निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी परेको जनाएको छ।
आयोगअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न राजनीतिक दलका समानुपातिक उम्मेदवारमाथि दाबी–विरोधका उजुरी दर्ता भएका हुन्।
आयोगका अनुसार दर्ता भएका उजुरी उम्मेदवारको योग्यता, कानुनी अवस्था तथा समानुपातिक समावेशी मापदण्डसँग सम्बन्धित छन्। उजुरी परेका उम्मेदवारलाई प्रमाणसहित उपस्थित भई आफ्नो पक्ष स्पष्ट गर्न माघ १३ गतेसम्म समय दिइएको छ।
निर्वाचन अधिकृतको कार्यालयले तोकिएको मिति भित्र बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उपस्थित नभए कानुनअनुसार निर्णय प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ। आयोगले उजुरीमाथि प्रारम्भिक छानबिनपछि आवश्यक परे थप अनुसन्धान र निर्णय प्रक्रिया अघि बढाउने जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीमा दलहरूले पेस गरेका उम्मेदवार सूचीप्रति दाबी–विरोध दर्ता हुने व्यवस्था निर्वाचन कानुनमा छ। यस प्रक्रियाबाट अयोग्य उम्मेदवार हटाउने र निर्वाचनलाई निष्पक्ष, पारदर्शी र कानुनसम्मत बनाउने उद्देश्य राखिएको आयोगको भनाइ छ।
निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै निर्वाचन प्रक्रिया मर्यादित र विश्वासयोग्य बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।
प्रकाशित: १० माघ २०८२ १८:१७ शनिबार





