६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

कतार सरकारको नियन्त्रणमा रहेका उपाध्याय र घिमिरे रिहा

लण्डन-नेपाली मुलका बेलायती मानवअधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरेलाई कतार सरकारले नियन्त्रण लिएको एक सातापछि थुना मुक्त गरेको छ। सन् २०२२ मा आयोजना हुने विश्वकप खेल स्थलमा खटिएका प्रवासी मजदुरको अनुसन्धान गर्न गएका उनीहरुलाई कतार सरकारले गत साता नियन्त्रणमा लिएको थियो।

परिवारिक स्रोतका अनुसार उनीहरुलाई सोमबार अबेर मुक्त गरिएको हो। उपाध्यायको मुक्तिपछि उनकी श्रीमती सरिता पौड्यालले आफ्नो फेसबुकमार्फत खुसी व्यक्त गरेकी छन्। उनले कतारमा उपाध्याय र घिमिरे सुरक्षित रहेको जनाउसमेत दिएकी छन्। उनले भनेकी छन्, ‘कृष्ण उपाध्यक्षको रिहाइको समाचार घोषणा गर्न पाउँदा हामी खुशी छौं। उहाँ दुई दिनपछि बेलायत फर्किँदै हुनहुन्छ।' पौडेलले रिहाइको लागि पहल गर्ने पक्षलाई धन्यवाद दिएकी छन्।

रिहाइपछि संचारकर्मी समेत रहेका घिमिरेले पनि आफ्नो फेसबुकमा लेखेका छन्, ‘भर्खर रिहा भयौं उड्नका लागि अझै दुई दिन पर्खिनुपर्नेछ। हामीसँग मोवाइल छैन कृपया फोन नगर्नुहोला।’

उपाध्याय र घिमिरे अधिकार र विकासका लागि विश्वव्यापी सञ्जाल (जीएनआरडी) संस्थामा कार्यरत छन्। उनीहरुलाई दोहाको एक होटलबाट सादा पोसाकमा आएका प्रहरीले गत साता नियन्त्रण लिएका थिए।नेपाली कामदारको अवस्थाबारे श्रव्यदृश्य बनाउन उनीहरु आफ्नो कार्यस्थल नर्वेबाट कतारको राजधानी दोहा पुगेका थिए।

यसअघि कतारको विदेश मन्त्रालयले शनिबारमा वक्तव्य जारी गर्दै उनीहरु कतारी सरकारको नियन्त्रणामा रहेको पुष्टि गरेको थियो। उनीहरुलाई कतारको कानुन उल्लंघन गरेको आरोप लगाइएको थियो।

प्रकाशित: २४ भाद्र २०७१ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App