाचा पत्र’ सार्वजनिक गर्नुअघि जनतासँग ‘नागरिक करार’ पत्र सार्वजनिक गर्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेले शुक्रबार सामाजिक सञ्जालमार्फत परम्परागत भाषण र घोषणाभन्दा माथि उठेर यसपटक जनतासँग काम नभए सजाय समेत भोग्ने गरी लिखित करार गर्न लागेको घोषणा गरेका हुन्।
सभापति लामिछानेले फागुन २१ गतेलाई मुलुकको भाग्य र भविष्य बदल्ने कोसेढुङ्गाको संज्ञा दिँदै यसपटक राजनीतिक बाचा मात्र नभई कानुनी जस्तै लाग्ने ‘करार’ गर्ने स्पष्ट पारेका छन्।
‘हामी यसपटक नागरिकसँग करार गर्न चाहन्छौं, जहाँ गरेको वाचा पूरा गर्न नसके सजायको प्रष्ट व्यवस्था होस्,’ उनले उल्लेख गरेका छन्।
रास्वपाले फागुनको पहिलो साता आफ्नो विस्तृत ‘वाचा पत्र’ सार्वजनिक गर्ने तयारी गरेको छ। तर, सो दस्तावेज आउनुअघि नै ‘करार–पत्र’ र बाचा गरिने बुँदाहरू सार्वजनिक गरिने लामिछानेले जानकारी दिए।
राजनीतिक आरोप-प्रत्यारोप र टीकाटिप्पणीमा समय खेर नफाल्ने बताउँदै उनले लेखेका छन्, ‘कसले के भन्छ भन्ने चिन्ता, आरोपहरूको खण्डन र सवाल जवाफ भन्दा माथि उठेर हामी आफ्ना कुरा नागरिकलाई प्रष्ट राख्दै जान्छौं। जति सक्छौँ त्यति भन्छौं, जति भन्छौं त्यति गर्छौं।’
समृद्धिका लागि भन्दै ल्याउन लागिएको उक्त ‘नागरिक करार’ छिट्टै सार्वजनिक हुने र अन्तिम फैसला गर्ने जिम्मा नागरिकको हातमा छोड्ने उनले बताएका छन्।
प्रकाशित: २३ माघ २०८२ २०:३५ शुक्रबार





