पैसा किन नदिएको? भनेर कम्पनीको मालिकलाई सोध्दा मालिकले नेपालको मेनपावरले लग्यो भन्ने जवाफ दिएको उनले बताए। उनकाअनुसार ६० हजार रुपैयाँ मात्रै तलबबाट काट्ने सम्झौता सुनगाभा मेनपावरसँग भएको थियो। एक लाख रुपैयाँ त नेपालमै बुझाई सकेका थिए। तर, यहाँबाट सुनगाभा मेनपावरले ४५ सय रिङ्गेट (१ लाख ३५ हजार रुपैयाँ) असुल्यो। त्यतिबेला मलेसियाको एक रिङ्गेटको नेपाली ३० रुपैयाँ हुन्थ्यो।
तैपनि उनले चित्त बुझाए। किनकी सुकुम्वासी उनी जसरी पनि धन कमाएर जग्गाको मालिक बन्न चहान्थे। अनि ५ छोरी र एक छोरालाई पढाएर सरकारी जागिर खुवाउने अभिलाषा बोकेका थिए। केही बोलेमा नेपाल फर्काइदिन्छ की भन्ने त्रासका कारण त्यति धेरै पैसा मेनपावरले लैजाँदासमेत आफू चुप बसे।
तेस्रो महिनाको तलब बुझेको भोलिपल्टको दिन उनका लागि कालो दिन बनेर आयो। कम्पनीले उनलाई इम्रेगेनिले वर्क परमिट (काम गर्ने अनुमती) नदिएको भन्दै काम गर्न रोकिदियो। उनकाअनुसार उनको पासपोर्ट र मेनपावरले भिसामा उल्लेख गरेको जन्ममिति फरक परेकाले इम्रेगेनिले वर्क प्रमिट नदिएको हो।
पासपोर्टको जन्ममितिअनुसार आफु ५१ वर्ष भएको र भिसा निकाल्दा बनाइएका कागजातामा ४० वर्ष मात्रै भएको उनले जानकारी दिए। मलेसियामा ४० वर्षसम्मकालाई मात्रै काम गर्ने अनुमती छ। मेनपावरले पैसाको लोभमा भिसाको कागजातमा उमेर घटाएर आफूलाई फसाएको डिल्लीबहादुरको गुनासो छ।
वर्क परमिट नपाएपछि कम्पनीले आफूलाई मलेसियाको एजेन्टको जिम्मा लगायो र एजेन्टले अन्यत्र काममा लगायो। त्यसबेला उनले नेपालको एजेन्ट गोपाल लम्साललाई आफू समस्यामा परेकाले नेपाल फर्काउन आग्रह गरे। तर, फर्काउन नसक्ने भन्दै भागेर काम गर्न नेपाली एजेन्ट लम्सालले सुझाए। नागरिकन्युजसँत उनी भन्छन्, ‘मैले नेपालको मेनपावरलाई समस्या सुनाउँदा भागेर काम गर्न भन्यो। म भाग्न सकिन र यहींको एजेन्टले कुकुर/बिरालो हेर्ने काममा लगायो।'
कुकुर/बिरालो हेर्ने काम गर्दाको तीतो अनुभव सुनाउँदासुनाउँदै उनले आँसु थाम्न सकेनन्। गला अवरुद्ध भयो। डाँकै छोडेर रोए। उनले रुँदै भने, ‘एक महिनासम्म कुकुर/बिरालोसँगै बसें, खाँए र सुतेँ। तैपनि मैले सुख पाइन सर। मलाई मालिकले कुट्थ्यो। मलाई पिटेर अपाङ्ग बनायो। पछि तलब नै नदिई लखेट्यो।' उनको शरीरमा त्यतिबेला कुटीएका नीलडाम अझै छन्। उनी आजभोली खोच्याँउदै हिड्छन्।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन आउने नेपालीको साथ लागेर दूतावासको शरणमा पुगेका डिल्लीबहादुर धन कमाउन मलेसिया आए तापनि भोकभोकै बसेको सुनाउँछन्। ‘म कति दिन भोकै बसेको छु। कयौं रात सडकमा बिताएको छु।' गहभरी आँसु पार्दै उनी भन्छन्, ‘पैसा कमाउन आएको म भीखारी बनेको छु।'
