१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

विराटनगरले नै जित्यो ‘विराटनगर क्रिकेट लिग’को उपाधि

विराटनगरमा भएको ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको उपाधि विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले जितेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा विराटनगरले सिद्धार्थ स्पोर्टिङ क्लबलाई २ रनले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै विराटनगरले २५ हजार र उपविजेता सिद्धार्थले १० हजार रुपैयाँ साथै ट्रफी प्राप्त गर्यो ।  

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा भएको खेलमा टस जितेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रनको चुनौती प्रस्तुत गर्यो । सुजन थपलियाले ७२ रन, कमलदेव चौधरीले १९ रन र कृष शर्माले १५ रन बनाए । बलिङमा सिद्धार्थका श्रवण किस्कुले २ विकेट तथा दीपेश कँडेल र निरज मुखियाले समान १–१ विकेट लिए ।

१ सय ३९ रनको लक्ष्य पाएको सिद्धार्थले पूरै ओभर खेल्दै ९ विकेट गुमाउँदै १ सय ३६ रनमै समेटियो । रविन मण्डलले ४८ रन, अनिल लामिछानेले ३६ रन र फिर्दोस अन्सारीले १३ रन बनाए । विराटनगरका कृष शर्माले ४ विकेट, रितेश झाले ३ विकेट र प्रसान्त साहले २ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच विराटनगरका कृष शर्मा भए ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याटर लायन क्रिकेट क्लबका सकिब हक, उत्कृष्ट बलर सिद्धार्थका दीपेश कँडेल भए भने प्लेयर अफ टुर्नामेन्ट सिद्धार्थका फिर्दोस अन्सारी भए । विजयी खेलाडीलाई कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष महमदबाबु कुरेसी र  नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । 

प्रकाशित: १० माघ २०८२ १७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App