७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएनए राष्ट्रिय भेलामा पत्रकारमाथि धम्की

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरुले विदेशमा कार्यरत पत्रकारमाथि अपमानित शब्द प्रयोग गर्दै ठेगान लगाईदिने भन्दै धम्की दिएका छन्।

गैरआवासीय नेपाली संघ अमेरिकाको सकृयतामा आइतबार सम्पन्न भेलामा सहभागी अध्यक्षहरुले आफ्नो अनुकूल समाचार नलेख्ने पत्रकारहरुलाई ठेगान लगाईदिने धम्की दिएका हुन्।

एक दर्जन राष्ट्रिय समितिका अध्यक्षहरु सहभागी भएको बन्दसत्रमा बोल्दै गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिग्राम डुम्रेले संघको निर्वाचनमा आफ्नो पक्षले जितेपछि केही पत्रकारहरुलाई ठेगान लगाउनु पर्ने अभिव्यक्ति दिएका थिए।

यस्तै गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दिपक गौतमले पत्रकारहरुले संघको केन्द्रीय कार्यालयबाट सूचना लिएर समाचार लेखेको भन्दै आक्रोस पोखेका थिए। पछिल्लो समयमा पंन्जिकृत सदस्यहरुको शुल्क नतिरेको र नेपाल बाढी पहिरोले आक्रान्त भएको बेला अध्यक्षहरु विधान विपरित भेला गर्दै हिँडेको भन्दै आलोचना भएका समाचार प्रकाशित भएपछि उनीहरु आफ्नो कमजोरी ढकछोप गर्न आक्रमक भएका हुन्।

यसैबीच सो भेलाको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जरो समेत उखेलेर फाल्ने धम्की आयोजकले नै दिएका छन्। भेलाका निष्कर्षहरु सुनाईसकेपछि पत्रकारहरुलाई आफ्ना जिज्ञासाहरु राख्न दिएको र ति जिज्ञासाहरुको जवाफ दिने क्रममा आयोजक मध्येकै एक एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहामगरले पत्रकार श्याम लुइटेल र चिरन शर्मालाई जरोसमेत उखलेर फाल्ने धम्की दिँदै सार्वजनिक बेईज्जति समेत गरेका हुन्।

पत्रकार श्याम लुईटेल नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार र चिरन शर्मा महासंघ बेलायत शाखाका पूर्व अध्यक्ष हुन्।

पत्रकार सम्मेलनमा लुइटेलले एनआरएनएको विधानका धारा उल्लेख गर्दै यसरी विधान विपरित भेला आयोजना गर्न हुन्छ र? भन्ने लगायतका प्रश्न गरेका थिए।

शर्माले पनि विधानकै धारा उल्लेख गर्दै केन्द्रीय समितिनै अवैधानिक भन्ने, फेरि त्यही केन्द्रीय समितिलाई नै माग राख्ने कसरी वैधानिक हुन्छ? भन्ने प्रश्न सोधेका थिए। त्यस्तै उनको अर्को प्रश्न थियो, कतै यो भेलाले अर्को कुनै पक्षको एजेण्डा बोकेर हिँडेको त होइन?

कार्यक्रमका मूल संयोजक एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ नदिएर तर्किएका थिए। गाहामगरले पत्रकारको प्रश्नको मर्ममा प्रवेशनै नगरी सार्वजनिक कार्यक्रममै गाली बेइज्जति शुरु गरेका थिए। उनले पत्रकार सम्मेलनमा शर्मालाई आउनै नहुने तर्क गरेका थिए।

त्यसपछि गाहामगर बेलायतकै अर्का पत्रकार श्याम लुइटेलमाथि खनिए। एउटा बौद्धिक ब्यक्तित्व, पढेलेखेको ब्यक्ति चाहिन्छ भनेर आफू अध्यक्ष भएपछि ‘को मेम्बर’ मा राखेको उल्लेख गरे। त्यसपछि उनले श्यामप्रति आक्रोश पोख्दै भने, “म एउटा संस्थाको अध्यक्ष हुँदाहुँदै मसित कुनै सरसल्लाह नगरि प्रश्नहरु गर्नुभयो। अहिले बेलायतको ‘को मेम्बर’ मा मैले जसरी तानें त्यसमा मैले दुई पटक सोच्ने बेला आएको छ। किनभने उहाँले सपथ खानुभएको छैन।”

उनले प्रश्नकर्ता पत्रकारहरुलाई अरुद्वारा परिचालित भएकाे भन्दै आरोप लगाए।

प्रेम गाहामगर गैरआवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी कुल आचार्य निकटवर्ती हुन्। आचार्यकै सहयोगमा अध्यक्ष भएका हुन्।

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी डा. बद्री केसीको घोषणा सभाको प्रत्यक्ष प्रसारण गरेको आरोपमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर समूहले पत्रकार शर्मामाथि बेलायतीमा साइवर क्राइममा मुद्दा हाल्ने धम्की दिएको छ। सो सभाको प्रत्यक्ष प्रसारण नेपालबाट भएको आयोजकले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७८ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App