कट्टेल र घिमिरको देश सरसफाई अभियानले नेपाली समुदायमाझ राम्रो प्रभाव पार्न थालेको बताइएको छ। अप्रिल ४ देखि अप्रिल १२ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा गरेको नयाँ वर्ष धमका कार्यक्रमसंगै नेपाली समुदायले सफाई अभियानलाई पनि सहयोग गरेको सिताराम कट्टेल बताउँछन्l
भर्जिनिया, बोस्टन र टेक्सास राज्यको विभिन्न पाँच सहरमा गरिएको कार्यक्रममा देश बनाउने उदेश्यका लागि नेपाली समुदायले आर्थिक सहयोग गरेको र अहिलेसम्म करिब १३ लाख प्राप्त भएको कट्टेलले जानकारी दिए।
धुर्मुस र सुन्तलीले कार्यक्रमको अतिरिक्त नेपालमा चलिरहेको सरसफाई अभियानलाई प्रचार गरिरहेका छन्। देश सरसफाई अभियानलाई अमेरिकामा रहेका नेपालीले पनि उत्तिकै अभिरुचि देखाई आर्थिक सहयोग गरेको कट्टेल बताउँछन्। ‘नेपालको सरसफाईमा हामी प्रत्येक्ष रुपमा संलग्न भएकाले पैसाको दुरूपयोग हुँदैन भन्ने विश्वास अमेरिकामा रहेका नेपाली समुदायलाई छ। छोटो अवधिमा पनि यति रकम उठाउन सकेकोमा खुसी लागेको छ,’ उनी भन्छन्।
कट्टेलले जुनको दोश्रो हप्तासम्म अमेरिका रहने बताए। ‘नेपाली समुदायले अझै धेरै सहयोग गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ। सबै नेपाली समुदायसँग देश सफाई गर्ने अभियानको चर्चा परिचर्चा चलाउने छौं,’ उनले भने।
देश सरसफाई अभियानको मूल नारा ‘सबै जना सबै दल ,सरसफाईमा लगाऊ बल’ भन्ने रहेको कट्टेले बताए। ‘राजनैतिक परिवर्तनको लागि पटक-पटक सडकमा आउनुभयो, अब देश परिवर्तनका लागि एकपटक जुट्न सम्पूर्ण नेपालीहरुलाई हामी जोडी (धुर्मुस र सुन्तली )आह्वान गर्दछौं। नेपालको सरसफाईमा सहयोग गर्न चाहने सबै नेपालीलाई हामी यो कामको जिम्मा लिन चाहन्छौ,’ उनले भने।
कट्टेल र घिमिरेलाई सरकारले सरसफाई अभियानको सद्भावदूत घोषणा गरेको छ। उनीहरुलाई उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो।
प्रकाशित: १ वैशाख २०७२ ०१:४६ मंगलबार





