आइसिसी टी-२० विश्वकप क्रिकेटको अभ्यास खेलमा इटलीले युएईमाथि फराकिलो जित निकालेको छ ।
नेपालसँगै समूह सीमा रहेको इटलीले युएईलाई ११२ रनले पराजित गरेको हो । ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको इटलीले युएईलाई ८१ रनमा अलआउट गर्यो । १९४ रनको उच्च लक्ष्य पछ्याएको युएई निर्धारित ओभर सकिन १० बल बाँकी छँदै ८१ रनमा समेटिएको हो ।
आठ जना ब्याटर दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्किएको युएईको इनिङ्समा मोहमद फारुखले सर्वाधिक २३ रन बनाए । युएईका तीन जना डकआउट भएका थिए ।
इटलीका लागि मात्र २ ओभर बलिङ गरेका ग्रान्ट स्टेवार्ट र चार ओभर बलिङ गरेका क्रिसन कालुगामागले समान तीन विकेट लिए । जेजे स्मुर्टस्को नाममा २ विकेट रह्यो ।
यसअघि पहिला ब्याटिङ गरेको इटलीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको थियो । उसका लागि एन्थोनी मोस्काले २२ बलमा ५६ र जस्टिन मोस्काले ३६ बलमा ४८ रनको योगदान गरे ।
योसँगै इटलीले यो शनिबार सुरु हुने विश्वकपमा बलियो प्रतिद्वन्द्वीको संकेत गरेको छ । एकै समूहमा रहेको इटलीले नेपालसँग माघ २९ गते प्रतिस्पर्धा गर्नेछ ।
इटलीले आफ्नो पहिलो अभ्यास खेलमा क्यानाडालाई १० रनले हराएको थियो । नेपालले आफ्नो अभ्यास खेलमा युएईलाई ७ विकेट र क्यानडालाई ६ विकेटले हराएको थियो ।
प्रकाशित: २३ माघ २०८२ २०:१६ शुक्रबार