हाल उनी नेपाली बस्ने होस्टेल खोज्दै गएर बास र गाँसको भीख माग्दै दिन बिताइरहेका छन्। कतिपय नेपालीले छीःछी र दुरदुरको व्यवहार गर्ने गरेको नमीठो अनुभव छ उनीसँग। उनी भन्छन्, ‘कति नेपालीले दया मानेर खान बस्न दिन्छन् भने कतिले कुकुर जस्तो व्यवहार गर्छन्।'
धन कमाउन मलेसिया आएर बिचल्लीमा परेका डिल्लीबहादुरको यता गाँस बासको टुङ्गो छैन भने उता नेपालस्थित घरमा पनि उत्तिकै बज्रपात छ।
एक टुक्रा जमिन नभएको उनको परिवार पाल्ने उनै एक्ला हुन्। उनी यता बिचल्ली परेपछि घरमा छाक टार्नै मुस्किल छ। उनकी श्रीमतीले स टेलिफोनमा रुँदै भनिन्, ‘बाबु मेरो लोग्नेलाई चाँडै घर पठाइदिनुस् है। हामी यहाँ भोकै छौं। उहाँ फर्किनु भएन भने हामी खान नपाएरै मर्छौं। साहुले पत्याउन छोडे।' उनले कलेजमा मासिक शुल्क बुझाउन नसक्दा १२ कक्षामा पढ्ने छोरीले पढाई छोडेको बताइन्। जेठी छोरीबाहेक अरु ४ छोरी र एक छोरा नाबालक भएकाले आफूले उनीहरुलाई छोडेर काम गर्न जान नसकेको बताइन्।
डिल्लीबहादुर आफ्नो आयु अब लामो छैन भन्छन्। दूतावासका कर्मचारीलाई घर पठाइदिन आग्रह गरेको र घर नपठाए आफू यतै मर्ने उनी गुनासो गर्छन्। ‘यहाँका सरलाई घर पठाइदिन भनेको छु। प्रयास गर्छौं भन्नुभएको छ,' उनले भने।
नेपाल जान पाए मजदुरी गरेर भए पनि पैसा अभावका कारण पढाई छोडेकी छोरीलाई फेरि पढाउने उनको इच्छा जिवितै छ। उनी भन्छन्, ‘म नेपाल गएर छोराछोरी पढाउन पाइन र यतै मरे भने मेरो आँसुले मेनपावर सञ्चालकलाई पोल्ने छ।' उनले भक्कानिदै भने, ‘यति दुःख पाइन्छ भन्ने थाहा पाएको भए यो बुढेसकालमा मलेसिया आउने नै थिइन। बरु नेपालमै गिट्टी कुटेर परिवार पाल्ने थिएँ।' मलेसिया आएर दुःख पाउनुभन्दा आफ्नै देशमा काम गरि खान अरु नेपालीलाई उनी सुझाव दिन्छन्।
दूतावासका श्रम–सहचारी बुद्दीनाथ भट्टराईले डिल्लीबहादुरलाई क्षतीपूर्तीसहित नेपाल फर्काउन सुनगाभा मेनपावरका सञ्चालकलाई भनेको तर सञ्चालकले अटेर गरेको बताए। भट्टराईका अनुसार डिल्लीबहादुरलाई मलेसिया पठाउन काठमाडौंका सुनगाभा, त्रिवेणी र पश्चिम नेपाल मेनपावर जिम्मेवार छन्। त्रिवेणीले मलेसियाबाट कामदार मागपत्र लगेको, पश्चिम नेपालले पासपोर्ट लिएको र सुनगाभाले श्रम स्वीकृती निकालेको प्रारम्भीक अनुसन्धानबाट खुलेको उनले नागरिकन्युजलाई बताए। यी तीनवटै मेनपावर कम्पनीका सञ्चालकहरु एकले अर्कालाई दोषी देखाउँदै डिल्लीबहादुरलाई घर फर्काउने कामबाट पन्छिन खोजिरहेका छन्। तर, पीडीतलाई क्षतीपूर्तीसहित तत्काल नेपाल नफर्काए ती तीन वटै मेनपावरलाई कालो सूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाउने भट्टराईले प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: १६ फाल्गुन २०७१ ०१:०१ शनिबार


-600x400.jpg)


