पर्वत- कम्पनीले तलब नदिएपछि साउदी अरबमा करिब तीन सय नेपाली अलपत्र परेका छन्। साउदीको हाप्को कम्पनीमा कार्यरत उनीहरुको राहदानीसहित अकमा आइडी (आन्तरिक परिचयपत्र)समेत जफत गरेपछि आफूहरु अलपत्र परेको त्यहाँ कार्यरत नेपालीले गुनासो गरेका छन्।
अहिले कम्पनीमा कार्यरत करिब तीन सय नेपालीलाई कम्पनीले एकै ठाउँमा राखेर बाहिर निस्किनसमेत नदिएको साउदीबाट टेलिफोनमा गोपाल पुर्जाले जानकारी दिए। 'राहदानी र अकमा आइडी पनि कम्पनीले खोसेर राखेको छ,' पुर्जाले नागरिकन्युजसँग टेलिफोनमा भने, 'न तलब दिन्छ, न राहदानी दिएर नेपाल पठाउँछ, हामी अलपत्र पर्यौंभ।'
उनले कम्पनीले बाहिर निष्कन नदिँदा समयमा खानसमेत नपाएको गुनासो गरे। म्याग्दीको दोवा घर भएका उनले पर्वत, बागलुङ, म्याग्दीसहित विभिन्न जिल्लाका गरी तीन सय नेपाली युवा समस्यामा परेको बताए। साउदी अरबस्थित नेपाली राजदूतावासमा नेपालीको समस्याबारे जानकारी गराए पनि दूतावासले बेवास्ता गरेको पुर्जाको भनाइ छ।
'एकपटक कम्पनीमा दूतावासको टोली आएर सोधपुछ गरेको थियो, त्यसपछि फर्केर आएका छैनन्,' उनले भने, 'काम गरेर तलब नपाउने भए हामीलाई नेपाल फर्कने वातावरण बने हुने थियो।' पुर्जा २९ महिनाअघि वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका थिए। काम लगाएर तलब पनि नदिने र नेपाल पनि नफर्काउने गरेपछि कम्पनीमा कार्यरत नेपालीहरु आन्दोलित भएका छन्।
प्रकाशित: १८ माघ २०७१ ०४:१२ आइतबार





